`

चितवन निकुञ्जमा फेरि जीप सफारी सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जीप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जीप सफारीका लागि अनुमति दिइएको हो। गत साल सञ्चालन भएका

जीपलाई मात्र यस वर्ष नवीकरण गरी जीप सफारी सुरु गरिएको हो । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मत सम्भार गरेर नवीकरणमा ल्याइएको हो । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरेको थियो ।

गएको असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जीप सञ्चालन भएका छन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जीपले निकुञ्जभित्र सफारी गर्न लागेको हो ।

माओवादीले पुस्तान्तरण प्रक्रिया थालिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन् । जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको दाहालको दाबी छ ।

‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा दाहालले दिएको शुभकामना सन्देशमा भनिएको छ ।

दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् ।’

राजमार्ग अवरोधले बढ्यो खसी–बोकाको भाउ

काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन ।

मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।

यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब रु २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष रु सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् । किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् ।

काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रीको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ।

‘अहिले बसको डिकीमा खसी बोकालाई हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन्। दसैमा काठमाडौँको बजारलाई चाहिले जति खसी बोकोको व्यवस्थापन हामीले मिलाउन कोसिस गरिरहेका छौँ ।’ काठमाडौँका टुकुचास्थित पशुचौपाया खरिद–विक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीले भने, ‘लगातारको वर्षा र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।’

काठमाडौँमा दसैँका अवसरमा वर्षेनी सिन्धुली, रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसी बोका ल्याइने गरेका छन् । भेडा च्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्षित गरी टुकुचा खसी बजारमा हालसम्म करिब नौ हजारको संख्यामा खसीबोका ल्याइसकिएको छ ।

टुकुचा बजारमा खरिदबिक्रीका लागि अहिले एक हजार बढी खसीबोका राखिएका छन् । यस वर्ष जीउँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ । बाटो अवरुद्ध भएकाकारण व्यापारी र किसानले विगतको जस्तो सजिलोसँग खसीबोका ल्याउन सकेका छैनन् ।
मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मको खसी आएको ‘रेकर्ड’ छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ ।

अझ लेकमा चरेको खसी बढी गुणस्तर हुने गर्छ । विगतको जस्तो धेरै मोटो खसीबोका खोज्ने उपभोक्ताको संख्या कम छ । अहिले दाना नखुवाएका चरनका खसी बोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वथ्य खसीलाई हरियो, बिरामी खसीलाई रातो रङ दिइएको छ ।

मुख्य नेताहरूलाई जति सकिन्छ, छिटो बिदा दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन् ।

जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलन आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएको बताए । बाम एकता र कम्युनिष्ट मोर्चाको अभियान चलाइरहेका नेता भुसालले अहिले भएका पार्टीहरु बढीमा दुई महिनाभित्र सुध्रिएनन् भने राजनीतिक दल र देशमै ठूलो क्षति पुग्ने चेतावनी दिएका छन् ।

भुसालले भने, ‘अहिलेको नेतृत्वलाई बचाउने दृष्टिकोणहरु पनि आएका छन् । तर पहिले भइरहेका कमजोरी नसल्टाई कसैको नेतृत्व स्वीकार गरेर जाने अवस्था छैन । यो मेरो पार्टीमा पनि लागू हुन्छ । ठूला साना दलमा पनि लागू हुन्छ । बहालवाला दलमा अहिलेको नेतृत्व जोगाएर जान सम्भव छैन,’ उनले भने, समग्रमा बाम एकता अभियान थालेका थियौं । माओवादी र यस मात्रै एकता गर्ने गरी मेरै पार्टीले पनि अभियान चालेको थियो । तर प्रचण्डकै नेतृत्वमा अथवा माधव नेपालकै नेतृत्वमा त्यो सम्भव छैन र हुँदैन ।’

उनले कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई नैरास्यता बनाउने मुख्य विषय भएको बताउँदै भने ‘विचारमा सिद्धान्तमा कम्युनिष्ट कस्ता हुन्छन् भनेर पढाइयो । तर व्यवहारमा त्यो गर्न सकिएन लागू भएन त्यो हाम्रो नेताहरूको जीवन शैलीलाई हेरेर अहिलेको निराशा बढेको हो । अब भ्रष्टाचार नगर्ने पार्टी होस्, भन्ने अभियान जेनजीले चलाए त्यो हामीले पनि भनेका हौं तर कार्यान्वयनमा लैजान सकेनौं ।’

भ्रष्टाचार गर्ने तर भाषामा त्यसको विरोध गर्ने नेताहरू भएकोले अहिलेको समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेका पार्टी केही महिनामै नसुध्रिए इतिहासमा सीमित रहने दावी गरे । ‘यति ठूलो दवाव आउँदा नि दलको नेतृत्व नसुध्रिए सकिने हो, त्यसको विकल्पमा नयाँले स्पेश पाउने हो,’ उनले भने, ‘मुख्य नेतृत्व नबुझ्ने छैन तर उनीहरूलाई घेराउमा राख्नेहरूले नै गलत सूचना दिए, ढाकछोप गरे, अनि सतहमा पुग्नै दिएनन् ।’

जेनजी आन्दोलनका घाइते भन्छन्–होस आउँदा देशमा उथलपुथल भइसकेछ

काठमाडौं । ‘जेनजी’  आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुन् । केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका उनी भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए ।
गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर घाइते भए। उनको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मुलुकमा भइरहेको बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेका बेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ ।
आन्दोलनमा सहभागिता, बानेश्वर घटना र आगामी सोचबारे ट्रमा सेन्टरमा उपचारमा रहेका आन्दोलनका घाइते कार्कीसँगको कुराकानीको सम्पादित अशं :
भदौ २३ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन बानेश्वरको एभरेष्ट होटलअघि बिहान ११ बजे पुग्दा सो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको रहेछ । पहिले त्यहाँ शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । तीनकुने र माइतीघरबाट आउने आन्दोलनकारीको भीड दुवैतर्फ ठूलो थियो ।
ठूलो जुलुसले निषेधाज्ञा तोड्दै संसद् भवन अगाडि पुग्यो । ‘संसद् भवन खाली गर’ भनी दबाब सिर्जना गर्ने भन्ने थियो । त्यस क्रममा प्रहरीले अश्रुग्यास हान्न थाल्यो । सुरुमै अश्रु ग्यास प्रहार भएपछि भिड रन्थनिएर आक्रमक बन्यो । युवाले ढुङ्गामुढा गर्न थाले । सुरुमा त्यो गर्ने मनसाय थिएन । त्यहाँ घुसपैठ कहाँनेर भयो थाहा भएन । हामी शान्तिपूर्ण आन्दोलन गर्ने सोचका साथ नै अघि बढेका थियौँ ।
हामी वास्तविक जेनजी जो देशको सार्वजनिक सम्पत्ति र सम्पदा नष्ट गर्नु हुँदैन भन्ने कुरामा प्रष्ट थियौँ । स्वार्थी, उदण्ड स्वभावका केही व्यक्ति आन्दोलनको मर्म र भावना नबुझ्ने र रमाइलो हेर्न गएका मानिस भने त्यसमा संलग्न भएको पाइयो । सुरक्षा फौजले हानेको त्यसबखत अश्रुग्यास टिप्दै उतै फर्काउँदै भाग्दै गर्नेक्रम चलिरहेको थियो । बार भत्काउने र संसद् भवनभित्र छिर्ने भन्ने भयो ।
त्यो दिन संसद् चल्छ भन्ने पनि सुनियो ।
भीडलाई थेग्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । अश्रुग्यास हान्ने, फर्काउने, ह्वार्रर अघि बढ्ने र आँखामा पनि छयाप्ने काम चलिनै रह्यो । एक्कासी ड्याङ–ड्याङ र भटटटट गोली चल्यो । कहाँबाट हानियो भन्ने थाहै भएन । मसँगै छेउमा रहेका साथीहरु चार÷पाँच जना गोली लागेर ढले ।
हामी संसद् भवनको दक्षिण मुल ढोकाको अगाडि थियौँ । मलाई पनि एक्कासी गोली लाग्यो, रन्थनिएँ, अनि मुटु गाँठो पर्‍यो । त्यति हुँदा पनि दौडिएँ । मलाई गोली लाग्यो भनेर साथीहरुलाई भने । त्यति खेरै रगत पनि ह्वार्र ओइरियो । त्यो देखेर साथीहरुले उचालेर एम्बुलेन्समा हाले अनि एभरेष्ट अस्पताल पुर्‍याए । त्यहाँ बिरामी राख्ने ठाउँ थिएन । भूइँमै सुताएर सोधपुछ गरे । वरपर रगतको आहाल थियो ।
साथीहरु मलाई नआत्तिनु भनेर सान्त्वना दिइराखेका थिए । संसार घुमाए जस्तो लाग्यो, बेहोस हुँला जस्तो भयो । अक्सिजन कम जस्तो भए पनि त्यो लगाइदिनु भने । अनि साथीले ट्रमा सेन्टर पठाइदिनु भयो । त्यसपछि देशका लागि यतिसम्म गर्न सकें भन्ने गर्व लाग्यो । भोलि आउने पीडिलाई राम्रो हुन्छ भने मेरो ज्यान गएर केही फरक पर्दैन भन्ने महसुस गरेँ ।
ट्रमा आएपछि साथीलाई मलाई गोली लाग्यो भनेर फोन गरे । हातै नचल्ने भयो भनी सुनाएँ । त्यसपछि दाईले मलाई फोन गर्नुभयो । त्यसपछि घरपरिवारका सबैसँग कुराकानी भयो । राति नै शल्यक्रिया भयो । होसमा आइपुग्दा सरकार परिवर्तन, राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ । सार्वजनिक सम्पत्ति जल्न हुन्थेन । कहाँबाट घुसपैठ भयो थाहा भएन । नेताहरुलाई एक हिसाबले सुकुम्बासी भए, घर न घाट भने बनाइ दियो । कतिले के–कति बदमासी गरेर सम्पत्ति जोडेका रहेछन् भन्ने छर्लङ्ग बनाइदियो ।
नेपालमा कतैबाट भगवान् आएर व्याप्त भ्रष्टाचार, अन्याय र अत्यचार अन्त्य गरिदेओस् भन्ने लागेका बेला यो विस्फोटन भएको छ । यसमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको छ । आन्दोलन सफल भएको छ । हामीले आन्दोलनमा खासगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, युवापुस्ताको नेतृत्व र सामाजिक सञ्जाललाई निस्क्रिय बनाइएकामा त्यो हटाइनुपर्छ भन्ने मुख्य मुद्दा थिए ।
अर्कातर्फ आन्दोलनमा ठूलो जनधनको क्षति दुर्भाग्यपूर्ण स्थिति भयो । युवाको शान्तिपूर्ण प्रदर्शनीमा ताकिताकि गोली हान्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ । कारबाही गरिनुपर्छ । घाइते र सहिद परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्कसहित उचित राहत प्रदान गरिनुपर्छ । घाइतेलाई रोजगारी दिलाउनुपर्छ । युवापुस्ताको माग र मुद्दाअनुरुप शासकीयस्वरुपको परिवर्तनसम्मका विषयलाई सम्बोधन हुनुपर्छ ।
अनावश्यक संरचनाको खारेजी हुनुपर्छ । जनताले नै आफ्नो कार्यकारी छनोट गर्न पाउने व्यवस्था हुनुपर्छ । विसं २०४६ पछि माथिल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन गरी अकूत सम्पत्ति आर्जन गर्नेको राष्ट्रीयकरण गरिनुपर्छ । त्यसका लागि वर्तमान संविधानलाई पनि समयसापेक्ष संशोधन गरिनुपर्छ । युवाको बलिदानबाट बनेको सरकार भएकाले युवापुस्ताले उठाएका माग सम्बोधन हुनुपर्छ।

