प्रधानमन्त्री कार्कीका श्रीमान अस्वस्थ, अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदी स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार भर्ना भएका सुवेदीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।
सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।
मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।
पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।
