जेनजी आन्दोलन आपराधिक मानसिकताका व्यक्तिका कारण हिंसात्मक बन्यो : गृहमन्त्री अर्याल


काठमाडौं । जेनजी आन्दोलन आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,’ मन्त्री अर्यालले भने । त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको पनि उनले बताएका छन् । ‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ’ मन्त्री अर्यालले भने ।