पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न निवासमै पुगिन् प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पितृशोकमा रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेट्न उनको निवासमै पुगेकी छिन् । उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोलस्थित निवास पुगेकी हुन् । श्रेष्ठका बुवा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्री कार्की उनको निवासमा पुगेर भेट गरेको स्रोतले जानकारी दिएको छ ।
सो क्रममा पूर्व प्रधान्यायाधीश श्रेष्ठसँग केहीबेर सामान्य राजनीतिक कुराकानी पनि भएको स्रोतले बताएको छ । श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै केही कुरा सुनाएका थिए । श्रेष्ठले आफ्नो नाम जोडेर ‘कसैको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्री समक्ष सुनाएका थिए । त्यस्तै, जसरी पनि निर्वाचन सम्पन्न गराएर निस्कन पनि प्रधानमन्त्री कार्कीलाई श्रेष्ठले आग्रह गरेको बताइएको छ ।
