आधा कार्यकालपछि मन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आधा कार्यकाल पार गरेपछि आज (शुक्रबार) चार नयाँ मन्त्री थपिने भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिने भएको छ । आज कुमार इङनामलाई भूमिमन्त्री बनाउने भएकाले सिन्हाको मन्त्रालय परिवर्तन गरिने भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सट्टामा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
आज भूमिमन्त्री इङनामसँगै माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेड पाएको चुनावी सरकार कार्यकालको मध्यतिर आइपुग्दा मन्त्री थप्न लागिएको हो । आज चार मन्त्री थपिएपछि कार्की नेतृत्वको क्याविनेट १४ सदस्यीय बन्नेछ ।
