`

बेथितिबाट भाग्ने होइन, देश आफैले बस्नलायक बनाउने हो : प्रधानमन्त्री कार्की

Nepal One HD ११ माघ २०८२ १५:०३
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको अन्त्यका लागि डटेर अघि बढ्नु पर्ने बेला आएको स्पष्ट पारिन् । त्यस अवसरमा उनले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरुलाई आग्रह गरिन् ।

विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरु राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो । उनले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरुले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताइन् । उनले उच्च शिक्षा प्रदायक संस्थाहरुलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरु सबै अझै गतिशील हुन जरुरी छ । यस खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकोस् । तपाईहरुले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तिगत तथा राष्ट्र निर्माणमा भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

उनले भनिन्, ‘यहाँहरुलाई जाँदाजाँदै मेरो विशेष अनुरोध छ–यो देश हाम्रो हो । हामी आफैले बनाउने हो । हामीले नै देशलाई बस्न लायक बनाउने हो । हामीले नबनाए कसले आएर बनाई दिने हो र । यहाँका तमाम बेथितिबाट भाग्ने होइन । हामी आफैले डटेर सामना गर्नु पर्दछ । आफू बसेको ठाउँ आफैले सफा गर्नु पर्दछ । तसर्थ, यहाँहरु सकेसम्म नेपालमा नै केही गर्नुहोस् । नेपालमा नै अवसरहरुको पहिचान गर्नुहोस् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् । जहाँ गए पनि नेपालले गर्व गर्नसक्ने नागरिक भएर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नु पर्ने समेत बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *