`

रवि ज्यान दाउमा राखेर लड्ने योद्धा हो : ज्वाला संग्रौला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य ज्वाला संग्रौलाले भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा रवि लामिछाने भएको दावी गरेकी छन् । उनले देशलाई पार्टी सभापति लामिछाने जस्तो निडर सपुतको आवश्यकता रहेको जिकिर गरिन् । ‘भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा हो रवि !’ उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘यतिबेला देशलाई रबि जस्तो निडर सपुतको आवश्यकता छ !’

 

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीन जनाविरुद्धको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि कात्र्तिक १२ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष कार्कीसहित सदस्य विज्ञानराज शर्मा र विश्ववेश्वर प्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता ढकालले रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रुपमा कुनै पनि कार्य नगर्न÷ नगराउन अन्तरिम आदेश माग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । तर, छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वनजिक गरेको र पूर्वाग्राही देखाइसकेकाले उनीहरूको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर रिट निवेदकको छ । जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने निजी तथा सरकारी भौतिक संरचनामा व्यापक क्षति भएको छ ।

दुबईले भिसा रोक्यो, अरु देशले पनि सुरक्षा चासो बढाउँदै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन (साउन–असोज महिनासम्ममा) २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागकाअनुसार चालु आ.व. २०८२/८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानेको यो संख्या अघिल्लो बर्षको तुलनामा बढेको देखिन्छ । गत आ.व. २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ । चालु आ.व.मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९ सय १३ जनाले बढी रहेको विभागको तथ्यांकले देखाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइएपनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्यले देखाएको छ ।

असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि चार हजार ५ सय २३ जना छन् । गत आ.व.मा रोजगारी खोज्दै ८ लाख ३९ हजार बढी युवा बिदेशिएका थिए । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार जेनजी आन्दोलनको असर वैदेशिक रोजगारीमा अझै पूर्णतयता देखिएको छैन् । तर पनि आगामी दिनमा देखिन सक्छ । दुबईले भिसा रोकेको छ भने अरुले सुरक्षा चासो बढाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले जेन–जी आन्दोलनपछि दुबइले भिसा रोकेको बताए । उनकाअनुसार अन्य देशले पनि सुरक्षामा चासो देखाइरहेका छन् । गुरुङले भने, दुबई इमिरेट्सलेले भिसा रोकेको छ । कामदारको मात्रै नभइ विद्यार्थी भिसा पनि रोकेको अवस्था छ । अन्य देशको सन्दर्भमा नेपालका जेलबाट कैदीहरु भागेका कारण कतै अपराधी त आएको छैन् भनेर बुझाइका कारण ती देशहरुले चासो देखाइरहेका छन् । खासगरी दुबइ बाहेक अरु देशले धेरै नै कडाइ गरेको अवस्था छैन् ।’
पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको उनको भनाइ छ । विभागले पनि श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानून परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा श्रमिक अभावका कारण माग पनि बढेको विभागको अनुमान गरेको छ ।

 

 

बसाइँसराइले घट्यो मतदाताको संख्या

म्याग्दी । म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको संख्या घटेको छ । विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइँसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका सूचना अधिकारी थापाले बताए । यसैगरी म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा २३९ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । विदेशबाट फर्किएका, नयाँ नागरिकता लिएकाहरूले मतदाता नामावली दर्ता गर्न आइरहेका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए। आगामी फागुन २१ गते घोषणा भएको निर्वाचनका लागि मतदाता नामावली दर्ता, अद्यावधिकसँगै मतदानस्थलको अवस्था अध्ययन थालेको उनले बताए ।

यसअघि मतदानस्थल रहेको ठाउँमा विपद्ले क्षति पुगेको र अन्य कारणले स्थानान्तरण तथा गाभ्नुपर्ने भएमा सोको विवरण पठाउन स्थानीय तहलाई निर्वाचन कार्यालयले पत्राचार गरेको छ । अघिल्लो निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए । प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छवटा स्थानीय तहमा ४५ वटा वडा छन् ।

दुई अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ६० करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब ८ करोड , विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ ।

९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

त्यसै गरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि शर्त छ । त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने शर्त केन्द्रिय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ ।

 

 

छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरमा एक युवकले बुवाको हत्या गरेका छन् । हिलिहाङ गाउँपालिका १ फेदापाका ६९ वर्षीय युवराज राईको हत्या भएको हो । उनको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।

उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ । रासस

कुवेती किसानलाई मरुभूमिमा फलफूल फलाउन सिकाउँदै चीन

काठमाडौं । मध्य पूर्वको खाडी क्षेत्रमा अवस्थित कुवेतमा उष्णकटिबंधीय मरुभूमिको हावापानी छ । जुन तीब्र गर्मी र न्युनतम गर्मी वर्षाको विशेषता हो । तर पनि दक्षिणी अहमदी गभर्नरेटमा किसान सारी अल–अजमीले मरुभूमिमा फस्टाउने बालीहरूले भरिएको ८५ हजार वर्ग मिटरको फार्म सञ्चालन गरेका छन् ।

