मन्त्री पुनको चेतावनी : दल दर्ताको होडबाजी आफैलाई पुर्ने खाल्डो, जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ
काठमाडौं । जेनजी आन्दोलनबाट देशमा वैकल्पिक राजनीतिक संस्कारको आशा देखिँदै गर्दा आन्दोलनकै अगुवाहरु दल दर्ताको ‘होडबाजी’ मा’ लागेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।
आन्दोलन सफल पार्न नेतृत्वकर्ताहरु एकता र शुद्ध उद्देश्यमा टिकिरहनु पर्ने बेलामा जेनजीभित्रकै समूह छुट्टाछुट्टै पार्टी दर्ता गराउन लाइन लागेपछि उनले सामाजिक सञ्जालमार्फत खुलेर असन्तुष्टि व्यक्त गरेका हुन् । पुनले सोमबार फेसबुकमा दल दर्तासम्बन्धी समाचार शेयर गर्दै भनेका छन्, ‘हेर्नुहोस्—१२३ दल दर्ता भइसके र ३२ दर्ता हुने प्रक्रियामा रे ! जेनजीहरू आफैलाई पुर्ने खाल्डो आफै खन्दैछन् ।’
उनका अनुसार सानोतिनो विषयमा नमिलेर छुट्टाछुट्टै पार्टी खोल्ने प्रवृत्ति न केवल आन्दोलनको मूल लक्ष्यसँग विश्वासघात हो, यो व्यवहारले फेरि पुरानै राजनीतिका ‘फटाहा’ चरित्रलाई सत्ता कब्जा गर्ने ढोका खोलिदिन्छ ।
पुनले चेतावनी दिएका छन्, ‘यस्तै ताल चलिरह्यो भने पुरानै भ्रष्ट, लोभी र जनता ठग्ने नेताहरूले फेरि शासन समाउने छन् । जेनजी आन्दोलनले लक्ष्य गुमाउँछ, अहिलेको मन्त्रिमण्डलले गरेका सकारात्मक निर्णयहरू पनि ती पार्टीहरू पुनः निर्वाचित भए उल्ट्याई दिनेछन् ।’
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणासँगै हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन् । यिनैमध्ये कतिपय पार्टी जेनजी नेतृत्वका हातबाट जन्मिएका हुन्, जसले मन्त्री पुनलाई झनै चिन्तित बनाएको छ । जेनजी आन्दोलन एकीकृत उद्देश्य वा टुक्रिएको महत्वाकांक्षा-आगामी निर्वाचनले यसको उत्तर दिनेछ ।
