उपराष्ट्रपतिका उम्मेदवार यादवले आयोगलाई बुझाए आफूविरुद्धको प्रष्टिकरण

उपराष्ट्रपतिका उम्मेदवार यादवले आयोगलाई बुझाए आफूविरुद्धको प्रष्टिकरण

काठमाडौँ – उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथिको प्रष्टिकरण पेस गरेका छन् । आज (आइतबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।

शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरीत राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेस गरेकी थिइन् ।

सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेस गरेका छन् ।

उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् ।

nepalone