त्यहाँ सुन्तला, केरा र नेभारा जस्ता ३० भन्दा बढी प्रकारका फलफूल र तरकारीहरू उब्जिन्छन् । मौसमअनुसार विभिन्न प्रकारका फलफूल बेचिरहेको उनले बताए । विगतमा कठोर मौसमले ठूलो मात्रामा खेती गर्न लगभग असम्भव थियो । अल–अजमीले चीनको क्यान्टन मेलामा भाग लिएपछि त्यो परिवर्तन भयो । जहाँ उनले उन्नत हरितगृह निर्माण प्रविधिहरू पत्ता लगाए । पानी चिस्याउने संयन्त्र भएको स्वचालित प्रणालीबाट प्रभावित भएर उनले यसलाई घर ल्याउने निर्णय गरे ।

चिनियाँ निर्मित उपकरणहरूको प्रयोग गरेर उनको फार्मको शीतलन र भेन्टिलेसन प्रणालीले बाहिरी तापक्रम लगभग ५० डिग्री सेल्सियस पुग्दा पनि हरितगृहको तापक्रम ३० डिग्री सेल्सियसको आसपास राख्छ । जसले गर्दा मरुभूमिमा हरियो ओएसिसको उनको सपना वास्तविकतामा परिणत हुन्छ । फार्म अल–वाफ्रा कृषि क्षेत्रमा अवस्थित छ । लगभग ८५ हजार वर्ग मिटर ओगटेको छ । यसमा २४८ हरित गृहहरू समावेश छन् । जसमध्ये चार फलफूल खेतीमा समर्पित छन् । जसमध्ये १८ केरा उत्पादनको लागि समावेश छन् । फार्मले काँक्रो, गोलभेडा, खुर्सानी र बैंगुन उत्पादन गर्छ ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन हुने गरी तोकिएको जानकारी दिए ।

राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन आज बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।

उनलाई उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

कांग्रेस संस्थापन पक्ष छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको आज छुट्टै भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा केन्द्रीय कार्य सम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका हुन् । भेलामा पूर्वमन्त्री समेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । भण्डारीले भने, ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ ।’

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् । यस्तै संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् । नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौँ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’ ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन’, बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।’

 

 

दुई दिनमा ३४ सय बढेको सुनको मूल्य आज कति छ ?

काठमाडौं । गएको दुई दिन लगातार बढेको सुनको मूल्य आज (सोमवार) भने स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो । आइतबार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । सुनको मूल्य गएको शुक्रबार र हिजो (आइतबार) लगातार बढेको थियो । शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ बढेको थियो ।

गत साताका चार दिनमा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो । गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म ९१३ दिनको अवधिमा० सुनको मूल्य तोलामा ३४ हजार आठ सय रुपैयाँ बढेको थियो । गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो ।

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं। दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउने गरेका छन् । यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको छ ।

कृष्णसार संरक्षण क्षेत्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा स्वदेशी, सार्क र विदेशका गरी ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए । यस आर्थिक वर्षमा भने बर्सातको मौसमका कारण पर्यटक कम आएका बताइएको छ । पर्यटकहरू दिनभर अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटेलमा फर्किने गर्छन् ।

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।

जसअनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ । हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार रहेका छन् । सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसको क्षेत्रफल १६.९५ वर्ग किमी रहेको छ ।

कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किमी र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किमी रहेको छ । कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ ।

त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैँसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी सङ्ख्या अद्यावधिक गर्ने गरिएको छ ।

कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भइरहेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

 

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एक पटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनु पर्ने शर्त राखेका छन् । एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै आलोचना गरे ।

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ । माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको संकेत गरे । राष्ट्रिय संकटको निकास निर्वाचन होइन, संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन रहेको उनले बताए । प्रमुख पार्टी नेतृत्व यो कार्यकालमा फेल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।

एमाले फर्कने शर्त : समाजवादी क्रान्तिको प्रतिवद्धता
खनालले एमालेसँग एकताको ढोका खुला रहेको बताए । तर यसका लागि स्पष्ट वैचारिक शर्तहरू राखेका छन् । उनी भन्छन्, ‘एमाले फर्कन तयार छौं, तर समाजवादी क्रान्तिको बाटो अवलम्वन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौं ।’ उनले चार आधारभुत शर्तहरू प्रस्ताव गरेका छन् । जसलाई वार्ताको आधार बनाउन सकिने उल्लेख गरे । ‘यी चार बुँदामा एकरूपता भयो भने हामी वार्ता शुरु गर्छौं’, उनले भने ।

खनालले एमालेसँग एकताका लागि अगाडि सारेका शर्तहरु
मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने : ‘यो वाम आन्दोलनको आधार हो । विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्छ ।’

समाजवादी क्रान्ति र रुपान्तरणको बाटो अपनाउने : ‘नेपालले पुँजीवादी जनवादी क्रान्ति पूरा गरिसकेको छ । अब समाजवादतर्फको रुपान्तरणको चरणमा प्रवेश गर्नुपर्छ।’

नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने : ‘माक्र्सवादको ढाँचालाई नेपाली यथार्थमा रूपान्तरण गर्नुपर्छ । यहाँको कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचनालाई ध्यानमा राखेर समाजवाद निर्माण गर्नुपर्छ।’

देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प : ‘यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको संघर्ष हो ।’

यी शर्तहरू वाम राजनीतिको पुराना मूल्यहरूको पुनरुत्थान जस्ता लाग्छन्, जसलाई विगत दशकमा बेवास्ता गरिएको खनालको भनाइ छ । ‘यी चार कुरामा एकरूपता हुनेबित्तिकै हामी वार्ता शुरु गरिहाल्छौं । यो राजनीतिक सहमति मात्र होइन, विचारको एकरूपता हो’, उनले स्पष्ट पारे ।

