`

दोलखाको हिम पहिरोमा घाइते चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

Nepal One HD १८ कार्तिक २०८२ ११:०१
समाचार

काठमाडौं । रोल्वालिङ हिम क्षेत्रको ‘यलुङ रि’ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले सोमबार रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर चार जना विदेशी नागरिक मात्रै बेपत्ता भएको जानकारी दिएका छन् ।

दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्प नजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर, डीएसपी महतोले अहिलेसम्म चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको पुष्टि गरे । ‘ती चारै जना विदेशी आरोही हुन्,’ उनले भने, ‘बेपत्ता हुनेमा नेपाली छैनन् भन्ने सूचना हामीले पाएका छौँ ।’ घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको उनले बताए ।

‘हिम पहिरोमा परेर घाइते भएका चार जनालाई घटनास्थलबाट उद्धार गरेर आज बिहान उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाएका छौँ,’ उनले भने, ‘तीनवटा डेथबडी अहिले पनि घटनास्थलमै छ ।’ प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतिर गएको भए पनि आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको उनले बताए ।

हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सात विदेशी गरी जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ । हिम पहिरोमा परेर घाइते भएका चार जना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए । उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो । मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *