आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन राष्ट्रपति भण्डारीको आग्रह


मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्र्र्र्र्र्र्र्र्र्र्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले स्वास्थ्य उपचार सेवा दिन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न आह्वान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभयो ।
उहाँले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयोे ।
उहाँले विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताउनुभयो । समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।