एमालेप्रतिको माया र आलोचना : सुस्थिर चिन्तनको अभाव
नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा बताए । ‘एमाले शुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ’, उनले भावुक हुँदै भने । तर यो माया अन्धभक्ति होइन। उनी थप्छन्, ‘यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौं ।’

तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गरे । ‘एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौं । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन’, उनले भने । खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । उनी एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्ता पार्टीमा समाहित हुन सहज बन्ने बताए ।

नयाँ पार्टीको तयारी र वाम पुनर्गठन
एमालेसँग एकता नभए पनि खनाल नयाँ बाटोमा अघि बढ्न तयार छन् । ‘हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौं । नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ’, उनले भने । हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले थपे, ‘त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौं ।’

यो पुनर्गठन केवल समाजवादी पार्टीमा सीमित छैन । उनले माओवादी केन्द्रभित्र पनि पुनर्गठनको भावना देखिएको बताए । ‘जो अहिले माओवादीभित्र पनि विभिन्न समूहहरूको स्थिति देखापरिरहेको छ, र उनीहरू पनि पुनर्गठनको प्रयत्न गरिरहेका छन् । यदि छलफल गर्दा एकरूपता देखियो भने, उनीहरूसँग निकटता स्वाभाविक हुन्छ ।’ तर यी चार आधारभुत कुरामा मेल भएन भने न व्यक्तिगत, न समूहगत एकताको अर्थ रहँदैन’, नेता खनालले स्पष्ट पारे ।

राष्ट्रिय संकट र समाधान : संवैधानिक बाटोबाट
देशको वर्तमान राजनीतिक संकटबारे नेता खनाल व्यावहारिक दृष्टिकोण राखे । ‘मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन । मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ’, उनले भने । उनले सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकास खोज्नुपर्ने बताए । ‘राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मुलुकलाई अघि बढाउनु पर्छ’, उनको तर्क छ।

उनले प्रमुख पार्टीहरूका नेतृत्वलाई असफल ठहर्‍याउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताए। ‘मेजर पार्टीहरूका नेतृत्वले यो कार्यकाल परीक्षण गरेर हेर्दा फेल खाए। यी चार नेताभन्दा तलका नेताहरू सक्षम छन्, भिजनयुक्त छन्। उनीहरूलाई नेतृत्व दिने हो भने ती पार्टीहरू पुनः गतिशील बन्छन्।’ यसमा उहाँले युवा पुस्तालाई राजनीतिमा आउन आग्रह गर्दै भने, ‘निर्वाचनमा भाग लिनका लागि जेन–जी पुस्ताले पनि दल गठन गरेर आउनुपर्छ।’

वैचारिक विचलनको उपचार र नेपाली समाजवाद
खनालले एमालेमा वैचारिक विचलन भएको स्वीकार गर्दै त्यसको उपचार आवश्यक रहेको बताए। ‘एमालेभित्र विभिन्न राजनीतिक, वैचारिक, सैद्धान्तिक, संगठनात्मक सवालमा उत्पन्न भएका गलत चिन्तन, विचार, प्रवृत्तिहरु छन्। त्यो कुरा पार्टीले सच्याउनु पर्छ’, उनले भने। उनको लागि यो आत्म समीक्षाको विषय हो ।

उनले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ लाई जोड दिए। जसमा राज्य नियन्त्रणभन्दा समान अवसर, उत्पादनमा न्याय र वितरणमा सामाजिक उत्तरदायित्व हुन्छ। ‘देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने’ कुरालाई आर्थिक निर्भरताविरुद्धको संघर्षका रूपमा व्याख्या गरे । खनालको दृष्टिमा, क्रान्ति संवैधानिक दायराभित्रै सम्भव छ। ‘वर्तमान संविधान अनुसार नै मुलुकलाई निकास दिनुको विकल्प छैन’, उनले निष्कर्ष निकाले।

‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा ‘प्रचण्ड’

काठमाडौं । नेपालको राजनीतिको केन्द्र बिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजकको हैसियतमा उनी शक्ति सन्तुलनको प्रमुख खेलाडी बनेका छन् ।

२०२४ जुलाईमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर बाहिरिएका प्रचण्डले त्यसयता पार्टीभित्र र बाहिर एकताको सन्देश दिँदै आएका छन् । हालैका घटनाक्रमहरूले उनलाई फेरि शक्ति केन्द्रको प्रमुख पात्र बनाएको छ । जसमा युवा आन्दोलनको प्रभाव, भ्रष्टाचारविरुद्धको संघर्ष र कम्युनिष्ट दलहरूबीचको एकीकरण प्रक्रिया प्रमुख छन्।

युवा आन्दोलन र प्रचण्डको प्रतिक्रिया
२०२५ को सेप्टेम्बरमा नेपालमा भएको ‘जन जेड’ (जेन जी) आन्दोलनले राजनीतिक उथलपुथल निम्त्यायो । बेरोजगारी, भ्रष्टाचार र विकास मोडेलको असफलताकाविरुद्ध युवाहरू सडकमा उत्रिए । जसले तत्कालीन सरकारलाई नै विस्थापन ग¥यो । यस आन्दोलनमा प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने ।

पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थीय एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याए । यो घटनाले प्रचण्डलाई विपक्षी भूमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो ।

