`

आफैले बनाएको प्रधानमन्त्रीसँग किन भेटिएनन् बालेन ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौँ उपत्यकाका मेयरहरूलाई बालुवाटार बोलाएर समस्यामाथि खुला संवाद गरिरहँदा, सबैको ध्यान एकै कुरामा अडियो—उपत्यकाका सबै स्थानीय तहका प्रमुख उपस्थित थिए, तर काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) भने देखिएनन् ।

उपस्थित एक मेयरका अनुसार प्रधानमन्त्री कार्कीले छलफलको सुरुमै बालेनलाई लिएर गुनासो उठाइन्, ‘उनी किन आएनन् ?’ यति मात्र होइन, उनले बालेनको ‘भिन्न स्वभाव’ बारे टिप्पणी गर्दै भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्नै कुरा मात्र भन्छ ।’

जेनजी आन्दोलनमा निर्णायक भूमिका खेलेका मेयर बालेनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै आक्रामक रूपमा सरकारमाथि दबाव बढाइरहेका छन् । तर सरकारले भने चुनावको वातावरण बनाउन दलहरूसँग संवादमै ध्यान दिन थालेपछि बालेन असन्तुष्ट बनेको उनीहरूकै टीम भित्रबाट बताइन्छ ।

केही दिनअघि बालेन पक्षबाट गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिएको थियो । प्रधानमन्त्री कार्यालयले तत्कालै काउण्टर जवाफ दिंदै मन्त्री छनोट प्रधानमन्त्रीको अधिकार भएको स्पष्ट पार्‍यो । त्यसयता बालेन सरकारसँग ‘संवादविहीन’ अवस्थामा छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहका प्रमुखहरूले बैठकमा चुनाव, सुरक्षा, फोहोर व्यवस्थापन, सडक निर्माणदेखि लिएर विद्युत् महसुलसम्मका समस्या राखे । प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै ‘चुनाव मात्र गराऊ, अरु काम नगर भनिन्छ, तर तपाईहरूका समस्यामा जति सकिन्छ सहयोग गर्छु’ भनी प्रतिक्रिया दिइन् ।

काठमाडौँ महानगरका प्रमुख अनुपस्थित हुँदा फोहोर संकट, सडकबत्ती बक्यौता, काठमाडौंका विशिष्ट समस्याहरू उठ्नै नपाउने स्थिति बन्यो। उपस्थित मेयरहरूले भने संघीय सरकारले ३ करोडभन्दा कमका योजनाहरू कटौती गरेपछि विकास रोकिएको गुनासो पोख्दै, फोहोर–सडक–सुरक्षा तीनै क्षेत्रमा ‘बोल्ड डिसिजन’ गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

समाजको बिग्रँदो अवस्था र युवामा बढ्दै गएको वितृष्णाबारे बोल्दै प्रधानमन्त्रीले गत ३०–३५ वर्षको एकलौटी शासनले आजको असन्तोष ल्याएको स्वीकार गरिन् । उनले भनिन्, ‘समाज भाँचिएपछि बनाउने हामी नै हौं । कोही आएर सपारिदिन्छ भन्ने भ्रम नपालौं ।’

उपत्यकाका ३ जिल्लाका सबै मेयर उपस्थित रहँदा काठमाडौँका मेयर बालेनको कुर्सी भने खाली रह्यो । मुलुकमा चुनावी सरकारको तयारी तीव्र बन्दै गर्दा बालेनको सरकारी संयन्त्रप्रति असन्तुष्टि र संवादविहीनता अब खुला राजनीतिक सन्देश जस्तै बनिरहेको छ । तर सबैको मनमा अहिले एउटै प्रश्न उठिरहेको छ–देश बनाउने भन्दै उठेका बालेन, आफैले बनाएको प्रधानमन्त्री भेट्न किन गएनन् ?

प्रधानमन्त्रीको चेतावनी : भड्काउ अभिव्यक्तिमाथि शून्य सहनशीलता, तत्काल कारबाही

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएकी छन् । आज (सोमबार) नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको दावी गरिन् ।उनले निर्वाचनका दौरानमा द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति दिने जो–कोही भए पनि तत्काल कारबाही गरेर छोड्ने चेतावनी समेत दिइन् ।

‘युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ । निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरूले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न गुप्तचर परिचालन बढाइएको छ,’ उनले भनिन्,’ नागरिक खबरदारी झनै आवश्यक छ ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनको सफलतामा मात्रै मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर हुने बताउँदै यस पटक असफल भइयो भने देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा जाने चिन्ता व्यक्त गरिन् । उनले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी गराउन निर्णायक भूमिका खेल्न नागरिक समाजका अगुवासँग आग्रह समेत गरिन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो । केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु ।’

उनले निर्वाचनमा युवा सहभागिता बढाउन निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू अगाडि बढाइसकेको जानकारी दिइन् । ‘जेन–जी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषयु मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं । उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ ‘यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ ।’

 

 

नागरिक अगुवालाई प्रधानमन्त्रीको आग्रह : दलहरूलाई सम्झाई दिनुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । आज (सोमबार) नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गरिन् ।

उनले निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु पहिलो र अनिवार्य शर्त रहेको बताइन् । उनले सरकारले ट्रयाक–टु संवादमार्फत विभिन्न दलहरूसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको उल्लेख गर्दै नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउनका लागि सहयोग गर्न अपिल गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने बताइन् । उनले सरकारले जेन–जी आन्दोलनलाई केवल ’कानुन व्यवस्थाको विषय’ मात्र नमानेका बताइन् । ‘यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौँ । उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि सरकार सचेत रहेको बताइन् । ’निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरुले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न ‘हट–स्पट’ नक्साङ्कन र गुप्तचर परिचालन बढाइएको छ । नागरिक खबरदारी झनै आवश्यक छ’, प्रधानमन्त्रीले भनिन् ।

 

प्रधानमन्त्रीले बोलाएको छलफलमा को–को नागरिक अगुवा छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल चलिरहेको छ । छलफलमा नागरिक समाजका अगुवा-प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदार भक्त माथे, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई सहभागी छन् ।

यस्तै, विजय तिमल्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेन्द्र घिमिरे, राजुप्रसाद चापागाईलगायत सहभागी छन् । छलफलमा जेनजीको माग सम्बोधन, आगामी चुनावको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जेनजी अगुवालगायतसँग छलफल गरेकी थिइन् ।

त्रिविको जग्गा अपचलन गर्नेलाई तत्काल कठघरामा उभ्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशका दुई महत्वपूर्ण क्षेत्र–शिक्षा र विमान सेवामा देखिएको अनियमितता र ढिलासुस्तीप्रति कडा असन्तुष्टि जनाउँदै तत्काल सुधारका लागि ठोस निर्देशन दिएकी छन् । आज सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का जग्गा अपचलनमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याउन निर्देशन दिएकी हुन् ।

साथै, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा महाप्रबन्धक नियुक्तिको प्रक्रिया तत्काल टुंग्याउन पनि उनले आदेश दिएकी छन् । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसहित त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाल लगायतका पदाधिकारी सहभागी थिए ।

बैठकमा त्रिविको जग्गा अपचलनसम्बन्धी प्रतिवेदन कार्यान्वयनको प्रगति समीक्षा गरिएको थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक भएपछि कति जग्गा फिर्ता आयो, बाँकी जग्गा फिर्ता गर्न के प्रगति भयो र दोषीमाथि कारबाहीको स्थिति कस्तो छ भन्ने विषयमा विस्तृत जानकारी मागेकी थिइन् । गृहमन्त्री अर्यालले विश्वविद्यालय आफैंले लगत कायम गर्न अग्रसर हुनुपर्ने बताउँदै, कीर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक मुद्दा छुट्टै रूपमा सीआईबीमा दर्ता गर्न सुझाव दिए ।

उनले सीआईबीको विशेषज्ञता प्रयोग गरी द्रुत गतिमा कारबाही अघि बढाउन सकिने बताए । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनका करिब ६० प्रतिशत कार्य विश्वविद्यालयले आफैं गर्न सक्ने भन्दै सबै कुरा सरकारको भरमा नछोड्न आग्रह गरे । शिक्षामन्त्री पुनले तत्काल कार्यदल गठन गरी तत्कालीन चरणमै गर्न सकिने काम सुरु गर्न प्रस्ताव गरे । प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्रिविको जग्गा मिच्ने, ओगट्ने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्नु पर्छ । जसले गल्ती गरेको छ, ऊ जोसुकै होस्, कानुनी कारबाहीबाट उम्कन पाउने छैन ।’

यससँगै प्रधानमन्त्री कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा रिक्त महाप्रबन्धकको पद लामो समयदेखि खाली रहँदा संस्थाको सञ्चालनमा असर परेको भन्दै नियुक्ति प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत आफैंले सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग भेटेर निगममा भइरहेको ढिलासुस्तीबारे जानकारी लिएकी थिइन् ।

गत कात्तिक १४ गते गठन गरिएको महाप्रबन्धक चयन समिति सचिव मैनालीको संयोजकत्वमा बनेको हो, जसमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र सहसचिव सदस्य सचिव छन् । सचिव मैनालीले कार्यविधि तयारी सम्पन्न भएको र केही प्रशासनिक कारणले ढिलाइ भएको बताए। उनले आजै पहिलो बैठक बस्ने तयारी भइरहेको जानकारी गराए । प्रधानमन्त्री कार्कीले ‘नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र पारदर्शी संस्थाका रूपमा रूपान्तरण गर्न अब ढिलाइ सह्य छैन’ भन्दै नियुक्ति प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिइन् ।

 

प्रधानमन्त्री कार्कीद्वारा दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ भएको विस्फोटप्रति दुःख व्यक्त गरेकी छन् ।

कार्कीले गत साँझ दिल्लीमा भएको विस्फोटले आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री कार्कीले दुःख व्यक्त गरेकी हुन् ।

साथै उनले शोकाकुल परिवारहरुमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘दुःखको यस घडीमा नेपाल भारतको साथमा खडा छ,’ कार्कीले लेखेकी छन् ।

उक्त विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रधानमन्त्री कार्कीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालसले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्नुको कारण सोधेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनको तर्क छ ।

राष्ट्रपतिबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६-१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ । रिटमा राष्ट्रपतिको कार्यालय शितलनिवास समेतलाई प्रतिवादी बनाइएको छ ।

मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक राखेर सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्। ‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले निर्देशन दिँदै भनिन् ।

प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छन् । निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

१) गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस् ।
२) सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस् ।
३) निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।
४) आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुहोस् ।
५) कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन के के गर्नुपर्छ, गर्नुहोस् ।

६) आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्। भौतिक संरचना मेशिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस् ।
७) निर्वाचनको वातावरण बनाउन मैल निर्वाचन आयोग सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु । निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस् ।
८) सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्नुहोस्। परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्नुहोस् ।
९) मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसी समीक्षा गर्नुहोस् । राष्ट्रिय विकास समस्या समाधान समितिमा ल्याउनु पर्ने प्रस्तावहरू समेत ल्याउनु होस् ।
१०) मेरो अध्यक्षताका अन्तर प्रदेश परिषद लगायतका सबै परिषद् वा समितिका बैठकहरूको व्यवस्थापन गर्नुहोस् ।
११) नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिला सम्बन्धी छलफल आयोजना गरौं ।
१२) प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेछ । तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन जेजे गर्नुपर्ने हो गर्नुहोस् ।
१३) कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नु पर्नेछ। यसमा कुनै सम्झौता नगर्नुहोस् ।
१४) अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्नुहोस् ।

 

 

 

मन्त्री र सचिवहरुसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी छन् । सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन्।

आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए ।

बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ । आइतबार अपराह्न सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगेका छन् । बैठक केहीबेर ढिलागरी सुरु भएको छ ।

बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति छन् । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन् ।

 

पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।

नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?’ उनले भनिन् ।

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् । यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ ।

यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन् ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन्। ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाईँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘तपाईँहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस्।’

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्।
‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ उनले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’

निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन् । ‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ। सरकारले साथ दिइरहेको छ। तैपनि, यो संस्था घाटामा जानुको कारण के हो ?’ उनको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?’

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।’

प्रधानमन्त्री कार्कीले भनिन्, ‘संस्था सुधारका लागि तपाईँहरू लाग्नुहोस्। सरकार दाहिने हातमा छ।’कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो।

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । आइतबार दिउँसो ४ बजे बालुवाटारमा सात प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

‘बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीले आउँछु भन्नु भएको छ,’ रावलले भने, परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउनका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लाग्नु भएको हो ।’ बैठकमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सकारकारका काम काहबाहीलाई कसरी प्रभावकारी बनाउने, निर्वाचनको वातावरण निर्माण, शान्ति सुरक्षा, सरकारको मितव्ययी नीति जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सहभागीताको लागि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिपक्षीय छलफलमा दल र जेनजीबाट को–को हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागी हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुने भएको छ ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । त्यस्तै जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिनेछन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता रहने सम्बद्ध पार्टीले जनाएको छ । सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।

 

प्रधानमन्त्रीलाई खुस्बुको प्रश्न : मन्त्रिपरिषदमा किन पुरुषको बाहुल्य ?

काठमाडौं । राप्रपाकी नेतृ खुस्बु ओलीले देशको कार्यकारी पदमा पहिलो पटक महिला पुग्दा पनि सरकारमा महिला सहभागिता कम भएको भन्दै प्रश्न उठाएकी छन् । गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा उनीसहित दुई जना मात्र महिला छन् ।

हालको मन्त्रिपरिषद् १० सदस्यको छ, जसमा दुई जना मात्र महिला छन् । यो विषयलाई लिएर युवा नेतृ ओलीले प्रश्न उठाएकी छन् । ‘महिला सक्षम र प्रतिस्पर्धी हुँदा पनि जब सरकारमा मन्त्रीको आँकडा ८ पुरुष : १ महिला रहन्छ, समस्या क्षमता होइन, सोच हो ।’

उनले भनेकी छन्, ‘मलाई लाग्थ्यो कि नेपालको राजनीतिमा महिलाको प्रतिनिधित्व कम हुनुको कारण भनेको शक्ति नेतृत्व गर्ने दलहरूको हरेक कुनामा, सरकार बनाउने, मन्त्रिपरिषद् भर्ने काममा पुरुषहरूको प्रभुत्व हुनु हो । तर आज, देश महिला प्रधानमन्त्रीको नेतृत्वमा हुँदा पनि वास्तविकता परिवर्तन भएको छैन ।’

उनले लेखेकी छिन्, ‘मैले सोचेको थिएँ कि परिस्थिति उल्टिनेछ, महिला नेतृत्वको अर्थ धेरैका लागि ठाउँ हुनेछ। तर फेरि एक पटक, प्रणालीले हामीलाई देखाएको छ कि अनुहार परिवर्तनको अर्थ सधैँ जगमा परिवर्तन हुँदैन ।’ कार्की सरकारमा अहिले ओमप्रकाश अर्याल (गृह), कुलमान घिसिङ (ऊर्जा), रामेश्वर खनाल (अर्थ), बब्लु गुप्ता (खेलकुद), अनिलकुमार सिन्हा (उद्योग), सुधा शर्मा (स्वास्थ्य), जगदीश खरेल (सञ्चार), महावीर पुन (शिक्षा) छन् ।

आगामी निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको जिकिर गरिन् ।

निर्वाचन सम्पन्न गराउन सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताइन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारलाई फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी रहेको बताइन् । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन—जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन् ।

उनले भने, ‘२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु । आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ ।’

उनले भनिन्, ‘यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध छ । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

नेपाल संवत नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरिन् । प्रवर्तक शंखधर साख्वा एक व्यापारी मात्र नभइ समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन् । नेपाल संवतको संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको बताइन् । नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको, नेपाली जनताले यसको प्रादुर्भाव गरेको बताइन् । तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको जिकिर गरिन् । —न्युज एजेन्सी नेपाल

सरकार र दलहरूबीच वालुवाटारमा बैठक, को–को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छलफलमा विभिन्न १० राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन् ।

कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामुहिक छलफल गरेकी हुन् । कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्। खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ । यो अवस्थामा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि बोलाइएको छ ।

दुवै जना पर्यवेक्षकको रुपमा सहभागी हुन भनिएको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका छन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् । कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।

 

 

सर्वदलीय वैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुँदै

काठमाडौं । राजनीतिक दलहरुसँगको संवादमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पर्यवेक्षक राख्ने भएकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केदारभक्क माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री कार्कीले ७ राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल आयोजना गरेकी छिन् । निर्वाचन गराउने उद्देश्यसहित गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।

‘आज बालुवाटारमा राजनीतिक दलहरूसँग चुनावबारे हुने संवादमा २ जना पर्यवेक्षक पनि सहभागी हुने छन्’, प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले ह्वाट्सएप ग्रुपमा पत्रकारहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा सहभागी हुनु हुनेछ ।’

प्रधानमन्त्रीले डाकेको बैठकमा राजनीतिक दलको नेतृत्वमा रहेका प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो । बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए । त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति गगन थापा, प्रकाशशरण महत बैठकमा सहभागी भएका छन् ।

राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए । त्यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुने भएका छन् । राष्ट्रपतिले आव्हान गरेको बैठकमा भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने भएका छन् । राष्ट्रपतिले डाकेको बैठकमा कार्यवाहक सभापति डिपी अर्याल गएका थिए । mागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो । तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन ।

 

 

 

सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने स्पष्ट पारेकी छन् । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताइन् । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन् ।

छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरुले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए । छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापीत गरेपनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताए ।

त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरुलाई अवगत गराएका थिए । घाइतेहरुले जेनजीले उठाएका मुद्दाहरुमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । जेनजी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको वैठकमा को–को हुँदैछन् सहभागी ?

