झलनाथ पत्नी रविलक्ष्मीलाई एयर एम्बुलेन्समार्फत लगियो भारत


काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौ बजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन् ।
पत्नीको उपचारको लागि नेता खनाल आफै भारत गएका छन् । चित्रकारको अपोलो अस्पतालमा थप उपचार हुनेछ । ‘हिजो दिउँसै उहाँलाई लैजाने तयारी थियो,’ लामाले सुनाइन्, ‘तर, पासपोर्टसहितका डकुमेन्ट पनि आगोमा जलेका थिए । त्यसको प्रोसेसको लागि हिजो दिनभरि थप बस्नु पर्यो । राति मात्रै उहाँहरू उता जानु भएको हो ।’
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन् । बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो । तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।