`

बेथितिबाट भाग्ने होइन, देश आफैले बस्नलायक बनाउने हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको अन्त्यका लागि डटेर अघि बढ्नु पर्ने बेला आएको स्पष्ट पारिन् । त्यस अवसरमा उनले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरुलाई आग्रह गरिन् ।

विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरु राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो । उनले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरुले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताइन् । उनले उच्च शिक्षा प्रदायक संस्थाहरुलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरु सबै अझै गतिशील हुन जरुरी छ । यस खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकोस् । तपाईहरुले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तिगत तथा राष्ट्र निर्माणमा भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

उनले भनिन्, ‘यहाँहरुलाई जाँदाजाँदै मेरो विशेष अनुरोध छ–यो देश हाम्रो हो । हामी आफैले बनाउने हो । हामीले नै देशलाई बस्न लायक बनाउने हो । हामीले नबनाए कसले आएर बनाई दिने हो र । यहाँका तमाम बेथितिबाट भाग्ने होइन । हामी आफैले डटेर सामना गर्नु पर्दछ । आफू बसेको ठाउँ आफैले सफा गर्नु पर्दछ । तसर्थ, यहाँहरु सकेसम्म नेपालमा नै केही गर्नुहोस् । नेपालमा नै अवसरहरुको पहिचान गर्नुहोस् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् । जहाँ गए पनि नेपालले गर्व गर्नसक्ने नागरिक भएर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नु पर्ने समेत बताइन् ।

 

प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रीपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बैठक बोलाएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । साथै, आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विषयमा पनि छलफल भई आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् । आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् ।

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लगिदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो । उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ ।

यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।

सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

 

 

 

प्रधानमन्त्री कार्कीका श्रीमान अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदी स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार भर्ना भएका सुवेदीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।

सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेटवार्ता, दिइन् बुद्धको तस्वीर उपहार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियान-दलका संरक्षक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । उनीहरुबीच शान्ति, निर्वाचन र माग–सम्बोधनलाई केन्द्रमा राखेको कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै पक्षले संवादलाई निरन्तरता दिने, असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्ने र निर्वाचन प्रक्रियालाई जिम्मेवार ढंगले अघि बढाउने समझदारी गरेका छन् ।

प्रधानमन्त्री कार्कीले देश हाल कठिन अवस्थाबाट शान्ति–सुव्यवस्थातर्फ फर्किएको उल्लेख गर्दै अब अस्थिरता र अशान्ति धान्न नसक्ने बताइन् । ‘सबै खालका संशय चिर्दै मुलुक निर्वाचनको माहोलमा प्रवेश गरेको छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ, ‘यो देश मेरो पनि हो भन्ने भावनाले सबै पक्ष जिम्मेवार बन्नु पर्छ ।’ उनले प्रसाईंलाई आफ्ना मुद्दा लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट राख्न र आवश्यक परे चुनावमार्फत अनुमोदन गराउन सुझाव दिइन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने सन्देशका रूपमा भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी थिइन् । साथै, भ्रष्टाचार नियन्त्रण र शोषित–पीडितलाई न्याय दिलाउने दिशामा सरकारले आधार तयार पार्दै गएको उल्लेख गर्दै उठाइएका जायज मागबारे गृहकार्य भइरहेको बताइन् । ‘नतिजा रातारात नदेखिए पनि प्रक्रिया अघि बढेको छ’, उनले भनिन्, ‘कतिपय मागको सम्बोधनका लागि थप छलफल गरौँ ।’

यसअघिको भेटमा दुर्गा प्रसाईंले प्रधानमन्त्रीसँग आफूले बाहिर सार्वजनिक रूपमा बोलेका केही अभिव्यक्तिप्रति माफी माग्दै दुर्गा माताको मूर्ति उपहार दिएका थिए । उनले प्रधानमन्त्रीलाई ‘दुर्गा माताको रूप धारण गरेर दृढतापूर्वक काम गर्न’ आग्रह गर्दै सरकारको साथमा आफूहरू उभिने प्रतिबद्धता जनाएका थिए । ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु’, मंसिर २२ गतेको भेटमा उनले भनेका थिए, ‘यो सरकारको पक्षमा सगरमाथा जस्तै अटल भएर उभिन्छौँ ।’
प्रसाईंले यसअघिका सरकारहरूले आफ्ना माग सुन्न नचाहेको गुनासो गर्दै अहिलेको सरकारले संवादका लागि ढोका खोलेकोमा धन्यवाद दिएका थिए ।

‘प्रधानमन्त्रीको टेबुलमै आएर माग राख्न पायौँ’, उनले भनेका थिए, ‘माग पूरा भए देशभर खुशीयाली छाउनेछ र सडक आन्दोलनको आवश्यकता पर्ने छैन ।’ प्रधानमन्त्री कार्कीले पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै उद्देश्यले सरकार बनेको स्पष्ट पार्दै, प्रसाईंले उठाएका कतिपय माग जेन–जी आन्दोलनका क्रममा उठेकै भएकाले तिनको सम्बोधन राज्यको दायित्व भएको बताएकी थिइन् । यद्यपि, ऋण मिनाहा जस्ता विषय राज्यले वहन गर्न सक्ने क्षमता र प्रभावका आधारमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने धारणा उनले राखेकी थिइन् ।

प्रधानमन्त्रीले आज ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न लागेकी हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।

सरकारले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा प्रमुख तीन दलका नेतासँग छलफल गर्न लागेको हो । यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै नेतालाई छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

केही दिन पहिले राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरूप प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्रीले भोलि (शनिबार) का लागि वैठक बोलाएकी हुन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।

मुलुक बंगलादेश नबनोस् : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् । बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको उनले बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् । आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको बताइन् ।

उनले भनिन् ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सी छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौं भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौं ।’

उनले भनिन्, ‘त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्यधारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नु हुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।’ प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको बताइन् ।

 

 

