`

जेनजी आन्दोलनको शिकार किन भयो ओली सरकार ?

Nepal One HD ८ असोज २०८२ २१:५२
नेकपा एमाले

काठमाडौं । जेनजी आन्दोलनले देशका भौतिक सम्पदामा ठूलो क्षति मात्र पुगेन केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढल्यो । भदौँ २३ गते भ्रष्टाचार र बेथितिको विरोध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको प्रदर्शनका क्रममा १९ जनाको हत्या भएपछि २४ गते सडकमा उत्रिएका जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि बाध्य भएर ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिन पर्‍यो ।

जेनजीको आन्दोलनका क्रममा संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत र सिंहदरबारमा समेत प्रदर्शनकारीले आगजनी गरेपछि आन्दोलन नियन्त्रण बाहिर पुगेपछि ओलीले पदबाट राजीनामा दिए । यस्तै विभिन्न राजनीतिक दलको कार्यालय, नेताका घरहरू, प्रहरी चौकी समेत तोडफोड र आगजनीको निशानामा परे ।

विशेष गरी ओली नेतृत्वको सरकार ढल्नुमा उनकै अहंकार र दुई तिहाईको दम्भ भएको भन्दै चौतर्फी आलोचना भईरहेको छ । दुई तिहाई सांसद संख्याको दम्भ देखाएर प्रधानमन्त्री ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको आरोपहरु उनीमाथि लागेका छन् ।

कांग्रेस–एमाले सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटक रुप लिएको अन्य दलका नेताहरुको भनाई छ । विशेष गरी यो आन्दोलनलाई लिएर विश्लेषक तथा नेताहरुका आ–आफ्ना धारणा पनि यतिबेला सार्वजनिक हुन थालेका छन् । कसैले परिस्थितिको सही मूल्याङ्कन गर्न नसक्दा यस्तो भयावह आउन पुगेको बताईरहेका छन्, त कतिले ओलीले सम्भावित खतरालाई बेवास्ता गर्दा इतिहासमै अप्रिय घटना हुन पुगेको अड्कल लगाइरहेका छन् ।

तर यो आन्दोलन सुरु हुनुको मुख्य कारण तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु नै बन्न पुगेको छ । सामाजिक सञ्जाललाई आफ्नो दैनिक जीवनमा प्रयोग गरिरहेका युवापुस्ता एकाएक सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्दा आक्रोशित बने । धेरै सामाजिक सञ्जाल एकै पटक बन्द हुँदा अध्ययनदेखि व्यापार व्यवसायमा समेत यसको प्रयोग गरिरहेका युवाहरु आक्रोशित बन्दै सडक प्रर्दशनमा उत्रिए । जेनजी युवाले नेताका सन्तानको ऐयासी जीवन शैली र सर्वसाधरण नागरिकको दुःख र अभावबीचको अन्तर देखाउने भिडियो पोस्टहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘नेपो बेबी’ अभियान चलाइसकेका थिए । यसले पनि नेताहरुप्रति युवाको आक्रोश बढाउन ‘आगोमा घ्यू’ थप्ने काम ग¥यो । सरकारले बन्द गराएकै सामाजिक सञ्जालबाट जुटेका युवा अन्ततः तोडफोड र आगजनीको अवस्था उत्रिनेसम्मको अवस्था बन्यो ।

जसका कारण ओली नेतृत्वको सरकार आन्दोलन र युवाको आक्रोशको शिकार बन्न पुग्यो । आन्दोलनको निशानामा सदियौं पुरानो इतिहास बोकेका धरोहर सिंहदरबार, न्यायलयका भवन, जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन र सार्वजनिक सम्पत्ति बने । ठूलो जनधनको क्षति भएको यो आन्दोलनको भागिदार को हो र यसको जिम्मा कसले लिने भन्ने विषय अन्योलमा छ । जेनजीले उठाएका माग सरकारले समयमै नसुन्दा दुई तिहाइको बलियो ओली सरकार ढल्न पुग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *