जाँचबुझ आयोगलाई प्रहरीले बुझायो जेनजी आन्दोलनमा खटिएकाहरूको सूची
काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो । उक्त सूची प्राप्त गरेको जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए । सूची प्राप्त भएसँगै प्रहरीको बयान लिने तयारी भइरहेको उनले बताएका छन् ।
‘त्यस दिन खटिएकाहरूको सूची प्राप्त भएको छ । आज बयानका लागि हामी सूची हेर्दैछौं,’ शर्माले भने । अन्य ठाउँमा खटिएकाहरूको विवरण प्रहरी प्रधान कार्यालयसँग माग गरेको उनले बताए । बयान क–कसको हुने भन्ने यकिन भइसकेको छैन । यसअघि जाँचबुझ आयोगले बुधबार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण समेत सोधेको थियो ।
विवरण माग गर्दा समयमा उपलब्ध नगरी आयोगको छानबिनमा बाधा पुर्याएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोग गठन भएको केही दिनपछि प्रहरी प्रधान कार्यालयसँग सूची माग गरिएको थियो। तर २२ दिनसम्म पनि कुनै विवरण उपलब्ध नगराएपछि आयोगले पत्राचारबारे पुनः जानकारी गराएको थियो ।
त्यसरी पत्राचार गर्दा आयोगलाई प्रहरी प्रधान कार्यालयले आइजीपीदेखि जवानसम्म फिल्डमै खटिएको जवाफ पठाएको थियो । त्यसपछि आयोगले जाँचबुझ आयोगको मानमर्दन गरेको भन्दै किन कारबाही नगर्ने भनेर आइजीपी खापुङकै नाममा पत्र काटेको हो । जवाफमा देशभरिको सूची पठाउन समय लाग्ने बताउँदै आयोगलाई प्रधान कार्यालयले उपत्यकाको मात्रै सूची पठाएको हो ।
आइतबार नै जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरेको थियो । प्रहरीसँग सोधपुछ र बयानका लागि बोलाउनु पर्ने भएकाले इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्न भनिएको हो ।
