काठमाडौँ । साउन १५ गतेदेखि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
१५ गतेदेखि खुल्न लागेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । यसको निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते हुने जनाएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसअघि नै कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
अहिले निष्कासन गर्न लागेको अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
यस कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
Author: A B
सन्तोषनारायण श्रेष्ठको पहिलो नीति तथा कार्यक्रमः यस्ता छन् बोर्डका महत्त्वाकाङ्क्षी योजनाहरू
काठमाडौं। नेपाल धितो पत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार सेबोनले पुँजी बजारमा संरचनागत सुधार, कानुनी सबलीकरण, प्रविधिको स्तरोन्नति र बजारको दायरा विस्तार गर्ने लक्ष्यसहितको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
धितो पत्र बोर्डको अध्यक्षमा नियुक्त भएपछि सन्तोषनारायण श्रेष्ठको यो पहिलो नीति तथा कार्यक्रम हो । गत मङ्सिर १० गते श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । करिब ७ महिनादेखि बोर्डमा काम गरिरहेका अध्यक्ष श्रेष्ठले निकै महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम अघि सारेका छन् ।
बोर्डले नियमन व्यवस्था तथा सुधार, कानुन तर्जुमा, कानुन प्रबलीकरण तथा कारबाही बजार निरीक्षण तथा सुपरिवेक्षण, लगानीकर्ता शिक्षा र अध्ययन तथा अनुसन्धानमा उल्लेख्य काम गरेको दाबी समेत गरेको छ ।
बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैङ्क खाता लिङ्क गरिने व्यवस्था लागू गर्ने समेत जनाएको छ । त्यस्तै बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा खातामा पर्याप्त रकम भए मात्र खरिद आदेश कार्यान्वयन गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रममा धितो पत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने योजना अगाडी सारेको छ । यसका साथै बोर्डले पुँजी बजारसम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरी देशमा लगानी प्रवद्र्धन गर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने कुरा समेत नीति तथा कार्यक्रममा समेटेको छ ।
धितो पत्र कारोबारको लागि धितो पत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जलविद्युत क्षेत्रका कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने, सरकारी संस्थानहरूमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने र निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनः संरचना गर्ने नीति अघि सारेको छ ।
नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एण्ड क्लियरिंग लिमिटेडको पुनः संरचना गर्ने, निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पुर्याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रक्रिया सरलीकरण गर्ने, प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको लागि पारदर्शी विधि अवलम्बन गर्ने र प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरूमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम राखिएको छ ।
यस्तै, धितो पत्र ऐनमा इक्विटी क्राउड फण्डिङको अनुमति दिन सक्ने गरी कानुनी व्यवस्था गर्ने, डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउने र पब्लिक कम्पनीको रूपमा स्थापना भई नेपालको धितो पत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न नेपाल राष्ट्र बैङ्क र धितो पत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि तर्जुमा गरी लागू गर्ने योजना पनि अगाडि सारेको छ ।
यस्तो छ बोर्डले सर्वाजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमः
नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८ को बिन्दुमा कायम भएको हो।
आज तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ दशमलव ६७ को कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव २५, विकास बैंक शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ७२ र निर्जीवन बिमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ। जलविद्युत् शून्य दशमलव ८८, लगानी शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, म्युचुअल फण्ड शून्य दशमलव १५, व्यापार शून्य दशमलव ३१ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेका छन्।
ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १९ लाख ५४ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ।