`

‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा

खोटाङ । खोटाङमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैं–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो ।

यही असोज १६ गतेदेखि १९ गतेसम्म र तिहारको अवसरमा आगामी कात्तिक ५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए । ‘यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । तत्कालीन समयमा ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए’, उनले भने ।

निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करणलाई यस वर्ष पनि निरन्तरता दिइने राईले बताए । ‘स्वार्थ बिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेका हौं । माइतीघर पुर्‍याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यस वर्षको अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी

नाम दर्ता गराइसक्नु भएको छ । स्वयमसेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडी समेत व्यवस्था गरिएको छ ।’
मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सरकारी सेवा सुविधा लिइरहेकालाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ । चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्था, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए ।

अभियानअन्तर्गतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने शर्त समेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले बताए ।

दशैं र तिहार गरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वतःस्फूर्त स्वम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । स्वमसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने पत्रकार सम्मेलनमा संयोजक राईले जानकारी दिए ।

उनका अनुसार अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौसम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन् ।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेसनले निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो । महिला उद्यमी संघ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन संघ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए।

गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि भाडाको घर खोजेको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि उनका लागि बैंकले निवास भाडामा लिन खोजेको हो।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी सम्मको घर खोजिएको हो ।

६ वटा गाडी पार्किङ गर्न मिल्ने, सुरक्षा गार्ड बस्ने घर हुनुपर्ने, चार वटा बेडरुमसहित सबै सुविधा भएको साढे २ तलादेखि तीन तलासम्मको घर खोजिएको छ । असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेले बैंकमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ । गत जेठ ६ गते गभर्नर नियुक्त पौडेलको यसअघि भैंसेपाटीमा पाँच आना जग्गामा बनेको साढे २ तलाको घर थियो ।

कम्पाउण्डमा पार्किङका लागि पर्याप्त जग्गा नभएको जनाउँदै बैंकले गत असारदेखि नजिकै ६ आना जग्गा गार्ड र गाडीको लागि भाडामा लिएको थियो । यसअघि डा. चिरञ्जीवी नेपालको लागि पनि बैंंकले पाँच वर्ष महाराजगञ्जमा घर भाडामा लिएको थियो । नेपालको पनि कुसुन्तीमा रहेको घर सानो भएको जनाउँदै बैंकले निवासको प्रबन्ध गरेको थियो । यसरी लिइएको घरभाडादेखि, भित्रको सबै खर्च बैंकले तिर्ने गर्छ ।

जेनजी आन्दोलनपछि पहिलाे पटक एमाले सचिवालय बैठक गुण्डुमा {तस्वीरहरु}

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपल्ट बसेको एमालेको यो औपचारिक बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डु सरेकाले उनकै निवासमा बैठक बसेको हो । भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि ओली राजीनामा दिन बाध्य भएका थिए ।

बैठकमा जेनजी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ । आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने एक पदाधिकारीले जानकारी दिएका छन् ।

आजको बैठकले गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आज बस्ने सचिवालय बैठकका यी दुई प्रमुख एजेण्डा मात्र रहेको उनको भनाइ छ ।

आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न स्पष्टरूपमा आग्रह गर्ने तयारी गरेका छन् । योबीचमा ओलीले नेताहरूलाई बोलाएर गरेको वान टू वान वार्तामा पनि केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका छन् ।

तर, ओली भने अहिले छाड्ने पक्षमा देखिँदैनन् । उनी अहिले नेतृत्व छाड्नु भनेको अपराधी करार हुने भएकाले कुनै हालतमा छाड्ने पक्षमा छैनन् । बरु महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान उनी सकारात्मक छन् । अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरू परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय आजको बैठकमा राख्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो ओलीको विकल्प खोज्न नहुने पक्षमा रहेको पार्टीको तलदेखि माथिको पंक्ति विकसित घटनाक्रम र आन्दोलन तथा विध्वंसपछिको स्थिति बुझेर सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । सँगै विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार हुनुपर्ने विषय पनि दोहोर्‍याउने तयारी छ ।

जेनजी घाइतेलाई परिचयपत्र वितरण, १६ अस्पतालमा ‘क्लिनिक’ स्थापना

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण थालिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण गरेका हुन् ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

यी अस्पतालमा छन् जेन–जी क्लिनिक
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ । लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याइरहेको सहयोगका विषयमा छलफल भयो ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो । त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

नारायणकाजी लक्षित हरिबोलको टिप्पणी : नेतृत्व दिने अधिकार व्यक्तिको हातमा छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेतृत्व कसले लिने वा दिने अधिकार महाधिवेशनले टुङ्गो लगाउने विषय भएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्व लिने-दिने अधिकार व्यक्तिको हातमा नभएको टिप्पणी गरेका हुन् ।

नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै गजुरेलले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव फिर्ता नलिएकोप्रति प्रश्न उठाएका छन् ।

‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यस पछाडि के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफै बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन– यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो’, उनले भनेका छन् ।

अहिले नेतृत्व लिनु नभई चिन्तन गर्नुपर्ने बेला भएको र जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनले स्पष्ट पारेका छन् । ‘अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ’, उनले लेख्छन्, ‘आज पनि जेनजीले खोजिरहेको कुरा त्यही हो । वैचारिक स्पष्टतासहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस्। प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्ने गजुरेलको भनाइ छ ।

माओवादीको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नै नेतृत्वमा मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठले आफूलाई कार्यबहाक अध्यक्ष दिनुपर्ने र जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठ र शर्माको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

अर्का नेता वर्षमान पुनले आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रचण्डको भूमिका राजनीतिक वा अभिभावकीय रहे पनि सङ्गठनात्मक नेतृत्वमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका थिए ।

बेमौसमी फूल खेतीबाट मनग्य आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन्। उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताउँछन् ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूल खेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए ।

‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।’

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । अहिले उनले फूललाई प्रतिकेजी रु चार सयका दरले र माला एक थानलाई रु एक सयमा बिक्री गर्दै आएका छन् ।

उमेरले ४० वर्ष पुगेका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आएका छन् । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउँछन् । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारी समेत दिएका छन् ।

अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउँछन् । उनले वार्षिक रूपमा रु ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गर्छन् । यसबाट रु १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन् ।

उनले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला रु एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गरेका छन् । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उनले बताए ।

अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उनी बताउँछन् । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उनी खुसी छन् । यस व्यवसायमा उनलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको संख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्छन् ।

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए । ‘गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्’, उनले भने । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण संकलन भइरहेकाले खोजी कार्य जारी रहेको उनले बताए ।

शान्ति सुरक्षा मजबुत बनाउनू : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् ।मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ। आयोगले विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गरेको छ। सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पंक्षी

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको संख्या बढेको छ । बर्दिबास–३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको संख्या बढेको हो ।

करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीका २१० परिवार उपभोक्ता छन् । दुवै वन एउटै क्षेत्रभित्र पर्ने भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउने उद्देश्यले रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । यसको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।

‘एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ’, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीले भने, ’वन संरक्षणमा यहाँका महिलाले देखाउनुभएको अग्रसरता अनुकरणीय छ ।’ वनमा चरीचरणपूर्ण बन्द गरिएपछि एक–दुई वर्षको अन्तरालमा सालका पथरा हलक्क बढेका उनले बताए । उनका अनुसार वनमा बहुमूल्य मानिने साल –साखु, सखुवा) करिब ४० प्रतिशतभन्दा बढी छन् ।

अहिलेको कालीदमार वनक्षेत्रमा कालापानी उद्यान (पार्क) पनि निर्माण गरिएको छ । बिपी राजमार्गको दायाँ–बायाँ पर्ने यो संरक्षित वनक्षेत्रमा अहिले मयुर र लुइँचेपक्षी बाक्लै बढेका छन् । यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको संख्या पनि बढेको रायमाझीले जानकारी दिए । कालापानी उद्यानको संरक्षित वनक्षेत्रका हरिण मान्छेसँग खेल्ने गरेका उनको भनाइ छ । ‘यो वनक्षेत्रमा नयाँ चराचुरुङ्गी बढेका छन्’ उनले भने ।

वन क्षेत्रको संरक्षणमा घरघरका महिलाले प्रत्यक्ष सहभागिता जनाउन थालेपछि सकारात्मक नतिजा आउन थालेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठले बताए । ‘वन संरक्षणको क्षेत्रमा हामी महिला प्रत्यक्ष रूपमा सहभागी भई पहरेदारी गर्दै आएका छौँ’, उनले भने, ‘सामूहिक प्रयत्नले अहिले वन जोगिनुका साथै बढेको पनि छ ।’ वन संरक्षणका लागि दुवैका उपभोक्ता समितिबीच आपसी समन्वय र सहकार्य हुने गरेको श्रेष्ठले बताए ।

अहिले वन संरक्षणमा महिलाको चासो बढ्दा सकारात्मक परिणाम देखिएका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख एवं वरिष्ठ वन अधिकृत अजय मिश्रले बताए। उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको चिरिविर ९कलरब० ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।

‘नाम नजानिएका थरिथरिका चराचुङ्गी देखिन थालेका छन्, उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मानिस छिर्न नमिल्ने बनाइएकाले अवैद चोरीसिकारी रोकिएको रहेछ’, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले भने, ‘वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना देखिन्छ ।’

स्थानीय नागरिकको प्रयत्न, स्थानीय निकाय, सरोकार भएका निकायको पहलमा पूर्वाधार विकासमा जोड दिन सके यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सकिने कार्कीले धारणा राखे । महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्त्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

‘यहाँ महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरादेवी शक्तिपीठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलालगायत फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पहाडी थुम्का छन्’, बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमले भने ।

प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके आर्थिक समृद्धि प्राप्त गर्न समस्या नहुने उनको भनाइ छ । यसका लागि तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्नेमा उनले जोड दिए ।

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको कति ?

काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कांग्रेस प्रवक्ताको प्रश्न : आक्रमण हुने थाहा हुँदाहुँदै घर नछाड्ने देउवाले देश छाड्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
आज (आइतबार) पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै ‘डिमोरलाइज’ गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनि ‘डिमोरलाइज’ नभएको जिकिर गरे।

‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । सांघातिक हमला हुने देख्दा देख्दै पनि घर छोड्नु भएन भने देश छोड्नु पर्ने कुनै कारण छैन, कल्पना नगरे हुन्छ’ उनले भने ।

प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताएका छन् । ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ’, उनले भने । प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए ।

‘अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन,’ उनले भने ।

जेनजीका नाममा विध्वंश गर्नेलाई आयोगका नाममा उन्मुक्ति दिइनु हुँदैन : भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले भदौं २४ गते जेनजीका नाममा लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिमाथि कारवाही गर्नका लागि प्रचलित कानून पर्याप्त रहेकाले आयोगको बहानामा उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ को घटनाको छानविन गरेर कारवाहीका लागि सिफारिस गर्न सक्ने तर २४ गतेको घटनामा आयोगले केही मद्दत गर्न नसक्ने प्रष्ट पारेका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ घतेको घटनाबारे छानविन गर्न गठित समितिले प्रतिवेदन नदिएसम्म कसैमाथि धरपकड नहुने भनेकोमा बरिष्ठ अधिवक्ता आचार्यले आपत्ति जनाएका हुन् ।

आचार्यले वक्तव्यमा भनेका छन्–आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हदसम्म उपयोगी हुन सक्ला, तर २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन ।

आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लागि प्रचलित कानून नै पर्याप्त रहेकाले आयोगको बहाना बनाउनु ठीक भएन । आफ्ना केही स्वतन्त्रताको परित्याग गरि व्यक्ति राज्यको अधीनमा बस्न मञ्जुर गर्नु पछाडिको मुख्य कारण सुरक्षा नै हो । आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो । यो राज्य बस्न लायक छ, अनूभूत हुनु पर्‍यो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न अस्वीकार गरेका आचार्यले आयोग गठनको कारण देखाएर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइनु घटनालाई ढाकछोप गर्न खोजेको मानिने समेत बताएका छन् ।

रास्वपा संस्थापनलाई तोसिमाको चुनौती : हिम्मत भए विशेष महाधिवेशन ‘फेस’ गर

काठमाडौं । रास्वपा नेता तथा पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले हिम्मत भए विशेष महाधिवेशन फेस गर्न चुनौती समेत दिएकी छन् ।

कार्कीले वक्तव्य जारी गर्दै पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा बुलिङ गरिएको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘साइबर बुलिङ र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरञ्जित गर्ने, विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नु पर्छ आदि भनेर भ्रम छर्न खोज्ने ? हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । कार्कीले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने प्रष्ट पारेकी छन् ।

जेनजी अगुवालाई बाबुराम भट्टराईले सुनाए ‘दासढुंगा प्रकरण’ जोडिएको घटना

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी अगुवा र जेन–जी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन् ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशूलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि देशमा जनआक्रोश पैदा भएका बेलाको घटना स्मरण गराएका हुन् । डा. भट्टराईले त्यसबेला भएको आन्दोलनपपछि आफू पनि सहभागी वार्तामा आन्दोलनकारीलाई कसरी झुक्याइयो भन्ने कुरा उल्लेख गरेका छन् ।

पढ्नुस् भट्टराईले सुनाएको कथाः
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो ।

एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कंदै गयो । निष्पक्ष छानबिन, दोषीलाई कारबाहीलगायतका मागहरू अतिरिक्त तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुपर्ने मुख्य मागहरू बने । सरकार टसमस भएन ।

महिनौँको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता गर्ने सहमति भयो । आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं । सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो । ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो ।

लामो रस्साकस्सीपछि अरू कुराहरूमा सहमति बन्दै गयो । तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्‍यो । हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो, ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ । म जिम्मा लिन्छु ।’
हामीले भन्यौं, ‘मिति तोक्नु पर्छ ।’

किसुनजीले भन्नुभयो, ‘लौ लौ, भदौ ३० गते ! मेरो वचन भयो ।’
मेरो मनमा शंका लाग्यो । किनकि म त्यतिबेला ३९ वर्षको जल्दोबल्दो थिएँ ।
मैले भनें, ‘किसुनजी, यसको एउटा लिखत गरौं न त !’

किसुनजीले बोल्नु अघि नै उहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो, ‘किसुनजी जस्तो सन्त नेताले भनेपछि भैगो नि ! उहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ ।’
म हिस्स परें ।

भदौ ३० गते आयो । प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नु भएन ।
बरु ‘सन्त नेता’ ले पो भन्नु भयो, ‘मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ ।’
सबै फासफुस भयो ।

यसको पाठ हो–राजनीति धेरै निर्मम हुन्छ । निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ । विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन–जी अभियन्ताहरूले पनि सिक्ने कि ?

जेनजी आन्दोलनमा तोडफोडमा संलग्नलाई पक्राउ नगर्न प्रहरीलाई दबाब

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ । जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई यस्तो दबाब दिएको खुलेको छ । ‘काठमाडौंबाट प्रहरीले तोडफोड लुटपाटमा संलग्न एक सयभन्दा बढी पक्राउ गरेपछि यस्तो दबाब आयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

प्रहरीले आफैबाट लुटिएका हतियार खोज्नुपर्ने बाध्यता रहेका कारण शंकास्पद व्यक्तिहरू पक्राउ गरिरहेको छ । जेल र हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूले आक्रमण गरेको आशंकामा पनि प्रहरीले पक्राउ गरिरहेको छ । महाराजगञ्ज वृत्तमा डिएसपी भन्दै मारिएका प्रहरी जवानको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरी कार्यालयमा आगो लगाउनु पर्छ भनेर बोल्नेलाई पनि सामाजिक सञ्जालमा आएका भिडियो हेर्दै प्रहरीले धमाधम कानुनी दायरामा ल्याइरहेको अवस्थामा गृह मन्त्रालयले जेनजीको आन्दोलनमा सहभागी भएकाहरूलाई दुःख दिनु हुँदैन भन्दै पक्राउ नगर्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

यही विषयलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको देखिन्छ । मन्त्रालयले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । जसले गर्दा अहिले पक्राउ परेका केही व्यक्तिहरू पनि छुटिसकेको स्रोतको दाबी छ ।

लुटिएका प्रहरीको बर्दी लगाएर रामरमाइलो गरिरहेका व्यक्तिहरूको अनेक भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेको छ । त्यस दिन आन्दोलनकारीको भिडमा मिसिएर एक बर्खास्त प्रहरी जवान पनि प्रहरी कार्यालयमा आगो झोस्दै हिँडेका थिए । उनीहरूको गतिविधि प्रहरीलाई टुलुटुलु हेर्न बाध्य पारिएको छ ।

जेनजी वार्ता टोलीमा आफ्नो नाम आएपछि रक्षाको आपत्ति : ‘रोटी सेक्ने’ अनुहार जन्मिनु गम्भीर

काठमाडौं । जेन–जी आन्दोलनकी अभियन्ता रक्षा बमले आफूलाई राष्ट्रपतिसँग वार्ता गर्ने टोलीमा एकतर्फी ढंगले समेटिएको भन्दै आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ८–९ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनमा फरक–फरक समूहको सक्रियता सर्वविदित भए पनि त्यसकै आडमा ‘रोटी सेक्ने’ अनुहार र समूह जन्मिनु गम्भीर विषय भएको बताइन् ।

‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई एकतर्फी राखेर सार्वजनिक गर्नु नितान्त गलत हो,’ बमले भनेकी छन्, ‘त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै धेरै कुरा प्रष्ट पारिसकेको छ ।’ उनले वार्तामा सहभागी हुने टोलीबारे आफू अनभिज्ञ रहेको र त्यहाँ समावेश माग–मुद्दा पनि नपढेको उल्लेख गर्दै सो प्रक्रियामा ऐक्यबद्धता जनाउन नसक्ने बताएकी छन् ।

बमले जेन–जी आन्दोलनले सरकारलाई म्यान्डेट दिइसकेको स्मरण गराउँदै उक्त म्यान्डेटभन्दा बाहिर जाने प्रयत्न भए सडकबाट खबरदारी गर्ने चेतावनी समेत दिइन् । ‘वार्तामा जाने भनिएका साथीहरू सचेत हुनुहुन्छ भन्ने आशा छ । तर, यदि टोली गलत दिशातर्फ मोडिएको पाइएमा त्यसविरुद्ध आवाज उठाउन हामी प्रतिबद्ध छौँ,’ उनले भनेकी छन् ।

 

कांग्रेस फेरि उठ्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने दावी गरेका छन् । आइतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने बताए । भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गरे । ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौँ’ उनले भने ।

प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । कांग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताए । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने बताए ।

नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताएका छन् । विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’

उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’

यस पटकको दशैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाई दिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा शहीद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टीका लगाइ दिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यस पटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् । ‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनै पर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

स्वकीय सचिवको सुविधाले लोकतन्त्र बदनाम : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले लोकतन्त्र र संसदीय व्यवस्थालाई बदनाम पार्ने एउटा कारण स्वकीय सचिवको सुविधा भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘संसद्को अभिलेख हेर्दा हुन्छ, ९० प्रतिशत सांसदले स्वकीय सचिवमा आफ्ना छोरा–छोरी, श्रीमान–श्रीमती, साला–साली, भाइ–भतिजा आदि आफन्तको नाम राख्छन् ।’ राज्य कोषको यो दुरुपयोग सधैँका लागि रोकिनुपर्ने माग उनको छ ।

सल्यान दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको आधारमा गरेको र शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाफीकोट गाउँपालिका–५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

राति १० बजेको समयमा प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए । दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल वहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली परिचालित भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङको कमाण्डमा थप ९ जनाको टोली खटिएको थियो । घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्व पर्दछ ।

जेनजी आन्दोलनपछि आज पहिलो पटक एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछि आज (आइतबार) पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै सचिवालय वैठक बस्ने भएको हो ।

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलो पटक सार्वजनिक भाषण दिएका थिए ।

उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए । उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिर समेत गरेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए । त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन् ।

 

सल्यानमा गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज (आइतबार) बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ । मृतक तथा घाइतेको नाम, ठेगाना खुलेको छैन ।

सुर्खेत गाडी दुर्घटना हुँदा १७ जना घाइते
यस्तै सुर्खेतमा आज (आइतबार) बिहान भएको गाडी दुर्घटना घाइते भएका सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनमा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्युरेनिस्थित रत्नराजमार्गमा बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनमा परेको थियो ।

प्रहरीका अनुरासार घाइतेमध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यी हुन् सुर्खेतको गाडी दुर्घटनामा घाइते हुने यात्रु
प्रदेश अस्पताल कालागाउँमा उपचारत घाइते
१. चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको।
२. जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३. जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४. जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५. ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६. ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७. सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८. जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।

देउती नर्सिङहोम सुर्खेतमा उपचार भइरहेका घाइते
९. जिल्ला दैलेख दुल्लु नपा– ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य ।
१०. जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट।
११. जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य।
१२. जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य।
१३. जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य।
१४. ऐऐवडा १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य।
१५. ऐऐ वडा ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य।
१७. जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य।

विद्युतको बक्यौता महसुल बुझाउन उद्योगीलाई २१ दिनको ‘अल्टिमेटम’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउन उद्योगीहरुलाई २१ दिनको ‘अल्टिमेटम’ दिएको छ ।

प्राधिकरणले आज (आइतबार) सूचना निकाल्दै उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन आग्रह गर्दै अन्यथा कारबाहीको चेतावनी दिएको छ । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको इच्छाअनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेको थियो ।

सोही अनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेर पनि १० वर्षदेखि महसुल नतिरेका उद्योगीलाई प्राधिकरणले बक्यौता तिर्न समय सीमा तोकेको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा घिसिङलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले पदबाटै बर्खास्त गरेका थिए ।

जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा ऊर्जामन्त्री बनेपछि घिसिङले आफ्नो पुरानो कामलाई फेरि अघि बढाएका हुन् । प्राधिकरणका अनुसार ४९ उद्योगले २०७२ माघदेखि ०७५ वैशाखसम्मको विद्युत् महसुल तिरेका छैनन् । ती उद्योगलाई प्राधिकरणले २८ किस्तामा महसुल तिर्ने सुविधा दिएको छ ।

कांग्रेसले यो वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ ।

युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो ।

राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू लगायतमा पनि आगजनी र तोडफोड भएको थियो । ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् ।

नेपाली कांग्रेसले यसलाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना’ को रुपमा लिएको जनाएको छ । त्यसैले यस्तो अवस्थामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय लिइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरी ध्वस्त पारिएको अवस्थाको ‘यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिक बीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ’, भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुबा, दिदीवहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।’

विक्रम संवत् २०३३ सालमा बी.पी. कोइराला भारत निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्किएको दिनको स्मरण गर्दै हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको थियो ।

सुदन गुरुङले भने–जनताले चाहे प्रधानमन्त्री बन्छु

काठमाडौं । जेन–जी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा जनताले चाहे आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका हुन् । रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिएका उनले देश र जनताले जिम्मेवारी दिए पछि नहट्ने बताउँदै पुराना राजनीतिक दलका नेताहरूलाई उनीहरूले गरेका अपराधको छानबिन गरी चुनावमा भाग लिनबाटै रोक्नु पर्नेमा जोड दिए ।

अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा गुरुङले नेपालमा ४८ घण्टाभन्दा कम समयमा जेन–जी प्रदर्शनकारीहरूले सरकार ढालेको बताउँदै भने, ‘हामी अब पछि हट्ने छैनौं । अन्त्यसम्म लड्नेछौं,’ उनले भने ।

गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरुको रगत लागेको भेस्ट देखाउँदै, यो रगत न्यायको प्रतीक भएको सुनाए । ‘यो मारिएका बच्चाहरूको रगत हो,’ उनले भने, ‘जबसम्म हामीले न्याय पाउँदैनौं र हाम्रो देश परिवर्तन भएको महसुस गर्दैनौं, तबसम्म यो भेस्ट नधुने हामीले वाचा गरेका छौं ।’

उनले आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकारलाई दोष दिएका छन् । ‘हामीले हिंसा रोजेका होइनौं । पहिलो गोली सरकारको तर्फबाट चलाइएको थियो,’ गुरुङले भने, ‘हाम्रो सरकारले भविष्यको रक्षा गर्नुको सट्टा हामीलाई नै मार्‍यो ।’

उनले थप सुनाए, ‘यदि जनताले मलाई रोज्छन् भने, म निश्चित रूपमा प्रधानमन्त्रीको लागि चुनाव लड्नेछु ।’ उनले यो पद नभई जनताले दिएको जिम्मेवारी भएको बताए । ‘यो एउटा आन्दोलन हो । मैले यो गर्नैपर्छ । मसँग अरू विकल्प छैन । मैले मेरो देश बचाउनु छ,’ उनले भनेका छन् ।

उनले आगामी चुनावमा पुराना दलहरूलाई सहभागी हुन नदिन उनीहरूले गरेका अपराधको छानबिन प्रक्रियालाई तीव्रता दिने चेतावनी दिए । चुनावमा पुराना दलले जितेमा त्यसलाई स्वीकार नगर्ने र पुनः आन्दोलन गर्ने उनको भनाइ थियो। ‘कुनै पनि सच्चा नेपालीले उनीहरूलाई फिर्ता चाहँदैनन्,’ उनले भने, ‘हामी उनीहरूलाई जेलमा देख्न चाहन्छौं ।’

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले छिमेकी बदल्न नसकिने यथार्थ स्वीकार्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘हामी सार्वभौम राष्ट्र हौं। यदि त्यो सम्मान हामीलाई दिइन्छ भने, हामी पनि छिमेकीलाई सम्मान गर्नेछौं । तर हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन,’ उनले भने ।

जेनजीलाई सुदन गुरुङको अपिल : हिंसा र कसैको घरलाई निशाना बनाउनु समाधान होइन

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेनजी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएकाले त्यसो नगर्न अपिल गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज आफू बसेको घरलाई निशाना बनाएको अभिव्यक्ति दिएपछि संयोजक गुरुङले कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन । यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।’