कुलपति व्यवस्था पुनरावलोकनतर्फ सरकार, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्ने दिशामा सरकार गम्भीर परामर्श र गृहकार्यमा जुटेको स्पष्ट पारेकी छन् । उच्च शिक्षामा बढ्दो दलीय हस्तक्षेप र यसको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस्तो आवश्यकता बोध भएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गरी प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक प्रशासनमा हुने अनावश्यक राजनीतिक हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले ठूलो संरचना र विद्यार्थी संख्या मात्रले गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने उल्लेख गर्दै प्राध्यापक–विद्यार्थीको सन्तुलित अनुपात, गुणस्तरीय अध्यापन र उच्चस्तरीय अनुसन्धान तथा प्रकाशनमा जोड दिनुपर्ने बताइन् । यसका लागि प्राध्यापक, विद्यार्थी र विश्वविद्यालय व्यवस्थापन सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने उनको धारणा थियो ।

उनले नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश जान बाध्य भइरहेको सन्दर्भ उल्लेख गर्दै देशभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउन समयानुकूल, व्यावहारिक र नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् । साथै, शिक्षामा सरकारी लगानी बढाउन पनि जरुरी रहेको बताउँदै विश्वविद्यालयलाई राजनीतिक अखडाभन्दा ज्ञान र बहसको थलो बनाउने सामूहिक प्रयास आवश्यक रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थाबारे पुनरावलोकन गर्दै वैकल्पिक र प्रभावकारी मोडेल खोज्ने विषयमा सरकार अघि बढिरहेको संकेत उनका अभिव्यक्तिले दिएको छ, जसले आगामी दिनमा नेपालको उच्च शिक्षा प्रणालीमा संरचनागत परिवर्तनको आधार तयार हुन सक्ने देखिन्छ।

प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको छ । अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिनेछ ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन् । प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेन–जी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीले पार्टी र निर्वाचन आयोगसँग छलफल गर्दै, कुन दलबाट को–को जाँदै ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । छलफलमा गृह मन्त्रालयका अधिकारी र निर्वाचन आयोगको प्रस्तुतीकरण रहनेछ । छलफल दिउँसो १ बजे सिंहदरबारमा हुनेछ ।छलफलमा राजनीतिक दलबाट दोस्रो तहको नेताहरूले सहभागी जनाउने भएका छन् ।

एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन र राजेन्द्र पाण्डे, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम जाने तय भएको छ । फागुन २१ को चुनावलाई केन्द्रित गरेर पछिल्लो समय प्रधानमन्त्रीले राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरिरहेकी छन् । तर अहिलेसम्म शीर्ष तहका नेताहरूसँग भने भेट गरेकी छैनन् ।

बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न समेत आग्रह गरिन् ।

‘हामी चुनाव गराउनै लागिरहेका छौं । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौं । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’

नेता नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भन्दै शुभकामना दिएका छन् । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस् ।’ प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ ? भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने बताएकी छिन् । ‘चुनाव हुन्छ । तयारी अवस्थामा रहनू । तपाईहरू जस्तो युवा आउनु पर्छ र देशको बागडोर सम्हाल्नु पर्छ । अनि मात्र देशमा केही न केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनु पर्छ । देश युवाले नै हाँक्नु पर्छ । युवामा साहस हुन्छ, ऊर्जा हुन्छ । उसले साहसिक पाइला पनि चाल्न सक्छ ।’

नेम्वाङले इलाममा बाढी–पहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।

प्रधानमन्त्रीको प्रस्ताव : सरकारी कर्मचारीले हप्तामा एक दिन मौलिक पोशाक लगाउने कि ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने छाड्न नहुनेमा जोड दिएकी हुन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उनीहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनु पर्छ । बरु सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’, प्रधानमन्त्री कार्कीले भने । त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गरे ।

मिराजको प्रश्न : सुशीला कार्की ज्यू के गर्न प्रधानमन्त्री हुन आउनु भएको हो ?

काठमाडौं । जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार ‘जेनजी आन्दोलनको एक सय दिन : उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतका कुनै पनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राखे । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा हामीले कुनै पनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन ।’

उनले भने, ‘जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्की ज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनु भएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’ उनले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गरे ।

नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताइन् ।

आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको उनले बताइन् । उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताइन् ।

उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेण्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

उनले भनिन्, ‘त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताइन् । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन् । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भुमिका उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् ।

 

 

 

 

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु पर्दछ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन् । प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन् ।

को हुन् सुशीला कार्कीले मन्त्री बनाउन लागेका चार नयाँ अनुहार ?

काठमाडौं । आधा कार्यकाल पुरा गरेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (शुक्रबार) बाट चार नयाँ मन्त्री थपिँदै छन् । सरकार गठनको तीन महिनापछि कार्कीले शुक्रबार चार मन्त्री थप्न लागेकी हुन् । जसमा श्रद्धा श्रेष्ठ, कुमार इङनाम, राजेन्द्र सिंह भण्डारी र माधव चौलागाईं छन्।

श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र चौलागाईंले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँदै छन् । चौंथो पटकको विस्तारसँगै सरकारमा अब १४ मन्त्री हुनेछन् । उनीहरूको आजै ३ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको कार्यक्रम हुँदैछ ।

को हुन् थपिँदै गरेका चार मन्त्री ?
महिला मन्त्रालयको जिम्मा पाएकी श्रद्धा श्रेष्ठ यसअघि नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक थिइन् । उनी बोर्डमा ब्रान्डिङ शाखामा रहेर काम गरिसकेकी छन् । उनी यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि प्रतिष्पर्धा गरेकी थिइन् । बोर्डमा उत्कृष्ट काम गरेको भन्दै श्रेष्ठले अमेरिकी सरकारले प्रदान गर्ने १० महिने हफ्रे फेलोसिप पाएकी छिन् । चौलागाईं लेखक, गीतकार र जनस्वास्थ्यविज्ञ हुन् । कर्णालीविज्ञका रूपमा चिनिने चौलागाईं ‘मान्ठ हुँम मान्ठ’ गीतका रचनाकार हुन् । जुम्लाको सिञ्जा क्षेत्रका चौलागाईं जनस्वास्थ्यविज्ञ हुन् ।

अध्ययन अनुसन्धानमा सक्रिय चौलागाईं कर्णाली क्षेत्रका मुद्दालाई केन्द्रसँग जोड्ने र बहस गर्ने अभियानमा सक्रिय छन् । उनको ‘सपादलक्ष कर्णाली’ पुस्तक पनि प्रकाशित छ । कर्णालीको इतिहास मात्र होइन, अवसरलाई पनि बताउने उक्त पुस्तक शिलापत्र वर्षपुस्तकको सूचीमा मनोनयन समेत भएको थियो । चौलागाईं कर्णालीमा हुने ‘कुडा कर्णाली उत्सव’को विशेष पहलकर्ता पनि हुन् ।

थपिएका मन्त्रीमा भण्डारी पूर्व प्रहरी हुन् । उनले प्रहरीमा पूर्व अतिरिक्त महानिरीक्षक भएर काम गरिसकेका छन् । उनी केन्द्रीय अनुसन्धान विभागका संस्थापन प्रमुख पनि हुन् । भूमि व्यवस्थामन्त्री इङनाम कानुनका प्राध्यापक र विज्ञ हुन् । काठमाडौं स्कुल अफ लमा प्राध्यापन गरिसकेका उनले वित्तीय अपराध, अन्तर्राष्ट्रिय व्यापारका विषयमा पुस्तक लेखेका छन् । शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीमा नियुक्तिका निम्ति उनीहरूका नाम सिफारिस गरिएको हो ।

 

 

आधा कार्यकालपछि मन्त्री सिन्हाको मन्त्रालय परिवर्तन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आधा कार्यकाल पार गरेपछि आज (शुक्रबार) चार नयाँ मन्त्री थपिने भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिने भएको छ । आज कुमार इङनामलाई भूमिमन्त्री बनाउने भएकाले सिन्हाको मन्त्रालय परिवर्तन गरिने भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सट्टामा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

आज भूमिमन्त्री इङनामसँगै माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेड पाएको चुनावी सरकार कार्यकालको मध्यतिर आइपुग्दा मन्त्री थप्न लागिएको हो । आज चार मन्त्री थपिएपछि कार्की नेतृत्वको क्याविनेट १४ सदस्यीय बन्नेछ ।

आज चार मन्त्री थपिँदै, आजै शपथ

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन् । उनले चार जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागेकी छन् । श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । नव नियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ । जसअनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्री बनाइनेछ । उनीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।

 

 

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नागरिकले भय, प्रलोभन वा दबाब बिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताइन् ।

फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको प्रधानमन्त्री कार्कीको दाबी छ । समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरिन् । निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने बताइन् । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन आग्रह गरिन् । उनले निर्वाचन लोकतान्त्रिक अनुष्ठान भएकाले यसलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न समेत अनुरोध गरिन् ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौति भ्रष्टाचार भएको बताइन् । उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभइ विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताइन् । सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनवद्धता व्यक्त गरेको बताइन् । पारदर्शिता र जवाफदेहिताको वातावरण बिना मानव अधिकार सुरक्षित रहन नसक्ने भन्दै यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘विशेष गरी हाम्रो नयाँ पुस्ता जेनजीले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो र म यसलाई सम्मान गर्दछु । सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्नेछ ।’

उनले भनिन्, ‘मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै हो । भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइनस यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो । जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ । यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनवद्धता व्यक्त गरेको छ ।’
प्रधानमन्त्री कार्कीले थपिन्, ‘पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन र यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको छ । लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो । नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण

सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ । समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न नेपाल सरकार अपिल गर्दछ । साथै निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउनेछ । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन र निर्वाचनजस्तो यस लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न समेत अनरोध गर्दछु ।’

प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) ले मानव अधिकारलाई कानूनी ग्रन्थमा सिमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताइन् । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण भएको बताइन् । सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नव प्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने बताइन् ।

 

पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न निवासमै पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पितृशोकमा रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेट्न उनको निवासमै पुगेकी छिन् । उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोलस्थित निवास पुगेकी हुन् । श्रेष्ठका बुवा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्री कार्की उनको निवासमा पुगेर भेट गरेको स्रोतले जानकारी दिएको छ ।

सो क्रममा पूर्व प्रधान्यायाधीश श्रेष्ठसँग केहीबेर सामान्य राजनीतिक कुराकानी पनि भएको स्रोतले बताएको छ । श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै केही कुरा सुनाएका थिए । श्रेष्ठले आफ्नो नाम जोडेर ‘कसैको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्री समक्ष सुनाएका थिए । त्यस्तै, जसरी पनि निर्वाचन सम्पन्न गराएर निस्कन पनि प्रधानमन्त्री कार्कीलाई श्रेष्ठले आग्रह गरेको बताइएको छ ।

मेयर बालेन भेट्न प्रधानमन्त्री कार्की पुगिन् शाह निवास

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निवास पुगेकी छिन् । उनी आइतबार दिउँसो ४ बजे शाह निवास पुगेकी हुन् ।

मेयर शाहका पिताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री कार्की शाह निवास पुगेर करिब करिब २० मिनेट समय  बिताए पनि राजनीतिक कुराकानी नभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए । प्रधानमन्त्रीले बालेनका पिताको निधन हुनु अघि पनि स्वास्थ्य समस्याबारे जिज्ञासा राखेकी थिइन् ।

साथै अचानक पिता गुमाउनु परेकोमा प्रधानमन्त्री कार्कीले बालेन प्रति सहानुभूति दिँदै दु:ख व्यक्त गरेको रावलले बताए ।

 

 

 

 

बालुवाटारमा सर्वपक्षीय बैठक शुरु, को–को छन् उपस्थित ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक शुरु भएको छ । शुक्रवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवपक्षीय बैठक शुरु भएको हो । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाल, नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको छ । सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे छलफल भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराएका छन् ।

