`

अन्तरिम प्रधानमन्त्रीले कहाँबाट चलाउँलान् सरकार ?

Nepal One HD २७ भदौ २०८२ १२:५९
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनको तयारी थालिएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका छन् । अनुगमन लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतले सुनायो, ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त छ । पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।’ मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो सरकार सिंहदरबारबाटै चल्ने स्पष्ट पारेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ । राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *