प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका पाँच दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सर्वपक्षीय बैठक आह्वान गरेकी छिन् । बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो । निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन् ।
छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको छ । दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउन लागेका छन् । यसअघिका छलफलमा पनि ती दलबाट दोस्रो तहका नेताहरू नै छलफलमा सहभागी हुने गरेका थिए । त्यस्तै निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको पनि बैठकमा सहभागिता हुनेछ । बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने छ ।
