काठमाडौं । जेनजी आन्दोलनपछि उपत्यकामा देखिएको विध्वंस, लुटपाट र प्रहरीमाथिको आक्रमणको अनुसन्धान क्रमशः अघि बढिरहेका बेला अदालत र प्रहरी प्रशासनका तथ्यांकले अवस्था अझै संवेदनशील रहेको संकेत गरेका छन् । एकातिर सयौं व्यक्ति धरौटी, हाजिर जमानी र साधारण तारेखमा रिहा भइरहेका छन् भने अर्कोतिर लुटिएका हतियार फिर्ता ल्याउन प्रहरी विशेष अभियान चलाएपछि उल्लेख्य उपलब्धी हात पार्न सकिरहेको छैन ।
आन्दोलनका क्रममा टिब्बतीय ओरिजनल ब्लड (टीओबी) अंकित पोशाक लगाएर प्रदर्शन गरेका तेञ्जिङ दावालाई काठमाडौं जिल्ला अदालतले पाँच लाख २० हजार धरौटीमा रिहा गरेपछि धरौटीमा छुट्नेको संख्या थपिएको छ । हालसम्म जेनजी आन्दोलनसँग जोडिएका ८५ जना अदालतको आदेशमा धरौटीमा बाहिरिएका छन् । आपराधिक उपद्रव, चोरी तथा अभद्र व्यवहार जस्ता मुद्दामा धरौटी पाउनेको संख्या क्रमशः बढ्दो अवस्थामा छ । प्रहरी तथ्यांकअनुसार, हालसम्म उपत्यकाका विभिन्न घटनामा संलग्न ठहरिएका ७४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पुर्पक्ष जानेमध्ये ३७ जना आपराधिक उपद्रव, १६ हातहतियार, ३ चोरी, १५ कर्तव्य ज्यान र १ ज्यान मार्ने उद्योग मुद्दामा छन् ।
प्रहरी हत्या र गम्भीर हिंसात्मक आक्रमणका घटनामा अभियोगित १५ जनालाई भने अदालतले थुनामै राख्ने निर्णय गरेको छ । यता, ९२ जनालाई दैनिक हाजिर जमानीमा छाडिएको छ । तीमध्ये सबैभन्दा धेरै ६७ जना आपराधिक उपद्रव, १८ हातहतियार र ४ चोरी मुद्दामा छन् । प्रहरीका अनुसार कसुर पुष्टि भएमा उनीहरूमाथि मुद्दा अघि बढ्ने छ । यसैबीच, प्रदर्शनका क्रममा देशभरका सयौँ प्रहरी कार्यालयबाट लुटिएका हतियार फिर्ता ल्याउने अभियान पनि तीव्र बनेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले हालसम्म ४१ थान पेस्तोल र ६१५ राउण्ड गोली बरामद गरिसकेका छन् । विभिन्न तस्वीर–भिडियो, गोप्य सूचना र स्थानीय टिप्सका आधारमा हतियार बोकेका वा लुकाएका व्यक्तिलाई प्रहरी पक्राउ गर्दै गएको छ ।
प्रहरीको भनाइ अनुसार, आन्दोलनमा लुटिएका हतियारमध्ये करिब ८० प्रतिशत फिर्ता ल्याइएको छ । ठूलो धागोका हतियारमध्ये केही प्रदर्शनकारीले फालेको आशंका प्रहरीको छ, जबकि केही आपराधिक समूहले लुटिएका हतियार खुलेआम बोकेर हिँड्न थालेको तथ्य पनि प्रहरी समक्ष आएको छ। यही कारण सुरक्षा निकायले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा लुटिएका हतियार नै ठूलो चुनौती बन्न सक्ने मूल्यांकन गरेको छ । देशभरका प्रहरी कार्यालयलाई हतियार खोजतलास कडा पार्न निर्देशन दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि नै ८० प्रतिशत हतियार फिर्ता आएको जानकारी दिएका थिए । तर उपत्यकामा अझै पनि केही हतियार घुमिरहेको आशंका प्रहरीले गरेको छ । जेनजी आन्दोलनका विभिन्न चरणमा देखिएको हिंसा, प्रहरी–प्रदर्शनकारीबीचको भिडन्त, हतियार लुटपाट र निरन्तर भइरहेको पक्राउ–रिहाका गतिविधिले राजधानीमा कानुनी र सुरक्षा चुनौती अझै टरेको छैन भन्ने संकेत दिएको छ ।