वाम एकीकरणको ऐतिहासिक कदम : १८ बुँदे सम्झौता
हालैको सबैभन्दा चर्चित गतिविधि भनेको आठ कम्युनिष्ट दलहरूबीच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आइतबार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी) जनसमाजवादी पार्टी, नेपाल, नेकपा (साम्यवादी) र नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ ।

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो । यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्ड पथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिष्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ ।

प्रचण्डको भूमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रिय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह ‘पञ्चकुण्डलिय तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ ।

आन्तरिक असहमति र चुनौतीहरू
एकता प्रक्रियामा प्रचण्डको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाएका छन् । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गरेका छन् । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भनेका थिए, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’

प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गरेका छन् । उनले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिएका छन् । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

फेरि शक्ति केन्द्रमा प्रचण्ड
२०८२ को भदौदेखि नै नेपालमा राजनीतिक अस्थिरता चर्किएको छ । जसमा प्रचण्डको भुमिका निर्णायक छ । जेन जेड क्रान्तिपछि प्रचण्डले विशेष महाधिवेशनको प्रश्ताव गरेर पार्टी पुनर्संरचना गर्न खोजेका थिए । कार्तिक १९ मा एकीकरणले उनलाई वाम शक्तिको नायक बनाउन सक्छ । तर आन्तरिक र वाह्य चुनौतीहरू कायम छन् । प्रचण्डको यो यात्राले नेपालको राजनीतिलाई नयाँ दिशा दिनसक्ने सम्भावना छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सामाजिक न्यायको सुनिश्चितता गर्ने विश्वास गरिएको छ । प्रचण्डको हालका गतिविधिहरूले देखाउँछन् – उनी शक्ति केन्द्रमा मात्र होइनन्, परिवर्तनको इञ्जिन पनि बनेका छन् । वाम एकीकरणको यो प्रयास सफल भए नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउन सक्छ ।

आफैलाई नफापेको ‘तारा’ चुनाव चिन्हमा बामदेव किन भए खुशी ?

काठमाडौं । तीन दशकअघि फुटेको वाम राजनीतिमा फेरि ‘तारा’ उदाएको छ, यसपालि नयाँ चमकसहित । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपालसहित आठ दल र समूहबीच भएको ऐतिहासिक एकताले ‘तारा’ लाई पुनः आफ्नो चुनाव चिह्न बनाउने निर्णय गरेपछि बामदेव गौतम हर्षित भएका छन् ।

‘यो चिह्न मैले नै चुनेको हुँ, फेरि घुम्दै फिर्दै तारा र मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन्, ‘म निकै खुशी छु ।’ २०५४ सालमा एमाले फुटाएर गौतमले बनाएको मालेको चुनाव चिह्न पनि यही तारा थियो । त्यसबेला तारा चिह्नसहित मालेले देशव्यापी रूपमा चुनाव लड्यो—५ लाख ६७ हजार मत त पायो, तर संसदमा शून्य सिट । त्यो तारा बल्ल फेरि फर्किएको छ, तर फरक सन्दर्भ र शक्ति समीकरणमा ।

आठ दलको एकता, ‘तारा’ मा सहमति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीका माधवकुमार नेपाल, जनसमाजवादीका सुवासराज काफ्ले, नेपाल समाजवादीका महेन्द्रराय यादव, नेकपाका चिरन पुन, समाजवादीका राजु कार्की, माओवादी समाजवादीका कर्णजित बुढाथोकी र साम्यवादीका प्रेमबहादुर सिंहबीच आइतबार पेरिसडाँडामा भएको छलफलले नयाँ पार्टी निर्माणको सहमति गरेको हो ।

नामको टुंगो अझै बाँकी छ–‘नेकपा (समाजवादी)’, ‘नेपाली कम्युनिष्ट पार्टी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ मध्ये कुन रोज्ने भन्नेमा विचाराधीन छ । तर चुनाव चिह्नमा सबैको एकमत छ—‘पाँचकुने तारा’ । यो तारा मूलतः नेकपा माले र त्यसपछि सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले प्रयोग गर्दै आएको थियो । नयाँ दलले यही पुरानो प्रतीकलाई नयाँ एकताको झण्डा बनाउने भएको छ ।

यो एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफ्नो पुरानो ‘माओवाद’ मार्गदर्शन र गोलाकारभित्रको ‘हँसिया–हथौडा’ चिह्न दुवै त्याग्ने निर्णय गरेको छ । यसको अर्थ—अब प्रचण्डका समर्थक मतदाताले हँसिया–हथौडामा होइन, तारामा भोट हाल्ने छन् । तारा चिह्नको इतिहास रोचक छ—२०५४ सालमा बामदेव गौतमले यही प्रतीकसहित माले गठन गरे, तर त्यो तारा २०५६ को चुनावमा चम्किएन । त्यसपछि गौतम फेरि एमाले फर्किए, माले भने सीपी मैनाली र जगत बोगटीले सम्हाले । बोगटीले माले समाजवादी बनाए, सुवास काफ्ले समूह छुट्टियो, जनसमाजवादी पार्टी बन्यो—तारा भने कहिल्यै ओझेल परेन ।