उनले निर्वाचनको मिति तोकिएकाले त्यो नै आफूहरूको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको बताएका छन् । उनले भनेका छन्, ‘शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौं । हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन । सम्पूर्ण देशलाई देखाऔं कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ ।’ उनले सबैलाई शान्त र दृढ रहन समेत अपिल गरेका छन् ।

विदेशमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता र मतदानको व्यवस्था मिलाउन ज्ञापनपत्र

काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरुलाई सहजरुपमा मतदाता नामावलीमा नाम दर्ता र मतदानको व्यवस्था मिलाउन माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याललाई आज (शनिबार) ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले यस्तो आग्रह गरेका हुन् ।

अमेरिका निवासी नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्री अर्याललाई भेटेका थिए । भेटमा रास्वपा केन्द्रीय सदस्य पुकार बम पनि सहभागी थिए । सो क्रममा अभियन्ता भट्टले ‘हाल नेपालकै नम्बरमार्फत मात्र एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गरेर मतदाता नामावली दर्ता गर्नुपर्ने प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागि हुन हतोत्साहित गर्ने सम्भावना भएकाले विदेशी नम्बर वा इमेलमार्फत पनि ओटिपी उपलब्ध हुने व्यवस्था मिलाइ सहज बनाउन अनुरोध गरेका थिए ।

अमेरिकामा रहेका नेपालीहरूले ३ वटा कन्सुलेट अफिस र एउटा दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने सुझाव प्रस्तुत गरिएको छ । यस अभियानलाई सफल बनाउन एनआरएनए र विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने, दूतावास–कन्सुलेटसँग सहकार्य गर्ने र मतदाता नामावली दर्ता अभियानमा सहयोगी भूमिका खेल्ने ज्ञापनपत्रमा उल्लेख छ ।

अभियन्ताले गृहमन्त्रीको सकारात्मक पहललाई धन्यवाद दिँदै यो एजेन्डाबाट पछि नहट्न आग्रह गरेका थिए । उनले नेपाली डायस्पोरा यस अभियानलाई सहयोग गर्न सधैं तयार रहेको स्पष्ट पारेका थिए। ‘विदेशमा रहेका लाखौँ नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी, तथा पेशेवरहरूलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्न अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो,’ अभियन्ता भट्टले भने ।

मन्त्री पुनलाई जेनजी घाइतेले भने–हामीले देशका लागि रगत बगाएका हौं, माग पूरा हुनुपर्छ

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।

मन्त्री पुनले आज (शनिबार) ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारको बारेमा गुनासो नगरेको बताए । उनले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताएका छन् ।

आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने बताउँदै उनले राजनीतिमा कुनै पनि समयमा फरक स्थिति बनिदिने समेत बताएका छन् ।

उनले भने, ‘बिरामीहरुको माग मुद्दाहरु नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौं । हामीले देशका लागि रगत बगाएका हौं । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । घाइतेको देशका विभिन्न खस्पतालमा उपचार जारी रहेको हो । ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जना मात्रै आइसीयूमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।
तस्वीरहरु

माइतीघरमा राप्रपाका युवाहरूको मौन प्रदर्शन

काठमाडौं । राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा आज (शनिबार) सांकेतिक मौन प्रदर्शन गरेका छन् । जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् । आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन सांकेतिक मौन प्रदर्शन गरिएको जानकारी दिएकी छन् । प्रदर्शनमा सहभागीहरूले महंगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?, देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ७५ जनाको बलिदान फेरि यहि संविधान ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

अर्थमन्त्री खनालले गरे आगजनीले ध्वस्त हिल्टन होटल निरीक्षण

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटल निरीक्षण गरेका छन् । आज (शनिबार) मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् ।

आठ अर्ब बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको थियो । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचरसहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो । हिल्टनलाई काठमाडौंमा शंकर ग्रुपले भित्राएको थियो । यो होटेल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै छ ।

दशैंमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

काठमाडौं । सडक विभागले दशैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे । ‘दशैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए ।

यात्रुहरूले धेरै सास्ती भोग्नुपर्‍यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ । हाल बाटो सहज भइसकेको छ’, उनले भने । हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यस बाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ ।

विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्यांकमा उल्लेख छ । रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ ।

करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो । ठोरी, भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ । रासस

जेनजी आन्दोलनका घाइतेलाई परिचय–पत्र, उपचारका लागि अस्पताल तोकिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र प्रदान गर्ने भएको छ । घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ । त्यस्तै घाइतेहरुको वर्गीकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ । पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

हेर्नुस् सूचना

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहार जस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ ।

कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ ।विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् ।

‘गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ’, उनले भने ।

आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको संख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।

पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए । उनका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रूपमा घटेका छन् । ‘विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ’, उनले भने । उनका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् ।

पूर्व अध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । ‘दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरूले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ’, उनले भने ।

क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताए । ‘अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ’, उनले भने । उनका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड संख्या छन् । उनका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरू पनि आउन सकेका छैनन् ।

जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले भने, ‘आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।’ विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरूको संख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उनको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड संख्या छ ।

जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल संघ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ ।

‘यस पटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ’, उनले भने, ‘यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।’ विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उनको बुझाइ छ ।

‘जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो’, उनले भने, ‘त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।’

उनले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताउँछन् । उनका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीको पनि मनोबल घटेको बताए ।

‘रिकभर’ को चरणमा छ पर्यटन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’ को चरणमै रहेको बताउँछन् । ’गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो संख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्’, जोशीले भने, ‘त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।’

सीईओ जोशीले हरेक संकटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुगेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए ।

उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरू समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।’

त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताए । उनले भने, ‘पर्यटनको रिकभरी सँगसँगै दिगो रूपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

कहाँ–कहाँ भयो क्षति ?

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरूमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल संघ नेपाल (हान) का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ ।

आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनर्निर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ ।

काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

त्यसैगरी काठमाडौंको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । रासस

प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अहिले सकिँदैन भन्ने कुरा छ : मन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा गरेको सम्बोधन अनुसार सरकारले काम गर्ने बताएका छन् । आज (शनिबार) आन्दोलनका घाइतेलाई भेट्न विभिन्न अस्पताल पुगेका मन्त्री पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी पुस्ताको माग सम्बोधन गर्ने गरी सरकारले काम गर्ने जानकारी दिए ।

युवाहरूले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे अहिल्यै भन्न सक्ने अवस्था नभएको उनले बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । आन्दोलनको माग सबैलाई थाहा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे पनि, अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन दिनमा कसरी परिवर्तन हुन्छ भन्न सकिँदैन ।’

उनले घाइतेहरूको स्वास्थ्यमा सुधार आइरहेको भन्दै पढाइको चिन्ता नगर्न भन्दै आवश्यक सहयोग सरकारले गर्ने बताए । उनले तत्कालीन सरकारमा संलग्नहरूलाई कारबाही गर्नको लागि आयोग गठन गरिसकेको भन्दै त्यसैको सिफारिस अनुसार प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

ओलीले गुन्डुमै बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका छन् । भोलि गुन्डुस्थित आफ्नै निवासमा बस्ने गरी बैठक बोलाएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नु पर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ । भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली भेटघाट कार्यक्रममा उपस्थित भएका छन् । बडादसैँका अवसरमा आज (शनिबार) भक्तपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका हुन् । त्यसक्रममा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको थियो । ओलीको सम्बोधनपछि कार्यक्रम सकिएको थियो ।

सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।

दमक कार्यालयअन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजनातर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।

मन्त्री घिसिङका अनुसार, ‘सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।’

उनले भने, ‘रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्। तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।’

निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूस माग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन् । उनले कर्मचारीलाई पनि निर्देश दिएका छन् । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पुर्‍याएमा तुरुन्त जानकारी गराउन ।

ओलीको दाबी : देशलाई सही बाटोमा फर्काउने एमालेले मात्रै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउन एमाले बाहेक अरूले नसक्ने दाबी गरेका छन् । सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान आग्रह गरे ।

उनले भने, ‘देश बनाउने एमालेले नै हो । त्यसैले तपाईहरूले हरेस नखानुहोस् । सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस् । राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु ।’ उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । आज (शनिबार) युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए । त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओली आजमात्रै बाहिर निस्किएर अभिव्यक्ति दिएका हुन् ।

‘जेनजी घरैपिच्छे छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनु भएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ उनले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?’ उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरे । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।

प्रधानमन्त्रीबाट आफ्नो राजीनामाबारे यस्तो छ ओलीको भनाइ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

आज (शनिबार) भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले २३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ । त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने ।

उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन् । ‘गोली कसरी चल्यो ? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने, ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो ।’ उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए ।

‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ । म सोच्दैछु यस्तो किन भइरहेको छ । कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु । जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ ।’

भोलिपल्ट २४ भदौका दिनपनि अघिल्लो दिन जस्तो घटना नहोस् भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दुःखेसो छ । भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए ।