प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लगिदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो । उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ ।
यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।
सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।
मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।
पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।