२०७९ सालको निर्वाचनमा जनसमाजवादी पार्टीले यही तारा लिएर देशभर जम्मा ५,९२५ मत मात्र पायो । तर अब यही ‘कमजोर’ प्रतीक वाम एकताको नयाँ ऊर्जा बनेको छ । तारा नेपालका वामपन्थीहरुको प्रतीक मात्रै होइन, फुट र फेरि भेटको कथा पनि हो । वामदेवले त्यागेको र अहिले पुनः भेटेको यो चिह्न अब प्रचण्ड–माधव गठबन्धनको नयाँ यात्राको प्रतीक बनेको छ । राजनीतिक इतिहासमा कहिल्यै नफापेको यो तारा, यसपालि चम्किन्छ कि फेरि अस्ताउँछ ? जवाफ आउँदो निर्वाचनले दिनेछ । तर बामदेवको आँखामा भने अहिले त्यही पुरानो तारा फेरि झिलिमिली चम्किरहेको छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान {तस्वीरहरु}

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । उनी यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

तस्वीरहरु

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

काठमाडौं । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले सहमति पत्र सार्वजनिक गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका हुन् । कात्तिक १५ गते नै दुई दलबीच यस्तो सहमति भए पनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो ।

हेर्नुस् पत्र

एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्दै

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारीको आयोजनामा कार्यक्रम हुन लागेको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ ।

 

खुल्यो एसईई–२०८२ को आवेदन फारम (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा– १० (एसईई) को परीक्षा आवेदन फारम खुलाएको छ ।

कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० माध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ । आवेदन फारम दस्तुर पाँचसय रुपैयाँ तोकिएको छ ।

हेर्नुस् सूचना

कांग्रेसका शीर्ष नेताहरु धोबीघाटमा जुट्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (सोमबार) शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ ।

महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने चुनाव अघि महाधिवेशनमा जानु हुँदैन भन्नेमा पूर्व पदाधिकारीको समूह छ । यही बहसका बीच केन्द्रीय समिति बैठक स्थगित गर्दै तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आए पनि सहमति जुट्न सकेको छैन । केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि सारिएको छ ।

अफगानिस्तानमा मध्यराति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । अफगानिस्तानमा मध्यराति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गए राति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । कतारी सञ्चार माध्यम अलजजिराका अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा झण्डै २८ किलोमिटर गहिराइमा गएको हो ।

स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेका छन् तर अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आएको छैन । मजार–ए–शरिफका बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ ।

यसै वर्ष, अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सय बढी मानिसको ज्यान गएको थियो । विशेषगरी हिन्दु कुश पर्वतशृंखलाको आसपास, युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प जाने गर्छ । सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी भागमा ७ म्याग्निच्युडभन्दा माथिका १२ वटा भूकम्प गइसकेका छन् ।

फोटो हेरेर जेनजी आन्दोलनकारी पक्रिए, ठूलो विद्रोहमा उत्रिन्छौं : प्रकाश चन्द

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले जेनजी आन्दोलनकारीलाई पक्राउ गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनले फोटो वा भिडियोको भरमा आन्दोलनकारीलाई पक्राउ गर्ने प्रयास भए ठूलो विद्रोह सुरु हुने दाबी गरेका छन् ।

चितवनमा पत्रकार सम्मेलन गर्दै प्रकाशले भने, ‘फोटोमा देखियो भनेर युवालाई पक्राउ गर्ने काम भयो भने हामी चुप लाग्दैनौं । विचारको साङ्ला तोडेर ठूलो आन्दोलन गर्नेछौं ।’ तीन दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनेको विवरण संकलन भएको र प्रहरी प्रशासन तयारी अवस्थामा रहेको बताएका थिए ।

चन्दले भने प्रहरीले आन्दोलनका नाममा युवालाई तर्साउने र दमन गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले आफूलाई र आफ्ना साथीलाई पक्राउ गर्ने प्रयास भए आन्दोलनले अझ उग्ररूप लिने दाबी गरे । उनले भने, ‘मसँग बम–बारुद बनाउने सीप पनि छ, तर हाम्रो लक्ष्य राजनीतिक समाधान हो ।’

उनका अनुसार २३ गतेको आन्दोलनमा उनले नेतृत्व गरेका थिए, तर २४ गते अवस्था नियन्त्रण बाहिर जाँदा उनी सडकमा निस्केका थिएनन् । ‘युवालाई आतंकित पार्ने काम दलहरुले बन्द गर्नुपर्छ’, उनले भने, ‘अनियमितताको जिम्मा राजनीतिक दलहरुले लिनुपर्छ, अनि आन्दोलनको जिम्मा हामी लिन्छौं ।’ प्रकाशले आफू पाँच हजार बढी युवासँग सम्पर्कमा रहेको र चितवनबाट नयाँ युवा सञ्जाल निर्माणको तयारी गरिरहेको पनि जानकारी दिए । चितवन प्रहरीले हालसम्म एक व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ, तर नाम सार्वजनिक गरेको छैन ।

 

बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ । आइतबार अपराह्न सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगेका छन् । बैठक केहीबेर ढिलागरी सुरु भएको छ ।

बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति छन् । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन् ।

 

प्रचण्ड–नेपालबीच पेरिसडाँडामा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल जारी छ । दुई नेताबीच पार्टी एकताको विषयमा छलफलभइरहेको नेताहरूले बताएका छन् । अहिले पेरिसडाँडामा एकता कार्यदलको बैठक पनि जारी छ ।

यी दुईसहितका केही कम्युनिष्ट पार्टीबीच एकताकको टुंगो लागिसकेको छ । माओवादी, एकीकृत समाजवादीसहितको पार्टी मिलेपछि के नाम राख्ने, चुनाव चिह्न के हुने र नेताहरूको जिम्मेवारी कसरी विभाजन हुने भन्ने विषय टुंगिन बाँकी छ । यसैबीच, पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कात्तिक २० मा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