बैठकमा को–को छन् ?
निर्वाचन आयोगबाट

कार्यवाहक प्रमुख आयुक्त, रामप्रसाद भण्डारी

आयुक्त, जानकीकुमारी तुलाधर

आयुक्त, सगुनशमशेर राणा

सचिव, महादेव पन्थ

सहसचिव, नारायण प्रसाद भट्टराई

सहसचिव, यज्ञप्रसाद भट्टराई

सहसचिव, राजेन्द्रकुमार केसी

दलहरूबाट

गगन थापा, पुष्पा भुसाल (नेकां)

शंकर पोखरेल, महेश बर्तौला (एमाले)

शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)

शिशिर खनाल, सोबिता गौतम (रास्वपा)

राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)

प्रकाश अधिकारी (जसपा नेपाल)

नरेन्द्र चौधरी (जनमत)

सरकारबाट

प्रधानमन्त्री, सुशीला कार्की

अर्थमन्त्री, रामेश्वर खनाल

गृहमन्त्री, ओमप्रकाश अर्याल

कानुनमन्त्री, अनिलकुमार सिन्हा

सञ्चारमन्त्री, जगदीश खरेल

सुरक्षा निकायबाट

अशोकराज सिग्देल, प्रधानसेनापति

दानबहादुर कार्की, प्रहरी महानिरीक्षक

राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक

टेकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बोलाएकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेश केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।

प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका पाँच दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सर्वपक्षीय बैठक आह्वान गरेकी छिन् । बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो । निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन् ।

छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको छ । दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउन लागेका छन् । यसअघिका छलफलमा पनि ती दलबाट दोस्रो तहका नेताहरू नै छलफलमा सहभागी हुने गरेका थिए । त्यस्तै निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको पनि बैठकमा सहभागिता हुनेछ । बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने छ ।

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव : नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छन् । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो सम्पती सुरक्षित राख्न आग्रह गरेकी हुन् ।

गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन् । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भए पनि सुरक्षित राख्न आग्रह गरिन् । उनले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताइन् । गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लगानी गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरुले नेपालमा एउटा आफ्नो स्थान चाहीँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट नै किन नहोस् । एउटा राख्नुपर्छ, आफ्नो टेक्ने ठाउँ । हालकी त्यो सुविधा अहिले नै नमिल्ला, अहिले फेरि कीर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोको नाममा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर छ, यहाँ बेचिदिएर । त्यो सुविधा छैन, तर विस्तारै मिल्ला त्यो सुविधा पनि, सेक्युरिटी हुन्छ नी सुरक्षा । विदेशमा बस्नेहरुको सम्पतिको सुरक्षा । त्यो त नमिलाई हुँदैन । तर आफ्नो स्थान चाँही यहाँ राख्नुपर्छ के टेक्ने ठाउँ । यसो खुट्टाले टेक्ने ठाउँ, एउटै खुट्टाले मात्रै टेक्ने ठाउमा मात्रै पनि किन नहोस् । आएर यसो बस्ने दुईचार दिन । त्यो चाहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनीतिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको उल्लेख गरिन् । नेपालमा राजनितिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्दै उनले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताइन् ।

 

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिको आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण दिएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै धर्म वा समुदायप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट पारेकी हुन् ।

‘नमस्कार ! लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्’, उनले लेखेकी छन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

 

 

जंगी अड्डालाई प्रधानमन्त्रीको तीन निर्देशन : ‘रगत बिनाको चुनाव, त्रुटिरहित सुरक्षा’ का लागि खट्नुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई पूर्ण शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई कडा र स्पष्ट निर्देशन दिएकी छन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले निर्वाचन सुरक्षासम्बन्धी विस्तृत जानकारी लिँदै तीन मुख्य निर्देशन जारी गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले देश फेरि हिंसा, अव्यवस्था वा भयको चपेटामा पर्न नदिने आफ्नो सरकारको प्रतिबद्धता दोहो¥याउँदै भनिन्, ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना नागरिक पनि घाइते हुनु हुँदैन ।’ उनका अनुसार विगतका निर्वाचन अनुभव र वर्तमान सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच त्रुटिरहित समन्वय आवश्यक छ ।

जंगी अड्डामा उनले सेनालाई जनतामा सुरक्षाको प्रत्याभूति दिने सुनिश्चित कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन् । प्रहरी कारबाहीलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने, सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सिर्जनामा सेनाले सहयोग पुर्‍याउनु पर्ने उनले औंल्याइन् । प्रधानमन्त्रीले हालैको जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी–नियन्त्रणमा प्रहरीसँग घनिष्ट सहकार्य गर्न पनि आदेश दिएर फरार अभियुक्तहरू पक्रन कुनै कसर बाँकी नराख्न आग्रह गरिन् ।

सुरक्षा अवस्था, चुनौती र सेनाको आगामी योजनाबारे प्रधान सेनापति अशोकराज सिग्देलसहित सैन्य नेतृत्वले विस्तृत ब्रिफिङ गरेका थिए । निर्वाचनका दिन सेनाको परिचालन ढाँचा, समन्वय प्रक्रियादेखि सम्भावित जोखिम व्यवस्थापनसम्मका योजनाको प्रस्तुतीकरण गरिएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् बनेको सरकारको प्राथमिक जिम्मेवारी देशमा शान्ति–सुरक्षा बहाली गर्दै फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनु नै रहेको बताइन् । सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले स्पष्ट गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्रीका मुख्य तीन निर्देशन
– जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नू ।
– आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू ।

– जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिनू ।

विवादै–विवादको घेरा प्रधानमन्त्री सुशीला कार्की, फेरि अर्को ‘संगीन’ आरोप

काठमाडौं । एक समय भ्रष्टाचारविरुद्ध खरो रुपमा उभिएको छविका कारण चर्चामा रहेकी पूर्व प्रधानन्यायाधीश तथा हालकी प्रधानमन्त्री सुशीला कार्की पछिल्लो समय लगातार आरोप–प्रत्यारोप र विवादको घेरामा परिरहेकी छन् । सचिवालयमा मनपरी कर्मचारी भर्तीदेखि डिम्ब तस्करीमा संलग्न व्यक्तिलाई जोगाएको आरोपमा विवादित बनेकी कार्कीमाथि फेरि अर्को सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको ‘संगीन’ आरोप लागेको छ ।

टोखा नगरपालिका–४, धापासीस्थित आफ्नै निवास परिसरभित्र उनले वर्षौंदेखि सरकारी जग्गा कब्जा गरी भोगचलन गर्दै आएको तथ्य बाहिरिएपछि प्रधानमन्त्रीमाथिको यस आरोपले थप राजनीतिक तरंग पैदा गरेको छ । श्रीमान दुर्गाप्रसाद सुवेदीको नाममा रहेको सो घर ६ आना १ पैसा २ दाम निजी जमिनमा बनेको भए पनि करिब ३ आना बराबरको सरकारी जमिन अतिक्रमण भएको नापी सरकारी निकायले नै पुष्टि गरिसकेको छ ।

२०७६ सालमा वडा कार्यालयले अमिनमार्फत गराइएको नापीले सरकारी जमिन घरको एक साइडमा पर्खालभित्र परेको देखाएको थियो । कार्कीका नाममा सुरक्षा व्यवस्था कडा बनाइएको २०७३ सालतिर सुरक्षाकर्मी आवासका लागि अस्थायी संरचना बनाइएको भन्दै त्यसैको कारणले सरकारी जमिन प्रयोग भएको दाबी गरिए पनि स्थानीय र सरोकारवालाहरू यो व्याख्या विश्वसनीय नभएको बताउँछन् । स्थानीयहरूको आरोपमा कार्की परिवारले घर बनाउने क्रममा नै सरकारी जमिन समेटेर पर्खाल लगाएको र सुरक्षाकर्मीका लागि बनेको संरचना पछि थपिएको हाे। एक स्थानीय भन्छन्, ‘नियतै सरकारी जमिन हडप्ने रहेछ । पर्खाल लगाएर ढाकछोप गर्न खोजियो, तर यस्ता कुरा लुकाएर बस्न सकिँदैन ।’

वडाध्यक्ष धर्म श्रेष्ठले समेत कार्कीको निवास क्षेत्रमा सरकारी जग्गा परेको पुष्टि गरेका छन् । उनका अनुसार कार्कीले मौखिक रूपमा ‘नेपाल सरकारले भनेको बेला खाली गरिदिने’ आश्वासन दिए पनि वर्षौंदेखि संरचना यथास्थानमै छ । वडाले सरकारी जग्गा संरक्षण अभियान चलाइरहँदा धेरै ठाउँमा संरचना हटाइए पनि प्रधानमन्त्रीको निवासको संरचना तत्काल नछोएको श्रेष्ठले खुलासा गरेका छन् । टोखा नगरपालिकाले हालसम्म झण्डै १,४०० रोपनी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइसकेको छ । तर, प्रधानमन्त्रीकै निवासले सरकारी जमिन ओगटेको भएपछि अन्य अतिक्रमण हटाउन पनि समस्या भइरहेको कर्मचारीहरू बताउँछन् । ‘प्रधानमन्त्रीले नै हटाउनु भएको भए हामीलाई सबै ठाउँमा कडाइ गर्न सजिलो हुने थियो’, एक कर्मचारीले भने ।

मेयर प्रकाश अधिकारीका अनुसार अब नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण समितिसँग समन्वय गरी कार्की परिवारसँग संवाद गर्ने, ३५ दिने नोटिस दिने र नटेरे कानुनअनुसार डोजर चलाउने तयारी छ । २०७६ को नापी जत्तिकै पुरानो फाइल कार्यान्वयन हुन ढिलाइ हुनुमा कोभिड–१९ को बाधा र प्रधानमन्त्रीको निवास भएको संवेदनशीलता कारण रहेको उनको भनाइ छ । धापासीमा हाल प्रतिआना करिब ४० लाख रुपैयाँ मूल्य पर्ने सरकारी जमिन व्यक्तिगत प्रयोगमा बसेको यो प्रकरणले स्थानीयलाई मात्र होइन, सम्पूर्ण सार्वजनिक जग्गाको संरक्षण अभियानलाई नै चुनौती दिएको छ । स्थानीयहरूको माग छ–नगरपालिकाले ढिलाइ नगरी सरकारी जमिन फिर्ता ल्याओस् र सबैमा समान नियम लागू होस् ।

 

एमाले नेताहरु र प्रधानमन्त्री कार्कीबीच के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरुबीच बिहीबार बालुवाटारमा भएको छलफल राजनीतिक विवाद घटाउने प्रयास बने पनि नेतृत्वले उठाएका मुख्य प्रश्नमा सरकार स्पष्ट नदेखिएको एमालेले जनाएको छ । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा चुनाव सफल बनाउन सबै दलको साथ आवश्यक रहेको बताउँदै एमाले नेतृत्वलाई सहयोगको आग्रह गरिन् ।

छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए । उनीहरूले प्रधानमन्त्रीसँग विशेषतः दुई संवेदनशील विषय उठाए–सरकार गठन तथा संसद् विघटनको संवैधानिक परीक्षण र अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहदको मुद्दा ।

नेता बर्तौलाका अनुसार एमालेले अहिलेको सरकार गठन प्रक्रिया तथा संसद् विघटनलाई असंवैधानिक ठहर्‍याउँदै उक्त मुद्दाको अन्तिम निर्णय संवैधानिक अदालतले नै गर्नुपर्ने बतायो । ‘दर्जनौं रिट दर्ता भइसकेका छन्, संवैधानिक परीक्षणपछि मात्रै आगामी राजनीतिक मार्गचित्र निर्धारण हुन्छ’, उनले भने ।

