भोलि प्रतिनिधिसभाको बैठक, कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ?

भोलि प्रतिनिधिसभाको बैठक, कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ?

काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार संघीय संसद् सचिवालयले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त एक स्थानको व्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने, केही विधेयक पेस हुने संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबारको प्रतिनिधिसभा बैठकलाई लिएर धेरैको चासो छ । खासगरी संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेका सांसद कता बस्लान् भन्ने सबैको चासो देखिएको हो । एमालेको प्रयासमा बनेको गठबन्धनबाट बनेको अहिलेको सरकारबाट एमाले बाहिरिएको छ ।

उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता गरेको छ । एमालेले संसद् सचिवालयलाई पत्र लेख्दै आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको हैसियत प्रदान गर्न आग्रह गरेको छ । अर्कोतिर नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षी दल हो ।

किनभने कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत मात्र दिएको हो । कांग्रेस अहिलेको सरकार बनाउन सहभागी भएको छैन भने कांग्रेसबाट मन्त्री पनि बनेका छैनन् । त्यसैले आइतबारको बैठकमा कांंग्रेस र एमालेको सांसदको सिट कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ ।

कांग्रेसले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिले गर्ने निर्णय कार्यसम्पादन समितिलाई दिइएकाले भोलि कांग्रेसले सत्ता पक्षमा बस्ने निर्णय गर्न सक्ने सम्भावना पनि धेरै छ ।

शुक्रबार कांग्रेस महामन्त्री गगन थापाले पार्टीले अब बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही कारण कांग्रेसले आइतबार महत्वपूर्ण निर्णय लिनसक्ने स्रोतले बतायो ।

nepalone