 

 

 

 

 

नर्सलाई बाइपास गर्दै सरकारसँग सहमति भएको भन्दै पोखरामा नर्सहरु आन्दोलित

पोखरा । पोखरामा नर्सहरुले आफुहरुलाई बाइपास गर्दै सरकारसँग सम्झौता भएको भन्दै आन्दोलत जारी राखेका छन् । पोखरा पृथ्वीचोकमा गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबिच नर्सहरुको समस्या समाधान गर्ने सहमति भएको हो ।

उक्त सहमतिमा असहमति जनाउँदै पोखराका नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । मागहरुलाई उचित मूल्यांकन नगरी सम्झौता गरेको उनीहरुको आरोप छ ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

शुक्रबारदेखि जारी सुनुवाइ आइतबार सकिएपछि सर्वोच्चले यस्तो आदेश गरेको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै फिर्ता बोलाइएका राजदूतहरु तत्काल नेपाल फर्कन नपर्ने भएको छ । कात्तिक ९ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको थियो ।

३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो।

सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत,अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आदेशको प्रति 

पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।

नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?’ उनले भनिन् ।

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् । यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ ।

यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन् ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन्। ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाईँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘तपाईँहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस्।’

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्।
‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ उनले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’

निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन् । ‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ। सरकारले साथ दिइरहेको छ। तैपनि, यो संस्था घाटामा जानुको कारण के हो ?’ उनको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?’

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।’

प्रधानमन्त्री कार्कीले भनिन्, ‘संस्था सुधारका लागि तपाईँहरू लाग्नुहोस्। सरकार दाहिने हातमा छ।’कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो।

कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

काठमाडौँ । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नास आईटीले आईतवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् ।

स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवद्र्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा ३० बढी आईटी सेवा र उत्पादनहरुको प्रदर्शनी रहने छ । एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ ।

साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउन सक्नेछन् । एक्स्पोले नेपालमा उत्पादित उत्पादनलाई नेपालमा नै खपत गर्नको लागी भुमिका खेल्ने नास आईटीका उपाध्यक्ष दीपेन चापागाईंले बताए । एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने उहाँको भनाई छ ।

नास आईटी एक्सपोको शिर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुने जनाइएको छ ।

विदेशी ऋणले देश चल्दैन, गफले रोजगारी सिर्जना हुँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनु पर्ने बताए । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए । उनले देश आफैले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँँदै उनले देश अब नेपाली आफैले बनाउनु पर्नेमा जोड दिए । उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रुपान्तरणका लागि, आर्थिक रुपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सीमित हुँदैनौं ।’ उनले भने, ‘हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनु पर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नि चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आफैले बनाउनु पर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले बिर्सियौँ । त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर गर्छौ ।’

उनले आफूहरुले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकाले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए । उनले परम्परागत राजनीतिक दल जस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।

 

 

 

 

आन्दोलनरत नर्सहरु र निजी अस्पताल सञ्चालकबीच सहमति, कति तोकियो पारिश्रमिक ?

काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरु सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् । निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह (मासिक ३४ हजार ७३० रुपैयाँं) तलब दिलाउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीले नर्सहरु र निजी मेडिकल कलेज तथा अस्पतालहरुसँग २३ बुँदे सहमति भएको बताए ।

प्रवक्ता बुढाथोकीले बाँकी ठूला–साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै र मध्यमलाई केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको बताए । एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सहमति भएको उनको भनाइ छ । उनले कुनै पनि अस्पताल वा मेडिकल कलेजमा कार्यरत नर्सहरुले खाईपाई आएको तलब पाँचौं तहभन्दा बढी भए पनि नघटाउने समेत सहमति भएको बताए । उनकाअनुसार नर्सहरूको माग सम्बोधनका लागि तत्कालीन सरकारले गठन गरेको अध्ययन कार्य दलको समयावधि एक महिना थपिएको छ । उनले थपिएको अवधिमा कार्य दलले निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालहरूको वर्गिकरण गर्ने पनि बताए ।

उनले भने, ‘चार वटा खण्डमा २३ बुँदे सहमति भएको छ । त्यसमा निजी अस्पताल र मेडिकल कलेजहरुमा पनि कार्यरत नर्सहरुले पनि पाँचौं तह सरहको तबल पाउनु पर्छ भन्ने जुन उनीहरुको माग थियो त्यसमा मेडिकल कलेजहरुमा कार्यरत नर्सहरुलाई कात्तिक महिनादेखि नै ३४ हजार ७ सय रुपैयाँ पारिश्रमिक दिने, बाँकी ठुला र साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै, मध्यमलाई केही हप्ता वा केही महिना र साना अस्पताललाई पनि केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको छ ।

यदि कसैले खाईपाई आएको तलब योभन्दा बढी रहेछ भने नघटाउने सहमति पनि भएको छ । नर्सिङ एशोसिएसन, निजी मेडिकल कलेज र निजी अस्पतालहरुले उठाएका मागहरु समेत सम्बोधन हुनेगरी एउटा सुरक्षित वातावरण बनाउनको लागि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलको एक महिना समय थपेर त्यसको आधारमा स्वास्थ्य मन्त्रालयले गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने र बाँकी कुरा मन्त्रि परिषद्बाट पास गराएर अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।’

