`

‘टीओबी’ सदस्य पेस्तोलसहित जेनजी आन्दोलनमा पुगेका हुन् ? प्रहरीले थाल्यो खोजी

Nepal One HD २६ असोज २०८२ १६:३४
बिशेष

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टिओबी (तिब्बतीयन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ । तस्वीरमा देखिएका युवकको प्रहरीले खोजी थालेको छ । केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो ।

यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एक युवकले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरी समेत गम्भीर बनेको छ । उक्त फोटो र यससँग सम्वन्धित फुटेजहरु संकलन गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् । ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उनको भनाइ छ ।

‘उक्त तस्वीरमा देखिए जस्तै ती व्यक्तिले साँच्चै पेस्तोल बोकेका हुन्÷होइनन् यकिन भएको छैन । तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन । यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् । तस्वीरमा देखिएको स्थान बिजुलीबजार पुल हुन सक्ने अनुमान गरिएको छ । टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्वीर सक्कली भएको आँकलन प्रहरीको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *