जेनजी आन्दोलन : ५५ को मृत्यु, यी हुन् सनाखत भएका ४१ जना (नामावली)


काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका ५५ जनामध्ये हालसम्म ४१ जनाको मात्रै सनाखत भएको छ । यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्युसँगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । आन्दोलनका क्रममा झण्डै एक हजार पाँच सय घाइते भएका छन् ।
आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो । जेनजीतर्फ २१ जना, कैदी नौ जना, प्रहरीतर्फ तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा अन्य १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेरसहितका कारणले मारिएका छन्। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
टिचिङ अस्पतालमा १८ शवको पोस्टमार्टम
त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा अहिलेसम्म आएका ४० मध्ये १८ वटा शवको मात्रै पोस्टमार्टम भएको छ । त्यसमध्ये १४ शव मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको छ । पोस्टमार्टम भएका अन्य चार शव लिन परिवारका सदस्य नआएकाले हस्तान्तरण भएको छैन । हस्तान्तरण गरिएका १४ शवमध्ये प्रहरीतर्फका तीन छन् । पोस्टमार्टम भएका ११ जना जेनजीसहित १४ वटा शव परिवारका सदस्यले लगेका छन् ।
यी सनाखत भएका ४१ जना
जेनजी आन्दोलनमा ५५ जनाको मृत्यु भए पनि अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । श्रीयम चौलागाई, आयुष थापा (नेपालगन्ज), सुलभराज श्रेष्ठ (बाँके), बुद्धिबहादुर तामाङ (कीर्तिपुर), गौरव जोशी (धनगढी), सन्तोष विक (उदयपुर), ईश्वरबहादुर अधिकारी (वनस्थली, काठमाडौँ), योगबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को सनाखत भएको छ । उनीहरुको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
त्यस्तै साजन राई (धरान) को नेपाल कोरिया मैत्री अस्पताल र गोपाल सेढाईं (झापा) को बीएन्डसी अस्पतालमा मृत्यु भएको छ ।
यस्तै रसिद खतिवडा, छत्रमान कुसुमी (धनकुटा), राजेशसिंह गोला (भारतीय नागरिक), अनिश पराजुली (गोरखा), सन्तोष राई (उदयपुर), अर्जुन भट्ट (गोरखा), धीरज श्रेष्ठ (काठमाडौँ), देवबहादुर सुवेदी (सर्लाही), उमेश महत (सिन्धुपाल्चोक), प्रवीण गुरुङ (सङ्खुवासभा), निकिता गौतम (चितवन), अविशेक चौलागाईं (दोलखा), विजय चौधरी (सिरहा), महेन्द्र परियार (काठमाडौँ) को पनि सनाखत भएको छ ।
उनीहरुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु हो । त्यस्तै पारुहाङ उथुमी राई (धनकुटा), निश्चिल सारूमगर (अर्घाखाँची), विमल भट्ट (गोरखा) को सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सौरभकिशोर श्रेष्ठ र सुसन बोहरा (बझाङ) को केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको हो । विनोद महर्जन (ललितपुर), दिलनारायण तामाङ (काभ्रे), योगेन्द्र न्यौपाने (भक्तपुर) को एभरेस्ट अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै अभिशेक श्रेष्ठ (इटहरी), मोहन सरदार (इटहरी) को बिपी अस्पताल धरानमा मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । त्यस्तै प्रहरी सहायक हबल्दार अमृत गुरुङको बीएन्डबी, महेश बुढाथोकी (दोलखा) र सरोज खत्री (काभ्रे) को पाटन अस्पतालमा मृत्यु भएको छ । वीरसिंह धामी (बझाङ) को वीर अस्पताल र सरोज गुरुङ (भरतपुर) को पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकीको पनि सनाखतको प्रयास जारी छ ।