एमालेका नेताहरूले निष्पक्ष र निर्भय वातावरण बिना चुनाव सम्भव नहुने चेतावनी पनि दिए । लुटिएका हतियार, भागेका कैदी, सुरक्षामा देखिएको चरम चुनौती तथा शान्ति–सुरक्षाको कमजोर सूचकले मतदातामाथि मनोवैज्ञानिक दबाब पर्ने उनको मूल्याङ्कन थियो । ‘मतदाताले भयरहित तरिकाले मतदानस्थल पुग्न सक्ने वातावरण अझै बनेको छैन’, एमालेले प्रधानमन्त्री समक्ष भन्यो ।

छलफलको केन्द्रबिन्दु बनेको मुद्दा भने निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थानहद आदेश हो । बर्तौलाका अनुसार उनीहरूले प्रधानमन्त्रीसँग सोधेका थिए, ‘यति ठूलो जनमत प्राप्त दलका अध्यक्षलाई स्थानहद किन तोकियो ? मिडिया ट्रायल हुँदै गएको छ, यस्तो अवस्थामा चुनावी वातावरण कसरी बन्न सक्छ ?’

तर प्रधानमन्त्री कार्कीले यस विषयमा कुनै प्रत्यक्ष प्रतिक्रिया नदिएको एमाले नेताहरु बताउँछन् । उनका अनुसार प्रधानमन्त्रीले ‘सरकार चुनाव सहज बनाउन प्रतिबद्ध छ, वातावरण सुधारका लागि प्रयासरत छ’ मात्र भनेकी थिइन् । एमाले नेताहरूले यसलाई ‘राजनीतिक व्यवहार र सरकारी कार्यशैलीबीचको विरोधाभास’ भनेर टिप्पणी गरेका छन् ।

एमालेले प्रधानमन्त्रीलाई आफूहरू चुनावबाट कहिल्यै नभाग्ने, जनमतकै आधारमा अनुमोदन चाहने पार्टी भएको स्पष्ट पारेका छन् । तर ‘दलहरूलाई मात्र अपिल गरेर होइन, विश्वासिलो वातावरण बनाएर’ चुनाव हुनुपर्ने एमाले नेताहरुको जोड थियो । ‘हामीलाई चारैतिरबाट घेराबन्दी गरेर एक्ल्याउने प्रयास भए पनि लोकतन्त्रमा एक्लै उभिन पनि तयार छौँ’, नेता बर्तौलाले भने । तर उनले सरकार चुनावी माहोल बनाउन अग्रसर देखिनु पर्नेमा जोड दिएका छन् ।

बालुवाटारमा भएको यो संवादलाई दुवै पक्षले सम्बन्ध सुधारतर्फको प्रयास मानिरहेका छन् । तर संवैधानिक विवाद, सुरक्षा चुनौती र अध्यक्ष ओलीमाथिको स्थानहद जस्ता प्रमुख विषयमा कुनै ठोस जवाफ नआएको एमालेको ठहर छ । त्यसैले छलफलले राजनीतिक तनाव घटाउने संकेत देखाए पनि, ठोस निचोड निकाल्न भने असफल भएको एमाले नेताहरुको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालय : प्रश्न उठेका जोगाइए, प्रश्न उठाउने ‘दण्डित’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वकीय सचिवालयको संरचना करिब दुई दर्जनबाट घटाएर ६ जनामा सीमित गर्ने निर्णय गरेपछि सचिवालयमा कार्यरत जेन–जी प्रतिनिधि-प्रदीप ज्ञवाली, अरुण कटुवाल र आकृति घिमिरे—एकाएक भूमिकाबाट बाहिरिए । उनीहरूले भने आफूहरूलाई नातावाद र कृपावादविरुद्ध आवाज उठाएको ‘प्रतिशोध’ स्वरूप बर्खास्त गरिएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी पत्नीलाई सचिवालयमा नियुक्ति दिएको खबर सार्वजनिक भएपछि सचिवालयभित्रै प्रश्न उठ्न थालेको थियो । जेन–जी प्रतिनिधिहरूले प्रधानमन्त्री कार्यालयको लेटरहेड प्रयोग गरेर ‘व्यक्तिगत आरोप बचाउ’ गर्ने प्रवृत्तिविरुद्ध आपत्ति जनाएपछि सम्बन्ध चिसिँदै गएको उनीहरूको भनाइ छ ।

जेन–जी प्रतिनिधिहरूका अनुसार उनीहरू ‘जागिर’ को खोजीमा नभई प्रधानमन्त्रीको आह्वानमा नीतिगत, प्रविधि तथा समन्वयका भूमिका सम्हाल्न आएका थिए । मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, अन्तरजिल्ला र परदेशी मतदानका नीति तयार पार्ने, सामाजिक सञ्जालमा प्रधानमन्त्रीका कामकारबाही अद्यावधिक गर्ने जस्ता जिम्मेवारीमा उनीहरू सक्रिय थिए ।

उनीहरूको भनाइमा सचिवालयमा कागजमा मात्र रहेका सहसचिवदेखि प्रशासन सहायकसम्मका कर्मचारीहरू कहिल्यै कार्यालयमा नदेखिनु नितान्त शंकास्पद थियो । यहीबारे जानकारी गराउँदा पनि प्रमुख स्वकीय सचिव श्रेष्ठले कुनै प्रतिक्रिया नदिएको उनीहरूको आरोप छ । आकृति घिमिरे भन्छिन्, ‘सचिवालयको गरिमा झनै खस्किने प्रकारका नियुक्ति कति पटक भए । हामीले असहमति जनायौं, त्यसपछि हामी नै बोझ ठहरियौं ।’

जेन–जी प्रतिनिधिहरूले उठाएका प्रश्न र सचिवालयभित्र बढ्दो असन्तुष्टिलाई प्रधानमन्त्रीले ‘आफूमाथि असहयोग’ को रूपमा बुझेको बताइन्छ। त्यही मनोवृत्तिले सचिवालय ठूलो रूपमा कटौती गर्ने निर्णयतर्फ धकेलेको उनीहरूको मूल्यांकन छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटघाट र ब्रिफिङ गर्ने अवसर लगभग नपाएको जेन–जी प्रतिनिधिहरूको गुनासो छ । उनीहरूका अनुसार सचिवालय घटाउने निर्णयभन्दा अघि कुनै पूर्व सूचना वा छलफल पनि भएन ।