तुइनखोलाको पहिरो पन्छाउन कम्तीमा चार घण्टा लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम जारी । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी नै छ । दुई उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाउने कार्य थालिएको छ । ‘थप पहिरो नझरे पहिरो पन्छाउन करिब तीन–चार घण्टा समय लाग्ने आंकलन गरिएको छ’, सडक डिभिजनले सोमबार (असोज १३) दिउँसो साढे १ बजे जारी गरेको सूचनामा भनिएको छ, ‘सकभर वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ।’

रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ । सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न ६ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।

उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन। आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका–७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन १५ वर्षे रणनीतिक योजना

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो ।

उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ । रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवर्द्धनमा केन्द्रित रहनेछ । दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा पुर्‍याइनेछ ।

प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’ का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्छन् ।

योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले पर्यटन विकास आयोजना, पर्यटन विकास आयोजना इकाई कार्यालय तथा चितवन र काठमाडौँमा रहेका पर्यटन कार्यालयमार्फत उक्त बजेट कार्यान्वयन गर्नेछ । रणनीतिक योजनाका आधारमा नै चालु आर्थिक वर्षका लागि मन्त्रालयका योजना र कार्यक्रम परिलक्षित रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ लक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्ने बताउँछन् । ‘पर्यटन व्यवसायीसँग सहकार्य गर्न बागमती सरकार पूर्ण तयार छ, व्यवसायीलाई परेका अप्ठयारा समाधान गर्न सरकार प्रतिबद्ध छ’, उनी भन्छिन्, ‘सरकार र निजी क्षेत्रले नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पुर्‍याउनु पर्नेछ ।’

रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमा मूर्त तथा अमूर्त सम्पदा र आरोग्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, थप हिमशृङ्खलाको पहिचान तथा आरोहणका लागि रुट अन्वेषण, एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्रको अध्ययन गरिने मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिए ।

यस्तै कला, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय तहमा हस्तान्तरण, पर्यटकीय गन्तव्य पहिचान तथा प्रवद्र्धन एवं साहसिक पर्यटन महोत्सवको आयोजनाका साथै सिन्धुपाल्चोकमा ‘र्‍याफ्टिङ स्कूल’ सञ्चालनमा ल्याइनेछ ।

‘बागमती पर्यटन डिजिटल अभियान’अन्तर्गत विश्वविख्यात ‘भ्लगर’ तथा सामाजिक सञ्जालबाट जनमत सिर्जना गर्न सक्ने ‘सेलिब्रेटी’ मार्फत प्रदेशका प्रर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ । होमस्टे सञ्चालकको क्षमता विकास, पर्यटन गाइड तथा साहसिक पर्यटन प्रवद्र्धकका लागि क्षमता विकास एवं सरोकारवालासँग छलफल र अभिमुखीकरण गरिनेछ ।

रणनीतिक योजनाले प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको मन्त्रालयका सचिव सुवेदी बताउँछन् । बागमती प्रदेशमा प्राकृतिक (चितवन र लाङटाङ राष्ट्रिय निकुञ्ज), सांस्कृतिक र धार्मिक (काठमाडौँ उपत्यका), आध्यात्मिक (पुशपति र गोसाइँकुण्ड) र साहसिक (पदयात्रा र  र्‍याफ्टिङ) पर्यटकीय क्षेत्र छन् ।

प्रदेशभित्र रहेको संघीय राजधानी काठमाडौँ उपत्यका विभिन्न कला, संस्कृति र सम्पदाको हिसाबले विश्वमाझ परिचित छ । चितवन काठमाडौँ पछाडि बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । चितवनमा खासगरी कृषि, धार्मिक, स्वास्थ्य, खेलकुद, शैक्षिक आदि पर्यटनको प्रचुर विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

बागमती प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र रहे पनि अध्यधिक केन्द्रीकरण, असमान र कमजोर पूर्वाधार, फितलो पर्यटक व्यवथापन, जलवायु परिवर्तन र प्राकृतिक जोखिम, राजनीतिक अस्थिरतालगायत कारणबाट पर्यटन विकासमा चुनौती थपिएको मन्त्रालयको विश्लेषण छ ।

 

सिन्धुलीमा बोलेरो दुर्घटना, यी हुन् घाइते (नामावलीसहित)

काठमाडौं । काठमाडौं आइरहेको बा २०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ यात्रु घाइते भएका छन् । खुर्कोट नजिकै मरिन डाइभर्सन नजिक बोलेरो दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको थियो ।

बिहान ११ः४५ मा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ भालुखोलास्थित बीपी राजमार्गमा काठमाडौंबाट धापचौकी आइरहेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । सिन्धुलीका चालक ओमबहादुर रानाले बोलेरो चलाएका थिए । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

डबल क्याप बोलेरो आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो । लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको टोली र सशस्त्र प्रहरीको विपद् बेस खुर्कोटबाट निरीक्षकको संयुक्त प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल लगेको थियो ।

हेर्नुस् घाइतेको नामावली
१) सिन्धुली गोलन्जोर ०४ का २० वर्षीया मालती खुलाल, छाती र पछाडि ढाडमा चोट (अवस्था सामान्य)
२) सोही स्थानका १७ वर्षीय भोज बहादुर थापा मगर, निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम)
३) प्रेम मगर, टाँउकोमा घाँउ चोट (अवस्था गम्भिर)
४) जम्पा खुलाल मगरको निधारमा चोट (अवस्था सामान्य)
५) सुसन मगरको निधारमा चोट (अवस्था मध्यम)
६) केदार थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
७) रोजिना थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
८) ज्ञानेन्द्र मगर, टाउको र छातीमा चोट (अवस्था सामान्य)
९) तारा बहादुर खुलाल, नाक बाँया कम्मर र छातीमा चोट (अवस्था मध्यम)
१०) नितेश मगर (अवस्था सामान्य)
११) रोश्मी मगर (अवस्था सामान्य)
१२) ओम आले मगर, छाती र ढाँडमा चोट (अवस्था सामान्य)
१३) ओम बहादुर राना (चालक), दुवै खुट्टाको घुँडामा सामान्य चोट (अवस्था सामान्य)

कञ्चनपुरका दुई पालिकामै भत्काइए १५० छाउगोठ

कञ्चनपुर । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको समन्वयमा संयुक्त रूपमा छाउगोठ भत्काइएको हो ।

कृष्णपुर–१ निगालीकी करिब ३२ वर्षीया कमला आउजीको असार अन्तिम साता छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । छाउगोठमै महिलाको मृत्यु भएपछि पालिकाले छाउगोठ नभत्काउनेलाई १० हजार जरिवाना र कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसलगत्तै छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको थियो ।

नगर प्रमुख हेमराज ओझाले छाउगोठ भत्काउने अभियान जारी रहेको बताए । ‘देशमा देखिएको विषम परिस्थितीका कारण अभियान सुस्ताएको मात्रै हो’, उनले भने, ‘दसैँ तिहारपछि पुनःछाउगोठ भत्काउने कार्य अगाडि बढाउँछौँ ।’ छाउपडी जस्तो अमानविय प्रथा अन्त्यका लागि अभियान निरन्तर जारी रहने उनले बताए ।

उनका अनुसार छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तह, विद्यालय, महिला समूह र नागरिक समाजसँग सहकार्यमा सचेतनामूलक कार्यक्रम पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको छ । ‘यो केबल कानुनी मुद्दा मात्र होइन, सामाजिक सोच परिवर्तनको विषय हो’, उनले भने, ‘महिलाको जीवन र अधिकार सुरक्षित गर्न हामीले निरन्तर काम गर्दै जानेछौँ ।’

जिल्ला प्रशासन कार्यालयले जिल्लाका नौवटै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको भए पनि हालसम्म कृष्णपुर र बेदकोट नगरपालिकाले मात्र अभियान अघि बढाएका छन् । अन्य पालिकामा भने अझै पनि महिला महिनावारी अवधिमा छाउगोठमै बस्ने प्रथा कायम रहे पनि अभियान सञ्चालन भएको छैन ।

नेपालमा छाउपडी प्रथा कानुनी रूपमा प्रतिबन्धित छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ अनुसार छाउपडी गराउनेलाई तीन महिना कैद वा ३ हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । तर कानुनी व्यवस्था भए पनि सामाजिक मान्यता, परम्परा र अन्धविश्वासका कारण ग्रामीण क्षेत्रमा अझै यो प्रथा जरा गाडेर बसेको छ । यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकार, गैरसरकारी संस्था, प्रहरी, स्थानीय तह र समुदायबीच सहकार्य अपरिहार्य मानिएको छ ।

एकै दिन एक लाख ११ हजार बाहिरिए

काठमाडौं । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् । अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिएका बताए ।

आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए । ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

कोरला नाका स्तरोन्नति र व्यवस्थित गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल–चीन सीमानाका कोरला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन्।

महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आईतबार नाकाको निरीक्षणपछि उनले स्तरोन्नतिको आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, ‘कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवद्र्धनका लागि प्रयो गर्न सकिनेछ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।’

अध्यक्ष ढकालले नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे ।

उनले भने, ‘हामीले जानकारी पायौं कि यहाँ १२ दिनअघि मात्र सुरु गरिएको भन्सार कार्यालयबाट १ अर्ब ४० करोड राजस्व संकलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।’

चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न २ दिन लाग्नेमा कोरलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो ।

माथि कोरला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रूपमा कार्यसञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायत अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो ।

गत वर्ष मात्र मुस्ताङमा करीब ७ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्यांक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरू रहेका र मानसरोवर जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरूलाई समेत सहज हुने बताए ।

माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरूलाई लगाइँदै आएको ५०० अमेरिकी डलर अव्यावहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दीगो ढंगले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रका तर्फबाट के गर्नुपर्छ, त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको पनि बताए ।

दसैंका अवसरमा तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन् । यी तीनै चलचित्र दसैँलाई लक्षित गरी आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शन भएका छन् ।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतका कलाकारले अभिनय गरेका छन् । नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए ।

उनले भने, ‘पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि त्यसको मर्मलाई बुझेर नयाँ स्वरूपमा चलचित्र तयार गरेका छौँ ।’ आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यस पटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उनले भने, ‘टेलिशृङ्खलामा अरूलाई रुवाउने हरिबहादुर पात्र चलचित्रमा भने आफै पटक–पटक भावुक बनेको छ, चलचित्रले हरिबहादुरको भावनात्मक यात्रासँगै नेपालको वर्तमान सामाजिक–राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ, खासगरी युवापुस्ताले उठाएका मुद्दा र मागसँग चलचित्रको भावना मिल्छ, शृङ्खला र मञ्चमा प्रस्तुत भएको पात्रलाई चलचित्रमा ल्याउँदा फरक गरेको छु ।’

उक्त चलचित्रको पटकथा स्वयं अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दुःखद घटना : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरे । सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’

उनले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् ।

संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’

उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताएका छन् ।

सभापति देउवाले बडादसै‌ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित भएको बताएका छन् ।

बडादशैं, २०८२ को शुभकामना दिंँदै उनले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनि कामना पनि गरेका छन् ।

दशैंलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ । घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ । विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ ।

त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिने उनको भनाइ छ । टाढाटाढा रहेका परिवारजन एकैठाउँमा भेला भई टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ । साथै, दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको छ ।

सभामुख घिमिरेले दशैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएका छन् । विद्रोहका क्रममा जीवन गुमाएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नष्ट भएका संरचना र क्षतिग्रस्त भएका निजी लगानीहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास पनि लिएका छन् ।

‘युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित छन् । हाम्रो संविधान संशोधनीय दस्तावेज भएकोले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ । लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ । यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु’, सन्देशमा भनिएको छ ।

तुइनखोलामा फेरि पहिरो, सडक दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो खसेपछि आज मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ । डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ ।

अघिल्लो साता पनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो । यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् ।

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमी कमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ ।

नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरेको पार्टीले एकताका लागि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाइएको छ ।

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् ।

साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल मन्त्रालय तानिए

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ ।

सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा, अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्व समेत हिनामिना भएको आशंका गरिएको छ ।

कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका थिए।

छानबिन समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन-अनुसन्धान गर्ने,कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।

 

देश भू–राजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको टिप्पणी गरेका छन् । तर, देशलाई ढिलोचाँडो लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्काइने उनले बताएका छन् ।

आज (सोमबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी सार्वजनिक गर्दै उनले एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिवद्ध रहेको जनाएका छन् । सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नव युवाहरूको विश्वास जित्न नसकिएको पोखरेलले स्वीकार गरेका छन् ।

‘उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं । तर, यसको अर्थ नेपाललाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन’, पोखरेलले लेखेका छन् ।

नेपालको राष्ट्रिय शक्तिलाई कमजोर बनाउने विदेशीको खेलबाट देशलाई जोगाउन नसकिएको पोखरेलको भनाइ छ । ‘हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो’, पोखरेलले लेखेका छन् ।

प्रधानमन्त्री कार्कीले यस बर्ष दशैंको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस बर्ष वडादशैंको टीका–जमरा नलगाउने भएकी छन् । जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा उनले यस वर्ष दशैंको टीका नलगाउने भएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भएता पनि हालै भएको युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ । तसर्थ, यस बर्ष सम्माननीय प्रधानमन्त्री ज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

यस्तै, ताजै युवा पुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ ।

बडादशैँको सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा हार्दिक अपील समेत गरेकी छन् ।

पूर्व सभामुख महरा र घर्तीले संसदको गाडी गरे फिर्ता

काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संघीय संसद् सचिवालयबाट पाएका गाडी सुविधा फिर्ता गरेका छन् । सरकारले सेवा निवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएको सवारी सुविधा फिर्ता गर्ने निर्णय गरेपछि उनीहरूले संसद सचिवालयलाई गाडी बुझाएका हुन् ।

पूर्व सभामुखहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संसद् सचिवालयमार्फत गाडी, इन्धन तथा चालक सुविधा दिइँदै आएको थियो । तर, असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गर्दै सेवा निवृत्त पदाधिकारीहरूलाई दिइँदै आएको सुविधा खारेज गर्ने नीति लिएको थियो ।

त्यसैअनुसार अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई आवश्यक पत्राचार गर्दै प्रचलित कानुनबाहेक दिइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मीहरू फिर्ता गर्न निर्देशन दिएको थियो । संसद् सचिवालयले सोही निर्णय कार्यान्वयन गर्न सेवा निवृत्त पदाधिकारीहरूलाई सम्पर्क गर्दा पूर्व सभामुख घर्ती र महराले सकारात्मक प्रतिक्रिया जनाउँदै आइतबार (२०७८ असोज ७ गते) गाडी फिर्ता गरेका हुन् ।

संसद सचिवालयका अनुसार, पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि दशैं बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी बुझाइसकेका छन् ।

यद्यपि, सचिवालयका अनुसार संसदको नाममा कानुन विपरीत गाडी चढ्ने अन्य पदाधिकारीहरू अझै बाँकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिवालयमा कार्यरत केही सहसचिवस्तरका कर्मचारीहरूले समेत सवारी सुविधा लिइरहेको पाइएको छ । ती गाडीहरू पनि फिर्ता गराउने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

तलब पाइएन भन्ने गुनासो सबैभन्दा धेरै मधेशबाट आयो : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको गुनासो सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको बताएका छन् ।

उनले आफूलाई तलब नखुवाएको ५०० बढी गुनासो फोन र इमेलबाट आएको जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै मधेशबाट आएको उनले लेखेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनेका भनेका छन्, ‘वर्ष दिनमा आउने दशैँ, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो ।’

शिक्षा मन्त्रालयले सबै पालिकालाई शिक्षकको तलबका पैसा पठाइसकेको मन्त्री पुनले उल्लेख गरेका छन् । ‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु’, मन्त्री पुनले लेखेका छन् ।

 

रातो पासपोर्ट र परिचयपत्र संसद सचिवालयमा बुझाउन रास्वपाका पूर्व सांसदहरूलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।पार्टीका पूर्व सांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

