जेनजी आन्दोलनमा तोडफोडमा संलग्नलाई पक्राउ नगर्न प्रहरीलाई दबाब


काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ । जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई यस्तो दबाब दिएको खुलेको छ । ‘काठमाडौंबाट प्रहरीले तोडफोड लुटपाटमा संलग्न एक सयभन्दा बढी पक्राउ गरेपछि यस्तो दबाब आयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
प्रहरीले आफैबाट लुटिएका हतियार खोज्नुपर्ने बाध्यता रहेका कारण शंकास्पद व्यक्तिहरू पक्राउ गरिरहेको छ । जेल र हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूले आक्रमण गरेको आशंकामा पनि प्रहरीले पक्राउ गरिरहेको छ । महाराजगञ्ज वृत्तमा डिएसपी भन्दै मारिएका प्रहरी जवानको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरी कार्यालयमा आगो लगाउनु पर्छ भनेर बोल्नेलाई पनि सामाजिक सञ्जालमा आएका भिडियो हेर्दै प्रहरीले धमाधम कानुनी दायरामा ल्याइरहेको अवस्थामा गृह मन्त्रालयले जेनजीको आन्दोलनमा सहभागी भएकाहरूलाई दुःख दिनु हुँदैन भन्दै पक्राउ नगर्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
यही विषयलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको देखिन्छ । मन्त्रालयले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । जसले गर्दा अहिले पक्राउ परेका केही व्यक्तिहरू पनि छुटिसकेको स्रोतको दाबी छ ।
लुटिएका प्रहरीको बर्दी लगाएर रामरमाइलो गरिरहेका व्यक्तिहरूको अनेक भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेको छ । त्यस दिन आन्दोलनकारीको भिडमा मिसिएर एक बर्खास्त प्रहरी जवान पनि प्रहरी कार्यालयमा आगो झोस्दै हिँडेका थिए । उनीहरूको गतिविधि प्रहरीलाई टुलुटुलु हेर्न बाध्य पारिएको छ ।