जेनजी आन्दोलनमा क्षतिग्रस्त तीन ठूला पार्टीका कार्यालय कसरी आए पुनः सञ्चालनमा ?
काठमाडौं । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यलयहरु आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यलयमा तोडफोड तथा आगजना गरे । आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए ।
आगजानीले भवन जीर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यलयमा राजनीतिक दलहरुले सरसफाई गरेर आफ्ना नियमित कामहरु गर्न थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको काम समेत थालनी गरिसकेको छ । राजनीतिक दलहरुले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यलय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।
नेकपा एमालेका केन्द्रिय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार पार्टी कार्यालयमा रहेको सबै भौतिक सामान र पार्टीका दस्तावेज आगोले नष्ट भएका छन् । उनले करिव १० करोड बराबरको सामाग्री र भवनको क्षति भएको बताए । उनले कार्यालय सञ्चालनको लागि आवश्यक कम्प्युटर तथा अन्य आवश्यक सामग्री खरिदको लागि प्रवासमा रहेको पार्टीका सदस्यहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरेको बताए । भवन पुनर्निर्माणको लागि क्षतिग्रस्त भवनको इन्जिनियरिङ जाँच भइसकेको उनले जानकारी दिए । उनकाअनुसार ६ वटा कोठाहरु पूर्णरुपमा नोक्सान भएका छन् । यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माणको काम सक्नेगरी काम अगाडि बढाइएको कार्यलय सचिव डा. अधिकारीले जानकारी दिए ।
उनले भने, ‘हामीले पुनर्निर्माणको लागि सबैभन्दा पहिला भवनलाई इन्जिनियर साथीहरुबाट भवनको परीक्षण गरायौँ । भवनको परीक्षण गराईसके पछाडि हाम्रा ६ वटा कोठाहरु आगजानीका कारणले पुरै ड्यामेज भएको स्थिति छ । त्यसलाई आगजानीको कारणले ड्यामेज भएको भवन निर्माणको लागि उहाँहरुले विशेष किसिमको तरिका अपनाइरहनु भएको छ । अरु आगलागीबाट भएका क्षतिको बारेमा हामीले भवनलाई पुननिर्माण गरेर अगाडि बढाउन लागिरहेका छौँ । काम शुरु भईसकेको छ ।’
उनले हालै पार्टीको सहयोगी दाताहरुको सहयोगमा पार्टी प्यालेसमा केन्द्रिय समितिको बैठक सम्पन्न गरेको जानकारी दिए । उनले पार्टीको महाधिवेशन आउन लागेकाले अस्थायी रुपमा कार्यलयमा टेन्ट हालेर संगठनको काम थालिएको बताए । उनकाअनुसार एमालेको महाधिबेशन आउन ७ हप्ता मात्रै बाँकी छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात सरसफाई गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइएको बताए । उनले हाल झ्याल–ढोका परिवर्तन गर्ने, रंगरोगन गर्ने लगायतका कामहरु भईरहेको जानकारी दिए । निर्माणाधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठकहरु सञ्चालन गरिरहेको उनको भनाई छ । उनकाअनुसार जनवर्गीय संगठनहरुको सहयोग र केन्द्रिय कार्यलयको संयोजनमा मर्मत कार्य भइरहेको छ । उनले पार्टीका डिजिटल डाटा, सदस्यता प्रणाली, वेवसाईट तथा मोबाइल एपलाई अपग्रेड गर्ने कार्यहरु एउटा कोठाबाट भइरहेको जानकारी दिए ।
उनले भने, ‘कार्यलयलाई हामीले अभियानकै रुपमा रंगरोगन गर्ने, जहाँ जहाँ जलेको छ, त्यहाँ बनाउने । यहाँ हामी जहाँ बसेका छौँ, यो सबै जलेको ठाउँ हो । यसलाई हामीले झ्याल ढोका चेन्ज गरेर, रंगरोगन गरेर अब यो निर्माणाधीन नै छ । यसमा केही कोठाहरु, रिसेप्सन लगायत बन्दैछ । मिटिङ हललाई पनि हामीले यहीँबाट सञ्चालन गरेका छौँ ।’
मुख्यसचिव पुनले आगजानी तथा तोडफोठबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए । उनले कार्यालयको सबैभन्दा तल्लो तला, आवास क्षेत्र, ग्राउण्ड फ्लोर र पहिलो तला निकै क्षति भएको जानकारी दिए । रेट्रोफेटको डिजाईनको काम इन्जिनियर टोलीले गरिरहेकोले छिट्टै पुनर्निर्माण सम्पन्न गर्ने उनले बताए । उनले भने, ‘कार्यालयको सबभन्दा तल्लो तला, आवास एरिया, ग्राउण्ड फ्लोर, पहिलो तला निकै क्षति भएको छ । रेट्रोफेटको डिजाईन हाम्रो इन्जिनियर टोलीले गरिरहेको छ । यसलाई हामीले पुनर्निर्माण गर्दै यो कार्यलयलाई नयाँ ढंगले कसरी लान सकिन्छ, कसरी बनाउन सकिन्छ भन्ने बारेमा अबको पार्टीको सचिवालयको बैठकबाट निर्णय गरेर त्यसलाई हामी अझै अगाडी बढाउँछौँ ।’
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले कार्यलयमा भएका सबै समान लुटपाट भएको बताए । उनकाअनुसार दुई कोठामा तोडफोड र आगो लगाइएको छ भने ल्यापटप, कम्प्युटर, कुर्सी–पंखा सबै लुटिएको छ । पार्टीका आवश्यक कागजातहरु जलेर नष्ट भएका छन् । उनले प्रारम्भिक मूल्याङ्कन गर्दा करिव १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनले हाल सहयोगी दाताहरुसँग चन्दा संकलन गरी कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।
उनले भने, ‘हामी अहिले पार्टीलाई जेनतेन यसो भएका पुराना समानहरु जोडजाड गरेर, साथीभाइसँग भएका सामानहरु जोडजाड गरेर चलाइरहेका छौँ, अहिले हामीले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ । मर्मतसम्भार शुरु भएको छैन । अहिले हामीले भएका चीजलाई जोडेर मात्रै चलाईरहेका छौँ । अब यो सबै समाल्न र हाम्रो क्षति नै हेर्दा अस्ती सामान्य मूल्याङ्कन गदौखेरी झण्डै एक करोड २५ लाख बराबरको सामान लुटेर लगेको र क्षति भएको देखिन्छ ।’ उनले कार्यालय भाडाको घरमा रहेकोले घरको मर्मत सम्भार गर्ने जिम्मेवारी पनि पार्टीको नै रहेको बताए । एकीकृत समाजवादी पार्टी राजावादीहरुको आन्दोलनका क्रममा पनि क्षति भएको थियो । राजावादीको आन्दोलनका क्रममा क्षति भएको घर मर्मत गर्न २४ लाख रुपैयाँ
लागेको उनले जानकारी दिए । हाल त्यो भन्दा बढी क्षति भएकोले मर्मत लागत बढ्ने उनको भनाई छ । राजनीतिक दलहरुले आफ्ना पार्टी कार्यालयहरुको पुनर्निर्माण आफै गर्न थालेका छन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव भट्टराई पुनर्निर्माणको काम क्षति विवरण संकलन गरेर सरकारले गर्नुपर्ने भए पनि हालसम्म त्यसो हुन नसकेको बताए । सहयोगी तथा दाताहरुसँग चन्दा संकलन गरेर दलहरुले कार्यालय पुनर्निर्माण तथा सञ्चालन थालेका छन् । – न्युज एजेन्सी नेपाल