जेनजी प्रदर्शनपछि रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए । पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं,’ रास्वपाले भनेको छ, ‘तसर्थ यस पटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न / नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

इतिहासकै विषम अवस्थामा मुलुक : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मुलुक इतिहासकै सबैभन्दा विषम अवस्थामा उभिएको बताएका छन् । यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको बताएका छन् ।

बडादशैं २०८२ को शुभकामना व्यक्त गर्दै उनले नेपाली कांग्रेसभित्र अझै बलियो एकता आवश्यक रहेको भन्दै बलियो र एकताबद्ध कांग्रेसले नै देशलाई समस्याबाट पार लगाउने बताए ।

जनताको लामो संर्घष, त्याग, बलिदान र उत्सर्गबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको, जननिर्वाचित थलो प्रतिनिधिसभा विघटन गरिएको भन्दै यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनुपर्ने प्रमुख दायित्व नेपाली कांग्रेसमा आएको उल्लेख गरेका छन् ।

‘यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ । त्यसका लागि नेपाली कांग्रेसभित्रको अझै बलियो एकता आवश्यक छ’, उनले भनेका छन्, ‘बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ ।’

प्रतिकूलताबीच पनि सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको भन्दै अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न पनि संयम, संवाद र एकताबाटै सम्भव भएको बताएका छन् ।

‘त्यसले नै मुलुकको हित, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न तथा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ’, डा. कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसले मात्र संविधानलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन र विद्यमान चुनौतीबाट देशलाई पार लगाउन सकिने छ । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सबैलाई आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न म वडा दसैँको अवसरमा आह्वान गर्दछु ।’

डा. कोइरालाले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको प्रदर्शन र ध्वशंसँगै यस वर्षको बडादशैं फरक अवस्था र विषम परिवेशकाबीच मनाउन लागेको उल्लेख गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेका धरोहरहरू नष्ट भएको बताए ।

नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालाको निवास (विराटनगरको कोइराला निवास), ३० वर्षे पञ्चायती कालरात्रिबाट मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनको शंखघोस गरेको गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, सुशासन र सादगी जीवनका पर्याय सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा बाँडेगाउँस्थित आश्रम आगजनीबाट खण्डहरमा परिणत भएकामा दुःख व्यक्त गरेका छन् ।

डा. कोइरालाले ती खण्डहर भनवहरू केबल कसैका घर नभएर सिङ्गो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहास र हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइते राईको मृत्यु

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गए राति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।

अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चारको मृत्यु

मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको  मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम रेनीका अनुसार, सन्दिग्ध आक्रमणकारी ४० वर्षीय थोमस जेकब स्यानफोर्ड पनि मारिएका छन् । पहिलो आपत्कालीन आह्वान आएको आठ मिनेटभित्र घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूको गोलीबाट उनको मृत्यु भएको हो ।

प्रहरी प्रमुख रेनीले आइतबार साँझको पत्रकार सम्मेलनमा भने, ‘गिर्जाघरभित्र थप दुईवटा शव फेला परेका छन् ।’ आगलागीका कारण गिर्जाघर पूर्ण क्षति भएकाले अझै केही मानिसहरू बेपत्ता हुनसक्ने बताए ।

त्यही पत्रकार सम्मेलनमा डेट्रोइटका विशेष प्रतिनिधि जेम्स डेइरले प्रारम्भिक अनुसन्धानबाट सन्दिग्ध व्यक्तिले पेट्रोलजस्तो कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरी गिर्जाघरमा आगो लगाएको सङ्केत मिलेको बताए ।

रेनीले यसअघि नै घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी सात जनाको अवस्था स्थिर रहेको बताएका थिए । अमेरिकी समाचार माध्यमहरूका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंको काष्ठमण्डप नजिकै भीषण आगलागी

काठमाडौं । काठमाडौं काष्ठमण्डप नजिकै घरमा भीषण आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो । कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि सल्किएको छ । बिहान साढे ३ बजेतिरबाट आगलागी सुरु भएको स्थानीयहरूको भनाई छ ।

आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

 

चार डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ ।

हेर्नुस् सूची

एमालेकाे ठहर : सरकार राजनीतिक प्रतिशोधको बाटोमा गयो

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढेको टिप्पणी गरेको छ । आज (आइतबार) भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ । यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनामाथि काठमाठौं उपत्यका छोड्न र विदेश जान नपाउने गरी गरिएको निर्णयप्रति बैठकले आपत्ति जनाएको छ । एमालेले यही महिनाको २७, २८ र २९ गते केन्द्रीय समिति र त्यसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

 

कुलमान मन्त्री बनेर आएपछि ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेपछि मातहत निकायमा व्यापक कर्मचारी सरुवा गरेका छन् ।घिसिङले मन्त्रालय अन्तर्गत ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवस्तरका ६ जना कर्मचारीको सरुवा गरेका छन् । जसमा जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाको नौमुरे बहुउद्देश्यीय आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत नै कार्यरत कुशाङ्ग शेर्पाको सोही विभागमा योजना, कार्यक्रम तथा समन्वय महाशाखा हेर्नेगरी उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सन्दीपकुमार देवलाई मन्त्रालयमै ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डललाई आयोगको ऊऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै विद्युत् विकास विभागका उपमहानिर्देशक मनदेवी श्रेष्ठलाई विभागकै महानिर्देशकको जिम्मेवारी दिइएको छ भने जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुख रहेका सागरराज गौतमलाई मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयले थप ३५ उपसचिव र शाखा अधिकृतको पनि सरुवा गरेको छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय अर्थात् उपसचिव र राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा सूची

जेनजी वार्ता टोलीको माग : अन्तरिम संविधान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नका लागि गठित जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जेनजी वार्ता टोलीका सदस्यहरुले सो माग अघि सारेका हुन् ।

वार्ता टोलीका एक सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरेर आन्दोलनको सेफ ल्यान्डिङ गर्न चाहेको बताएका छन् । यो संविधान आफूहरूले नमान्ने उनले बताएका छन् ।

उनले भने, ‘यो संविधान यो सरकारले खारेज गर्न सक्छ । अन्तरिम संविधान लेख्न सक्ने अधिकार यो सरकारलाई छ । आन्दोलनले राजा त फालेको थियो । प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न कुनै रोकटोक हुँदैन । यो संविधानलाई मानेर सरकार बनेको होइन । यो संवैधानिक सरकार नै होइन । असंवैधानिक तरिकाले सरकार बनेको हो । अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्छ ।’

टिकटक स्टार आँचलको आत्मदाह प्रकरण : प्रेमी भनिएका एक युवक पक्राउ

काठमाडौं । २२ वर्षीया टिकटक क्रिएटर आँचल नाथको आत्मदाह प्रकरणमा प्रहरीको अनुसन्धानले नयाँ मोड लिएको छ । आत्मदाहमा उक्साएको आरोपमा प्रहरीले उनका प्रेमी भनिएका एक युवकलाई नियन्त्रणमा लिएको छ । मृतकको परिवारले सो युवकविरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गत जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार, बिहीबार काठमाडौंको जडिबुटीस्थित एक ग्यारेजमा आँचलको शरीरमा एक्कासी आगो लागेको थियो । गम्भीर रुपमा जलेकी उनलाई उपचारका लागि तुरुन्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो, तर शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, घटनास्थलको सीसीटीभी फुटेजमा उनले आत्मदाह गरेको प्रमाण भेटिएको छ । तर, उनलाई ग्यारेजसम्म कसले पुर्‍यायो र के उद्देश्य थियो भन्नेबारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युवतीमाथि मानसिक दबाबको संकेत
आँचलका टिकटक पोस्टहरू पछिल्ला केही समयदेखि निराशाजनक देखिएका थिए । चार दिनअघि उनले पोस्ट गरेकी थिइन् :-
‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो । थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ ।’

अन्य शंकास्पद व्यक्तिहरू पनि अनुसन्धानको घेरामा
पारिवारिक स्रोतका अनुसार आँचल सिनामंगल (पेप्सीकोला) क्षेत्रको डेरामा बस्दै आएकी थिइन् । छिमेकी एक महिलासँग केही दिनदेखि भनाभन चलिरहेको थियो । संयोगवश सोही महिलाले सञ्चालन गरेको ग्यारेजमै आगलागी भएको हुँदा परिवारले उनैमाथि पनि शंका गरेका छन्। यसै आधारमा प्रहरीले केही महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

युरोप जाने योजना अधुरै
कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ की स्थायी बासिन्दा आँचल युरोप अध्ययनका लागि जान लागेकी थिइन् । भिसा समेत लागिसकेको अवस्थामा यस्ता घटना घट्नु परिवारका लागि ठूलो मानसिक आघात भएको छ । प्रहरीका अनुसार आँचल अविवाहित थिइन्, यद्यपि सामाजिक सञ्जालमा उनको वैवाहिक स्थिति र सम्बन्धबारे विभिन्न चर्चाहरू फैलिएका थिए ।

भाइरल स्टारको अन्तिम दिनहरू
टिकटकमा उनका एकलाख २० हजार बढी फलोअर्स छन् । केही समयअघि एक महोत्सवमा आँचल दर्शकदीर्घामा गहिरो भावुकतामा रोइरहेको भिडियो पनि भाइरल भएको थियो ।
निष्कर्ष : युवा पुस्तामाझ चर्चित रहेकी एक सामाजिक सञ्जाल क्रिएटरको आत्मदाहसँग जोडिएको घटना केवल व्यक्तिगत पीडा मात्र होइन, समाजमा बढ्दो मानसिक दबाब, सम्बन्धको जटिलता र डिजिटल लोकप्रियतामा लुकेको एकान्तता पनि देखाउने प्रतिबिम्ब हो । यस विषयमा सत्य के हो भन्ने पूर्ण निष्कर्ष अझै आउन बाँकी छ, तर एक परिवारले चीरस्थायी क्षति भोग्नुपरेको यथार्थ भने प्रष्ट छ ।

कुलमान घिसिङको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ । प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलले जानकारी दिएका छन् । त्यस्तै जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ ।

त्यस्तै सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन् । सरकारले मुग्लिङनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको सडकको रेखाङ्कन स्वीकृत गरेको छ ।

प्रवक्ता खरेलका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पट्टी त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको हो । सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५—१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ ।

 

प्रधानमन्त्रीको कार्कीको मुख्य सल्लाहकारमा खनाल, जनसम्पर्कमा तिम्सिना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । खनाल द हिमालयन टाइम्सका पूर्व सम्पादक हुन् । उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन् ।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सामेल गरी ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो । खनाल त्यसमा कार्यकारी निर्देशक थिए। केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा थिए ।

सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनिया प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ। तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन् । विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो ।

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायो समिति, को–को छन् सदस्य ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली बनाएका छन् । समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन् ।

वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन । अरु तीन जना भने घाइते र शहीद परिवारका सदस्य रहने जनाइएको छ । वार्ताका लागि ६ बुँदो एजेन्डाहरु राखिएको छ ।

दोस्रो बुँदामा भनिएको छ, ‘आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका, गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैरन्यायिक हत्या लगायत अन्य मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने ।’

अनुसन्धानको आयोग बनाइँदा जेनजी प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने, अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र संसद विघटनको निर्णयलाई स्वीकार गर्ने बताइएको छ । हालसम्म सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुको सम्पत्तिको छानबिनदेखि न्यायापालिकालाई स्वतन्त्र र सक्षम बनाउनेसम्मका माग छन् ।

छैटौं बुँदामा भनिएको छ, ‘आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री) को निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत गरिने व्यवस्था गर्ने ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावमा रक्षा बमको सहमति छैन । उनले अन्तरवार्ताहरुमा यो व्यवस्था नेपालका लागि उचित नहुने बताइरहेकी छन् । उनीबाहेक अन्य केही सदस्यहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नरहेको दावी गरिएको छ ।

हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, आफै अध्यक्ष

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका जनाइएको छ ।

‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैं रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले सुनायो । दल दर्ताका लागि निवेदन प्राप्त भइसकेको र अध्ययनकै क्रममा रहेको जनाइएको छ ।

‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दश बिदा लगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो । धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए । मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन् ।

आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ। प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

उनी जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आएका थिए । तर, उनको नाममा सहमति जुटेन । साम्पाङले मन्त्री बन्न भारतीय दूतावास जानुपर्ने रहेछ भन्दै आफू त्यसको लागि तयार नरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

बिडारीको बिरह : यो देशमा अब मसँग कुनै घर छैन

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व संविधानसभा सदस्य रामनारायण विडारीले जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट आफू घरविहीन बनेको गुनासो गरेका छन् । आन्दोलनको नाममा भदौ २४ गते अराजक भीडले आफ्नो घरमा आगो लगाइ दिएको भन्दै उनले पीडा व्यक्त गरेका हुन् ।

‘जीन्दगीभरको आम्दानीबाट बनाएको एउटा मात्र घर थियो, त्यो पनि खरानीमा परिणत भयो’, विडारीले भने । उनका अनुसार उग्र भीडले लुटपाट गरेपछि उनलाई नाडी समातेर जबर्जस्ती घर बाहिर निकालिएको थियो । ‘चप्पल समेत लगाउन दिएनन्’, उनले दुःख सुनाए ।

विडारीका अनुसार उक्त आगजनीबाट उनको पारिवारिक अंशमा परेको घर र वर्षौंको मेहनतले संकलित ‘पुस्तकालय’ समेत पूर्ण रूपमा नष्ट भएको छ । ‘बाउले दिएको थोरै अंश, जागिरको कमाइ र कानुन व्यवसायबाट बचेको पैसाले बनाएको घर थियो, त्यो पनि छैन अब’, उनले भावुक हुँदै भने ।

विडारीले जेनजी आन्दोलनका मूल मागहरूप्रति सहानुभूति रहे पनि आफूले कुनै भ्रष्टाचार नगरेको हुँदा आफ्नो घर जलाइनु अन्याय भएको बताए । ‘यो देश सतिले सरापेको होला जस्तो लाग्छ । न कुनै अपराध, न कुनै आरोप, तर जीन्दगीभरको कमाइ आगोमा !’ उनले आक्रोश पोखे। आगो लगाउनेहरूलाई जेनजीको नाममा नछोप्न आग्रह गर्दै उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

सार्वजनिक बिदामा पनि निगमका यी १३ वटा डिपो खुला रहने

काठमाडौं । दशैंको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहने छन् । दशैंका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

जेन–जी आन्दोलनमा मृत्यु भएका महर्जनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । भदौं २३ र २४ भएको जेन–जी आन्दोलनमा मृत्यु भएका ललितपुरका बिनोद महर्जनका परिवारले १५ लाख रुपैंयाँ सहयोग प्राप्त गरेको छ ।

नेपाल सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारलाई राहतस्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँ ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर–७ स्थित मृतककै घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

१० लाख आर्थिक सहयोग र ५ लाख क्रिया तथा अन्य खर्चबापट सरकारले उपलब्ध गराएको रकमको चेक आइतबार प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेका हुन् । मृतकका आमा लतामाया महर्जनले चेक बुझेकी थिइन् । जेन–जी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

शीर्ष नेताको बिदाइ र जेन एक्सको मेन्टरिङ नै अबको बाटो : विन्दा पाण्डे

काठमाडौं । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य विन्दा पाण्डेले प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिबाट बिदा लिनुपर्ने धारणा राखेकी छन् । जेन–जी आन्दोलनको आक्रोश प्रमुख दलप्रति रहेको भन्दै त्यसको समीक्षा गरी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी हुन् ।

उनले पहिलो पुस्ताका नेतासँगै दोस्रो तहका नेताहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनले पहिलो पुस्ताको बिदाइ, जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित हुनुपर्ने तर्क गरेकी छन् ।

‘जेन–जी आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार÷आफन्त र छिमेकका त्यही समूहका युवाहरूको कुरा धैर्यपूर्वक सुने मात्र पनि पुग्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो,’ उनले भनेकी छन्, ‘ठूला दलका शीर्ष नेताप्रति उनीहरूको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ । बाँकी नेतृत्वले पनि आफूआफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रूपान्तरणसहीत आम नागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्नु हुँदैन ।’

त्यस्तै उनले सुशासनका बाधकहरूको पहिचान गर्दै आवश्यक कारवाहीको निरन्तर प्रक्रिया नै आम रूपमा लिनु पर्ने बाटो भएको औंल्याएकी छन् । ‘यसका लागि, पहिलो पुस्ताको बिदाइ अनि जेन–वाइ र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रविन्दु बन्नु जरुरी छ । युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखाइसके । जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो,’ उनले भनेकी छन् ।