`

डीएसपीपछि अब जाँचबुझ आयोगमा एसपी बोहोरा र उच्च अधिकारीहरूको बयानको पालो

Nepal One HD २१ कार्तिक २०८२ १४:०६
राजनीति

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगमा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बयान दिएका छन् । उनले आन्दोलनका क्रममा भएका सम्पूर्ण कार्यवाही ‘माथिल्लो कमाण्डको आदेशअनुसार मात्र’ भएको स्पष्ट बताएका छन् ।

आयोग स्रोतका अनुसार, तिवारीले आफ्नो कुनै पनि निर्णय व्यक्तिगत तजबिजमा नभएको र सबै निर्देशन संगठनको नीति, आदेश र तत्कालीन परिस्थितिअनुसार मात्रै कार्यान्वयन गरिएको बताएका हुन् । उनका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरुवाती चरणमा हामीले विद्यार्थीहरूको शान्तिपूर्ण जुलुस भनेर बुझ्यौँ, त्यसैले सामान्य सुरक्षा व्यवस्था अपनाइएको थियो । तर एभरेष्ट होटल अगाडि ब्यारिकेट तोडिएपछि र भिड संसद भवनतर्फ अघि बढ्न थालेपछि मात्रै बल प्रयोग गर्नुपर्‍यो ।’

तिवारीका अनुसार, सुरुवातमा प्रहरीको माइकिङद्वारा चेतावनी दिइएको थियो, त्यसपछि अश्रुग्यास प्रयोग गरिएको र अन्ततः घुँडामुनि लक्षित गरी रबरको गोली प्रहार गरिएको थियो । उनले थपे, ‘भिडले संसद भवनतर्फ धक्का दिने, पर्खाल र गेट तोड्ने प्रयास गरेपछि मात्रै गोली चलाइएको थियो ।’ तिवारीले गोली चलाउने प्रहरी टोली काठमाडौं जिल्ला प्रहरी परिसरको नभएको संकेत पनि गरेका छन् । उनका अनुसार, संसद भवन क्षेत्र जिल्ला प्रहरी परिसरको कार्यक्षेत्रभित्र नपर्ने भएकाले उनको टोलीले त्यहाँ बल प्रयोग गरेको थिएन ।

उनले भनेका छन्–सबै आदेशहरू सञ्चार सेट र मोबाइल फोनमार्फत् माथिल्लो कमाण्डबाट प्राप्त भएका थिए । ती आदेशहरूको ध्वनि रेकर्ड उपत्यका प्रहरी कन्ट्रोल रुममा सुरक्षित रहेको र त्यसको परीक्षणले आफ्ना भनाइ प्रमाणित गर्न सकिने उनले दाबी गरेका छन् ।तिवारीको बयानपछि आयोगले तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसपी अपिलराज बोहोरालाई आज बयानका लागि बोलाएको छ । त्यसपछि एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग पनि बयान लिने तयारी आयोगले गरेको छ ।

आयोग स्रोतका अनुसार, सोधपुछका क्रममा मुख्य कमाण्डरहरूलाई प्राथमिकता दिने नीति लिइएको छ । ‘बयानका नाममा फिल्डमा खटिएका सबै प्रहरीलाई तान्ने होइन’, स्रोतले भन्यो, ‘मुख्य निर्णय गर्ने तहका कमाण्डरहरूसँग कुरा गरेर घटनाका आधारभूत पक्ष स्पष्ट पार्ने हाम्रो उद्देश्य हो ।’ आयोगले अब क्रमशः आदेश श्रृंखला, बल प्रयोगका निर्णय प्रक्रिया र जिम्मेवारी विभाजनका विषयमा केन्द्रित भएर बयान लिने तयारी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *