`

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएहरूलाई भेट्न अस्पताल जाने भएकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने बताइएको छ। प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

 

पाँच दिनदेखि शवको पखाईमा परिवार

बाँके । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ । घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।

‘एउटै वडाका दुई होनहार युवालाई जेनजी आन्दोलनमा गुमाउनुपर्दा सिङ्गो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शव समेत पाउन नसक्दा थप पीडा भएको छ’, वडाध्यक्ष रिजालले भने । नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएको थियो । फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै मात्र काठमाडौं गएका थिए ।

सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । वडाका दुई होनहार युवा गुमाउनुपर्दा सिङ्गो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए । उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील थापा र सुलभराजका बुवा नरेन्द्र श्रेष्ठ काठमाडौ पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन् । छोराको शव घर लैजान नपाउँदा पीडा माथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो । नेपालगञ्ज–१ का सुलभराज र आयुसको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकोले अब छिट्टै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ ।

 

अन्तरिम प्रधानमन्त्रीले कहाँबाट चलाउँलान् सरकार ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनको तयारी थालिएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका छन् । अनुगमन लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतले सुनायो, ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त छ । पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।’ मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो सरकार सिंहदरबारबाटै चल्ने स्पष्ट पारेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ । राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न संघ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । जेनजीका प्रतिनिधिहरु सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात संकलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।

सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छभने आज साँझ ५ बजे ७ बजेसम्मका लागि पनि खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कफ्र्यू भने भदौ २६ गते बेलुकी ७ देखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।

काठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रुपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

निषेधाज्ञा तथा कफ्र्यू समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।

उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ । उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन पेसागत सञ्जाल (पापड) ले सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो ।

पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ ।

‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन’, पापडले भनेको छ, ‘तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।’

जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नु पर्ने पापडको सुझाव छ ।

 

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

काठमाडौं । आज (बिहीबार) अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल गर्ने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन् । आजको छलफल निष्कर्षमा पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेनजीबाट प्रस्तावित पूर्व प्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाइसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति दिएका छन् ।

जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।

दुर्गा प्रसाईंलाई जेनजी आन्दोलनमा ‘नट अलाउड’

काठमाडौँ । माइतीघरमा भोली हुने जेनजीको स्तस्फुर्त आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने तयारी रहेको छ ।

जेनजी युवाहरू मुख्यतया तीन वटा शर्तहरुलाई अघी सार्दै यो आन्दोलनमा उत्रिदैछन् ।

जस्मा पहिलो सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग रहेका छन् । जुन आन्दोलनमा दुर्गा प्रसाईँले आफूपनि सहभागि हुने घोषणा फेसबुकबाट गरेका थिए ।

तर, आज तीनकुनेमा बसेको जेन जेडका अगुवाहरूको बैठकले भने उनलाई सहभागी नगराउने निर्णय लिएको हो । प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय बैठकबाट भएको छ ।

यस अभियानका एक सदस्य आदित्य मिश्रका अनुसार ‘प्रसाईँविरुद्ध अदालतमा मुद्दा चलिरहेको हुँदा आन्दोलनमा प्रसाईँ आए नट अलाउडको ब्यानर देखाउने निर्णय भएको छ ।

यो आन्दोलन विशुद्ध जेन जेडको भएको समेत उनले दोहोर्याए । आजको बैठकमा अब आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको पनि आदित्यले बताए । जेन जेडले भोलि बिहान ९ बजेदेखि थापाथलीस्थित माइतीघर मण्डलामा आन्दोलन गर्दैछन् ।