एउटा छोरो पनि शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु : गणेश चौलागाईं


काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेशप्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् ।
‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको ।’
उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफैले सम्हाल्नु पर्छ । ‘हामी आफैंले तय गरौं कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔं, मन्त्रीहरूलाई भेटौं, अनि हाम्रो आवाज राखौं । सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौं,’ उनले भने ।
चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन, अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’ उनले जेनजी आन्दोलनको नेतृत्व सम्बन्धी अन्योल हटाउन पनि आग्रह गरे । ‘पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,’ चौलागाईंले भने ।
उनले थपे, ‘अब देश बनाउने काम सबै मिलेर गरौं । युवाहरूले रोजगार पाउनुपर्छ । तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ। जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो ।’
चौलागाईंले असोज १८ गते शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिए । सबै शहीद परिवारका प्रतिनिधिहरूलाई पनि सिंहदरबार अगाडि भेला हुन उनले आग्रह गरेका छन् ।
गणेशले अब शहीद परिवारहरूका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न संघर्षका कार्यक्रमहरू आयोजना गर्ने बताए । उनले भने, ‘शहीदहरूको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भए पनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भए पनि लड्छु ।’
आफ्नो छोरा शहीद भएपछि बाथरुममा पसेर घण्टौंसम्म रोएको बताएका उनले श्रीयम वानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीले गोली बर्साएको सुनाए । ‘मेरो छोरा सरहका युवाहरूलाई गोली हान्न लगाउने त्यसबेलाका सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानबिन आयोग बनाउनु पर्छ । ती सबै पशु हुन् । यिनीहरूले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’
इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट) अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए । बुबा–आमाको बुढेसकालको सहारा थिए ।