प्रधानमन्त्री कार्कीको सचिवालयमा देखिएको नातावादको आरोप, त्यसको बचाउमा सरकारी लेटरहेडको प्रयोग र सोप्रति उठेको विरोध—यी विवादहरू बढ्दै जाँदा जेन–जी टोलीलाई ‘समस्याको सर्जक’ का रूपमा चित्रित गरिएको आफूहरूले महसुस गरेको उनीहरूको कथन छ ।

अन्ततः एक महिना १२ दिन लामो कार्यअवधि टुंगिँदै गर्दा उनीहरूले सरकारी सामान बुझाएर जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् । सचिवालयलाई प्रभावकारी बनाउन अझै ८–१० जनाको प्राविधिक तथा नीतिगत टोली आवश्यक पर्ने उनीहरूको भनाइ छ, तर प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिवलाई जोगाएर उनीहरूलाई हटाउने निर्णय गरेको प्रति उनीहरूले खिन्नता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री र एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले महासचिव शंकर पोखरेलसहितका नेताबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, र विघटित प्रतिनिधिसभाका एमाले संसदीय दलका पूर्व मुख्य सचेतक महेश बर्तौला सहभागी छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि छन् । प्रधानमन्त्री कार्कीले दलहरुसँग पहिलो पटक एमालेसँग वार्ता सुरु गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलले सरकारले आफ्नो पार्टीसँग वार्ता नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सुरक्षा र सामाजिक न्यायबीचको अपरिहार्य सम्बन्धमा जोड दिँदै परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छन् । आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल जस्तो विकासशील मुलुकमा सामाजिक सुरक्षा प्रणालीलाई अन्तरपुस्ता लागत सन्तुलन र समानतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले यस विषयमा थप स्पष्ट गर्दै भनिन्, ‘मेरो न्याय क्षेत्रमा लामो समय काम गरेको अनुभवले सामाजिक न्यायको महत्त्व झन् प्रष्ट पार्दछ, तर मेरो नयाँ भूमिकाको जिम्मेवारी हेर्दा बुझ्नुपर्‍यो कि परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय हासिल गर्न सकिँदैन।’
उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमै श्रम गरेर जीविकोपार्जन गर्ने वातावरण निर्माण हुने र यसले समग्र उत्पादनमूलक क्षमता अभिवृद्धि गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षालाई समाजिक ऐक्यबद्धताको आधारमा हेर्नुपर्नेमा जोड दिँदै कार्कीले यस प्रणालीले धनीले गरीबलाई, निरोगीले रोगीलाई संरचित र न्यायोचित तरिकाले सहयोग गर्न सक्ने वातावरण बनाउने बताइन् । उनले कि ऐनको त्रिपक्षीय संयोजनबाट हरेक वर्गको सहभागिता सुनिश्चित गरी सामाजिक सुरक्षा प्रणालीलाई दीगो र सक्षम बनाउने सम्भावना रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले संघीय सरकारका मन्त्रीहरुसँग छलफल भइरहेको जानकारी दिइन् ।

उनले औपचारिक क्षेत्रका अनिवार्य आवद्धता, अनौपचारिक क्षेत्रमा कानूनी योगदान, सरकारी करार कर्मचारीको कोषमा आवद्धता र कोषको रकमको न्यायोचित प्रयोगलगायत विषयमा स्पष्ट दिशा दिने आवश्यकतामा जोड दिइन् । निजी क्षेत्रका रोजगारदातालाई पनि सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन आग्रह गर्दै उनले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम राष्ट्र निर्माण र सार्थक लगानीमा प्रयोग गर्नुपर्ने बताइन् । यसरी मात्र कोषको दैनिकी बढ्दै जाँदा त्यसलाई प्रभावकारी ढङ्गले राष्ट्र निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीको सम्बोधनले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई थप दिगो, समावेशी र उत्पादनमुखी बनाउने दिशामा नयाँ ऊर्जा प्रदान गरेको छ । यसले नागरिकको राज्यप्रति अपनत्व र सामाजिक न्यायको अनुभूति बढाउने अपेक्षा गरिएको छ ।

 

प्रधानमन्त्रीले घटाइन् सचिवालयको आकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।

बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुने गरी खारेज गरेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले २६ जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो । जेनजीहरू समेतको दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय संख्या घटाएकी हुन् ।

प्रधानमन्त्रीले डोकोभरि कुलपतिको भारी बोकेर हिँड्न सक्दैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशीला कार्कीले विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति रहन सम्भव नरहेको बताएकी छिन् ।

बुधबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताएकी हुन् । त्यसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले काम गरिरहेको उनको भनाइ थियो ।

उनले भनिन् ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन । राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन,’ उनले भनिन् । विश्वविद्यालय सभाले नै कुलपति छनोट गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारीरजिम्मेवारी बोकेर हिँडेर हुँदैन । भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो । हुर्केपछि आफैं बढ्छ,’।

अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको प्रधानमन्त्री कार्कीको तर्क थियो ।

‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ । तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन,’ उनले भनिन्, ‘राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ ।’

उनले भनिन् , ‘सधैँ सरकारको मात्र आश गरेर हुँदैन । शैक्षिक कार्यक्रमहरू त्यसैअनुसार बनाएर पनि विश्वविद्यालयले आर्जन गर्न सक्छ । शिक्षक, विद्यार्थी मिलेर विश्वविद्यालयमा नै कमाइ गर्न सक्छन्,’ ।