उनले नर्सहरुलाई समेत सरकारी पाँचौं तह सरहको तलब सुविधा दिन सरकारले दिएको निर्देशन कार्यान्वयन नभएपछि सरकारले सहमतिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपरेको बताए । उनले सरकारले विगतमा भएको निर्णय कार्यान्वयन गर्न तथा नर्स र अस्पतालहरुको सम्मानजनक अवस्था सिर्जना गर्न हस्तक्षेप गर्नु परेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

उनले भने, ‘मन्त्रालयले १० महिना पहिले एउटा परिपत्र गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत स्वास्थ्य कर्मचारीले समेत सरकारी अस्पतालान सरह तलब पाउनु पर्छ भनेको थियो । उक्त परिपत्रको कार्यान्वयनको स्थिति थाहा नभइसकेको अवस्थामा मनिपाल र जिएमसीमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रनु भयो । त्यसपछि त्यो परिपत्र कार्यान्वयन नभएको हाम्रो नोटिसमा आयो । सरकारले उक्त परिपत्र कार्यान्वयन गराउन तथा निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत सम्मानजनक व्यवहार र तलब चाहिन्छ भन्ने सरकारको मान्यता भएको हुनाले अस्पताल र नर्स कर्मचारीबीच सहमति जुटाउन सरकार आफैंले हस्तक्षेप गर्नु परेको हो ।’

स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको पनि बताए । उनकाअनुसार नर्सिङ एशोसिएसनका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रलयका प्रतिनिधिहरु अनुगमन समितिमा राखिएका छन् । अनुगमन समितिले त्रिपक्षीय सहमति कार्यान्वयन भए÷नभएको अनुगमन गरे संघलाई पत्रचार गर्ने बताए । उनले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल

 

 

 

 

गुण्डुबाट एमालेले घोषणा गर्‍यो ‘युथ भोलेन्टियर फोर्स’ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको हो । भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।

जेन–जी आन्दोलनपछि पार्टीका नेता महेश बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पती रहँदै आएका छन् । युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सको केही आचार संहिता पनि बनाइएको बताए । उनले भने, ‘आगामी दिनमा ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायत जिल्लामा पनि विस्तार गर्ने योजना छ ।’

यस फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गर्दै नेताहरूको सुरक्षा र अराजकता नियन्त्रणमा काम गर्नेछ । बस्नेतले विगतमा युथ फोर्सको सक्रियताले माओवादीको आतंक हटाएको अनुभवलाई स्मरण गर्दै, वर्तमानमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने दाबी गरे ।

 

केशरमहलबाट सिंहदरबार सरे शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएपछि केशर महलबाट मन्त्रालयले कामकाज गर्दै आएको थियो।

केशर महलबाट आज शिक्षा मन्त्रालय सिंहदरबारभित्रैकै भवनमा सरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर आज अपराह्न ३ बजेदेखि शिक्षा मन्त्रालय सिंहदरबारमै सरेको उल्लेख गरेका छन्।

सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दुकको बट र नाल बरामद गरिएको हो । काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । गोकर्णेश्वर–३ मा बस्दै आएका लामाले उक्त बन्दुक राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका छोपेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो । झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो । कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

सेनाका सात जनालाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रधान सेनापतिले नेलाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुई जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

निकोलसको आह्वानमा प्रदर्शन गर्न माइतीघर पुगेका युवा धमाधम पक्राउ {तस्वीरहरु}

काठमाडौं । माइतीघरमा नारा लगाउने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. निकोलस भुसाल र उसको समूह माइतीघरमा आन्दोलन गर्न आउने र बिभिन्न राजनीतिक दलका कार्यकर्ताले सो समूहलाइ रोक्ने भनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर भुसाल भने माइतीघरमा देखा परेनन् । उनले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने घोषणा सामाजिक सञ्जालमा गरेका थिए । भुसालले आह्वान गरेको आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि अन्य प्रदर्शनकारीहरु बिच्किएका छन् ।

‘पहिला देश’ अभियान अन्तर्गत जेनजीका विभिन्न समूहले सरकारले जेनजीका मागलाई अवमूल्यन गरेको विरोध र हत्यारालाई कारबाही गर्न, भ्रष्टाचारको छानबिन र कारबाहीको लागि, संबिधान संशोधन गरेर प्रदेश सरकार खारेजको लागि दबाव दिन, वर्तमान सरकारले पनि सेवा प्रवाहबाट ती उठेका मागहरू पूरा गर्न नसकेको तथा जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्न, लघुवित्त पीडित, बैंक, मिटरब्याजी, सहकारी पीडित लगायतका समस्याहरू समाधान गर्नतर्फ कुनै ठोस पहल नगरेको देखिएको भन्दै ती मागहरू पूरा गराउन शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।

हर्कको श्रम संस्कृति पार्टीलाई आयोगले दियो मान्यता,तस्बिरहरु

काठमाडौँ । निर्वाचन आयोगले आज धरान उपमहानगरपालिकाकाका मेयर हर्क साङपाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र लिन हर्क साम्पाङ स्वयम् उपस्थित भएका छन् ।

 

थापाथली ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेकाे कामपाको डोजर यसरी फर्कियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । काठमाडौँ महानगरपालिकाको टोलीले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने तयारी गरे पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि रोकिएको हो ।

आइतबार बिहान सम्पदा क्षेत्रमा अनधिकृत संरचना हटाउने क्रममा महानगर प्रहरीको टोली प्रभाग परिसरमा पुगेको थियो । तर, काठमाडौँका सीडीओ ईश्वरराज पौडेलले प्रहरी कार्यालय स्थानान्तरण गर्न केही समय लाग्ने भन्दै तत्काल नहटाउन अनुरोध गरेपछि टोली फर्किएको हो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भए पनि प्रभाग नभत्काइने महानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए ।

उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’ प्रभाग नजिकका केही अन्य अवैध संरचना भने महानगरको टोलीले हटाइसकेको छ । सीडीओ पौडेलले अहिले ट्राफिक प्रहरीको मुख्यालय रामशाह पथसहित अन्य प्रहरी कार्यालयहरू जलेका वा क्षतिग्रस्त अवस्थामा भएकाले अस्थायी रूपमा प्रयोगमा रहेका भवन तत्काल भत्काउँदा समस्या हुने भन्दै पत्राचार गरेको थियो । महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

 

 

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ ।

सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आईतवार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए।

उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’

महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

परस्त्रीसँग होटलमा ‘डेट’ गएका पुरुषको रहस्यमय मृत्यु, महिलामाथि किटानी जाहेरी

बुटवल । रुपन्देहीको बुटवलमा एक विवाहित महिलासँग होटल गएका एक पुरुषको रहस्यमय मृत्यु भएको छ । मृतक पुरुषका आफन्तहरूले महिलामाथि किटानी जाहेरी दिएका छन् । बुटवल–३ फूलबारीकी करिब ३० वर्षीया विवाहित महिला शनिबार दिउँसो बुटवल–६ चाँदवारीका ५६ वर्षीया पुरुषसँग होटलमा पुगेकी थिइन् । उनी दुई स–साना बालबालिकासहित बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लज मा पुगेकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुले होटलका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी छोरी र भतिजीलाई राखिएको थियो भने अर्को कोठामा ती पुरुष र महिला बसेका थिए । केही समयपछि उनीहरूले होटलकै कोठामा खाजा मगाएर खाएका थिए । खाजा खाएलगत्तै पुरुष अचानक बेहोस भएका थिए । महिलाले तुरुन्तै होटल सञ्चालकलाई खबर गरेकी थिइन् र होटलका कर्मचारीले उनलाई एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा बाहिरी चोट पटक केही नदेखिएको र मृत्युको कारण यकिन गर्न पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच कुनै पारिवारिक वा वैधानिक सम्बन्ध नरहेको देखिएको छ,’ डीएसपी रानाले भने, ‘घटनाको सम्पूर्ण पक्ष खुलाउन अनुसन्धान भइरहेको छ ।’

मृतक पुरुषका दुई छोरी र श्रीमती छन् । उनी चाँदवारीमा घर बनाएर मैनाबगर क्षेत्रमा अटो व्यवसाय गर्थे । छिमेकीहरूका अनुसार उनी मुटुका बिरामी थिए र औषधि सेवन गर्थे । मृत्युअघि उनले कुनै थप औषधि खाएको वा अन्य कारणले समस्या भएको हुन सक्ने आशंका छ ।
तर मृतककी छोरीले इलाका प्रहरी कार्यालयमा महिलामाथि किटानी जाहेरी दिएकी छिन् । प्रहरीले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस्तै घटनापछि प्रहरीले होटल सञ्चालक र रुपन्देही होटल व्यवसायी संघका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । होटल व्यवसायी संघका अध्यक्ष माधव खनालका अनुसार घटनापछि सुरक्षात्मक तथा प्राविधिक पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
‘होटलमा बसेका पाहुनामध्ये पुरुष बेहोस भएपछि तुरुन्तै अस्पताल पु¥याइएका थिए,’ खनालले भने, ‘तर डाक्टरहरूले उनलाई मृत घोषणा गरेपछि परिवारले महिलामाथि शंका गरेको हो । अहिले प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।’

कांग्रेस मुख्यालय सानेपामा नाराबाजीपछि युवाको तालाबन्दी {तस्वीरहरु}

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (४० बर्षमुनि) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्वद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।

उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतको नारा लगाएका छन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भुवन भट्टले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नव युवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताए । समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताए ।

उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताए । कांग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिए । तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरे । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँच बिना प्रवेश रोकिएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

माओवादी केन्द्र र नेकपा एसको एकता कात्तिक २० मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ। आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने । त्यसपछि एकता घोषणा गर्ने तयारी छ।

समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।
उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ । नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहने छन्। एकीकृत पार्टी बहुपदीय ढाँचामा रहनेछ । माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।

जनार्दनले गरे माओवादी सचिवालय बैठक बहिष्कार
यता नेकपा (माओवादी केन्द्र) को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन्। आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हिजो आफ्नो कुरा राखेर निस्कनु भएको थियो । आज बैठकमा आउनु भएन,’ प्रवक्ता सापकोटाले भने। शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए।

आफ्नो भनाइ राखेर उनी बैठकबाट बाहिरिएका थिए। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने उनले बताएका छन्। आइतबार पुनः बसेको बैठकमा एकताबारे संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताएका छन् । पार्टी एकताको निर्णयलाई अनुमोदन गर्नका लागि कात्तिक १८ केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको पनि प्रवक्ता सापकोटाले बताए। ‘आजको बैठकमा समायोजन गर्ने विषयमा र नीतिगत र वैचारिक विषयमा छलफल भयो। नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भयो,’ प्रवक्ता सापकोटाले सुनाए।