नख्खु कारागारमै पुगेर आयोगले गर्यो रविसँग सोधपुछ : ‘थुनामुक्त पत्र’ बारे के भन्छन् जेलर ?
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन, आगजनी र कारागार तोडफोडका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोग सोमबार नख्खु कारागार पुगेर अनुसन्धानमा जुटेको छ । आयोगको टोलीले कारागारको अवस्थाको निरीक्षण गर्दै कैदीबन्दीहरूसँग विस्तृत कुराकानी गरेको छ । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि आयोगले प्रत्यक्ष सोधपुछ गरेको हो । लामिछाने हाल सुप्रिम सहकारी प्रकरणमा थुनामा छन् । उनी भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागारबाट बाहिर निस्किएको विषयमा विवादित बनेका थिए । कारागार प्रमुख सत्यराज जोशीको ‘थुनामुक्त पत्र’ को आधारमा निस्किएको दाबी गर्दै लामिछाने आफैं केही दिनपछि जेल फर्किएका थिए ।
आयोगको काठमाडौं–केन्द्रित अनुसन्धान सुरु
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले उपत्यका बाहिरका तथ्यतथ्य संग्रह सकेर अहिले काठमाडौं केन्द्रित अनुसन्धान थालेको हो । आइतबार आयोगले नख्खु कारागार प्रमुख सत्यराज जोशीको बयान लिएर सोधपुछ प्रारम्भ गरेको थियो । जोशीलाई आयोगले सोधेको पहिलो प्रश्न नै थियो, ‘रवि लामिछानेलाई बाहिर निकाल्न पत्र लेखिएको थियो कि थिएन ?’
जोशीले बयानमा भनेका छन्, ‘कारागार चारैतिरबाट भीडले घेरेको थियो, सुरक्षाकर्मीहरू थाकेका थिए, अनि केही कैदीबन्दीहरूलाई परिवारको जिम्मा लगाउने निर्णय भइरहेको थियो । यहीबीच लामिछानेका नाममा एउटा पत्र ल्याएर हस्ताक्षर गर्न दबाब दिइयो । ज्यान समेत तलमाथि हुने अवस्था देखेपछि व्यहोरा नहेरी हस्ताक्षर गर्नुप¥यो ।’ उनका अनुसार, २३ र २४ भदौको स्थिति ‘नियोजित जस्तै’ देखिएको थियो । प्रधानमन्त्रीले राजीनामा दिएको र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म तोडफोड र आगजनी भएका खबर बाहिरिएपछि कारागारभित्रकै वातावरण विस्फोटक बनेको उनले बयानमा उल्लेख गरेका छन्।
रवि लामिछानेसँग आयोगको सोधपुछ
आयोगले सोमबार कारागारमै पुगेर लामिछानेलाई सोधपुछ गरेको हो । स्रोतका अनुसार, आयोगले उनलाई कारागारबाट बाहिर निस्कनुको कारण, जेलरको पत्रको सत्यता, र प्रशासनिक प्रक्रियाबारे विस्तृत प्रश्नहरू सोधेको थियो । लामिछानेले आफूले ‘कानूनी प्रक्रियाअनुसार निस्किएको’ पुनः दाबी गर्दै अहिले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘देशले न्यायको प्रतिमूर्ति सुशीला कार्कीलाई प्रधानमन्त्री पाएको छ । अब अन्याय हुने छैन भन्ने विश्वासका साथ म कारागार फर्किरहेको छु ।’ उनी आफ्नै जन्मदिनकै दिन पुनः नख्खु फर्किएका थिए ।
कारागार तोडफोड र फरारको कथा
आयोगका अनुसार, नख्खु कारागारमा २४ भदौको बिहानैदेखि स्थिति बिग्रँदै गएको थियो । भीडले ढुंगा प्रहार गर्दै पर्खाल तोड्ने प्रयास गरेपछि केही कैदीबन्दी फरार भएका थिए । त्यस क्रममा जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साह ‘टक्ला’ लगायत कैदीहरूको पनि उल्लेख आयोगको प्रश्नसूचीमा परेको छ । जोशीका अनुसार, केही कैदीहरू स्वतः फर्किए भने केही अहिले पनि फरार छन् ।
आयोगलाई तीन महिनाको समय
५ असोजमा मन्त्रिपरिषद्ले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ । आयोगले हालसम्म विभिन्न जिल्ला भ्रमण गरी घटनास्थलको अध्ययन गरेको छ र अब राजधानीका प्रमुख घटनामाथि केन्द्रित अनुसन्धान गर्दैछ ।
जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ— गोली प्रहार, आगजनी र कारागार तोडफोडका क्रममा धेरैजसो ज्यान गएको थियो । आयोगले प्रहरी मुख्यालयलाई भदौ २३–२४ का जिम्मेवार प्रहरी अधिकृतहरूलाई उपत्यका नछाड्न सर्कुलर जारी गर्न समेत निर्देशन दिएको छ ।