त्रिवि सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको थियो । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले स्वआर्जन गर्नेतर्फ पनि सोच्नु पर्ने सुझाव दिइन् ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो–प्रमुख स्वकीय सचिवमाथिको आरोप ‘निराधार’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हाल सार्वजनिक रूपमा उठेका नियुक्ति विवादप्रति आधिकारिक प्रतिक्रिया व्यक्त गर्दै प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठमाथि लगाइिएका आरोपहरू तथ्यहीन भएको स्पष्ट पारेको छ । केही दिनयता परिवारका सदस्य तथा नातेदारलाई पदमा राखिएको भन्ने आलोचनापछि सचिवालयले विज्ञप्ति जारी गर्दै यस्तो दाबीले प्रधानमन्त्रीको कार्यशैलीबारे भ्रम फैलाउन खोजिएको आरोप लगाएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्रीको नजिक रहेर चौबीसै घण्टा जिम्मेवारी वहन गर्नुपर्ने स्वकीय क्षेत्रका पदहरूमा ‘विश्वासिलो, भरपर्दो र कानुनसम्मत ढंगले नियुक्त गरिएका व्यक्तिहरूलाईअनावश्यक प्रश्न उठाइनु उचित होइन’ भनिएको छ । सुरक्षाका कारणले पनि भरोसा गर्न सकिने व्यक्तिहरू आवश्यक हुने सचिवालयको दाबी छ ।

विज्ञप्तिमा थप उल्लेख छ, ‘अन्य नियुक्तिहरूका बारेमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाएर जोडिएको तथा केवल थर मिलेकै कारण नातेदारका रूपमा प्रस्तुति गरिनु अतिरञ्जित प्रचार हो। यस्ता आधारहीन टिप्पणी नगर्न सबैलाई आग्रह गर्दछौँ ।’ प्रधानमन्त्री कार्की ‘जेनजी आन्दोलन’को बलमा अघि बढाइएको सुशासन, मितव्ययिता र पारदर्शिताका मूल्यप्रति प्रतिबद्ध रहेको सचिवालयको दाबी छ । सरकारले राज्यकोषमा न्यूनतम भार पर्ने गरी प्रधानमन्त्री कार्यालय सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका अनुसार, कार्यविधिअनुसार प्रधानमन्त्रीलाई ७ सल्लाहकार राख्न सकिने भए पनि हाल २ जनामात्र छन् । त्यस्तै १९ विशेषज्ञ पदमध्ये ४ जनामात्र नियुक्त गरिएको र तीमध्ये एक जना अवैतनिक रहेको उल्लेख छ । स्वकीय सचिवालयमा ४१ को दरबन्दी रहे पनि अहिले १४ जना मात्र कार्यरत छन् । ‘कुल ६७ जनाको दरबन्दीमध्ये विगतका सरकारहरूले अधिकांश पदमा नियुक्ति भरिरहेका अवस्थामा प्रधानमन्त्री कार्कीले अत्यावश्यक कामका लागि मात्र २० जनाको टीम बनाएर सचिवालय सञ्चालन गर्दै आएका छन्,” विज्ञप्तिमा भनिएको छ । सचिवालयले जारी गरिएको स्पष्टीकरणसँगै नियुक्तिसम्बन्धी विवाद केही समय शान्त हुने अपेक्षा गरिएको छ, तर सार्वजनिक आलोचना भने केही समयसम्म जारी रहने अनुमान गरिएको छ ।

 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहित नातेदारलाई दिलाए नियुक्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएको खुलेको हो । स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारेका छन् । ‘नाता खोज्दै जाँदा त नेपालभर कोही न कोही नाता पर्छ होला नी,’ उनले भने, ‘मैले नातेदार भनेर सबैलाई नियुक्त गरेको होइन ।’ प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाउँ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उनले स्वीकारेका छन् ।

उनले भने, ‘नियुक्त भएका श्रेष्ठ थरका सबै मानिसहरू मैले नै नियुक्त गरेको भनेर अफवाह फैलाइयो, त्यो गलत हो ।’ प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेका मन्त्रालयहरूमा प्रमुख स्वकीय सचिवको हैसियतले आफूले समन्वय गरिरहनुपरेको भन्दै उनले ती निकायमा नियुक्त भएका र जिम्मेवारी पाएका कतिपय व्यक्तिहरूको नाम समेत आफूसँग जोडिएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।

नियुक्तिहरूमा आफू र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम जबर्जस्ती मुछ्न खोजिएको भन्दै उनले बहालवाला सचिवका परिवारका सदस्य र निजामती सेवामा कार्यरत केही व्यक्तिहरूलाई पनि आफूसँग जोडेको गुनासो गरे । उनले भने, ‘प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेकाहरूलाई पनि मैले नियुक्त गरेको भनी हल्ला चलाइयो ।’

प्रधानमन्त्रीको सचिवालयमा रहेका अर्का एक कर्मचारीले विगतका प्रधानमन्त्रीले सचिवालयमा ९४ जना कर्मचारी राखेकोमा अहिले २६ जनाबाट काम चलाइएको बताए । ‘अहिलेको सरकारले मितव्ययी रणनीति अपनाएको छ, जथाभावी हुने नियुक्ति कटौती भएको छ’ उनले भने, ‘त्यो पाटो नहेरी प्रधानमन्त्रीको टीममा अत्यन्त विश्वासमा रहेर काम गर्ने कर्मचारीहरूमाथि समेत प्रश्न उठाउन खोज्नु गलत हो ।’

प्रधानमन्त्री कार्कीविरुद्धको मुद्दाको सकियो सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा आजको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, प्रधानमन्त्री कार्कीले उक्त आदेशको ठाडो अवज्ञा गर्दै राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन् । हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् ।

अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई रिट निवेदनमा प्रतिवादी बनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइएको हो ।

मंसिर १० सम्म सबै दल आयोगमा दर्ता गर्नु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन् । आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् ।

निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन् । फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् । त्यस्तै सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन पनि बैठक राखिएको हो । छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने दलले अराजकता रोजेको ठहरिने बताइन् । उनले निर्वाचन प्रक्रियामा सहभागी हुन दलहरूलाई आग्रह गरिन् ।

‘म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनु होस् । यो समय सीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,’ उनले भनिन् ।