काठमाडौँ । सरकारले आज बिभिन्न सात दलसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो । संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुने भएका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा पार्टीबाट उपसभापति वाग्ले र सचिवालय गौतम सहभागी हुने जानकारी दिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।

तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ । यस्तै जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् । राष्ट्रिय मान्यता प्राप्त सात दलका नेताहरूसँग प्रधानमन्त्रीले निर्वाचनबारे आज सामूहिक छलफल गर्न लागेकी हुन् ।

कूटनीतिक नियोग प्रतिनिधिसँग प्रधानमन्त्रीले भनिन्–नेपालको अवस्था सामान्य बनिसक्यो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी छन् । उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गरिदिन आग्रह गरिन् ।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयका केहीबेर अघिबाट छलफल चलिरहेको छ । बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ भइरहेको छ । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।

मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । यसअघि निर्वाचन आयोगले भने राजनीतिक दलहरुसहित छलफल गरेको थियो । तर, सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउनका लागि घनीभूत परामर्श हुन नसकेको भन्दै आलोचना भइरहेको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो ।

 

मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्की : भ’को भई छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाएको छैन । दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनी आफैंले अहिलेसम्म ९ वटा मन्त्रालय सम्हाली रहेकी छन् । जसका कारण कार्कीको मन्त्रीमण्डलले कहिले पूर्णता पाउँछ भन्ने चासोको विषय बनेको छ ।

जसका कारण मन्त्रीमण्डलले पूर्णता नपाउँदा खाली रहेका मन्त्रालहरू मन्त्रीविहीन छन् । प्रधानमन्त्री कार्कीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेको चर्चा यत्तिकै सेलाएको छ । उनले जेन–जीका तर्फबाट चार मन्त्री थप्न लागेको समाचारहरू आएका भए पनि अहिलेसम्म थपेकी छैनन् ।

जेन–जीबाट अनेकथरि नाम प्रस्ताव भएपछि प्रधानमन्त्री बिलखबन्धमा परिरहेको स्रोतको भनाइ छ । सुरूमा छलफलमा आएका चारजनाको नाम विवादित भएपछि यत्तिकै रद्द भएको थियो । त्यसपछि कार्कीले जेनजी अभियन्ताहरुलाई साझा नाम दिन आग्रह गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा प्रधानमन्त्रीले जेन–जी अगुवाहरूसँग वार्ता गर्ने भनेर दुईपटक समय निर्धारित भएको थियो । पहिलो पटकको वार्तामा पौडेल अचानक अस्वस्थ भएर सहभागी हुन सकेनन् । दोस्रो पटक तोकिएको वार्ता पनि राष्ट्रपतिले आराम गर्नुपर्ने भन्दै रद्द गरेका थिए । त्यसयता मन्त्रिपरिषद विस्तारको विषय ओझेलमा परेको छ ।

यही चासोका बीच बिहीबार सिंहदरबार परिसरमा एक पत्रकारले जिज्ञास राख्न भ्याइहाले– प्रधानमन्त्री ज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ? तर प्रधानमन्त्री प्रश्नको जवाफ दिन अडिएनन्, उनले हिंड्दा हिंड्दा जवाफ फर्काइन्–मन्त्रिपरिषद् विस्तार ‘भको भई’ छ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री बनेको ३ दिनपछि अर्थात ३० भदौमा पहिलोपटक उनले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन् । कार्कीले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् ।

प्रधानमन्त्री कार्कीको निर्देशन : नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउनू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी छन् ।

देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताएकी छन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी छन् ।

विपीनको त्याग र बहादुरी राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छिन् ।

कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने भन्दै उनले यो वीरतापूर्ण कार्यले उनलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने बताएकी छन् ।

विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच विपीनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।

‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् ।

‘विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो । उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो’, उनले भनेकी छन् ।

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको भन्दै कार्कीले लेखेकी छन्, ‘उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।’

बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपीनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौँ साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्रीले कृतज्ञता प्रकट गरेकी छन् ।

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि गरेका छन् ।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन ्। बाजुराका रावलले नेपाल एफएम, ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन् । यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले भनिन्–सरकार एनजीओको होइन, जेनजीको वास्तविक लिडर मलाई पनि थाहा छैन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका वास्तविक नेतृत्वबारे खुलेर प्रश्न उठाउँदै, ‘को हो त लिडर ? मलाई पनि थाहा छैन’, भनेर आफ्नो अन्योल सार्वजनिक रुपमा व्यक्त गरेकी छन् ।

शनिबार शीतलनिवासमा जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूसँग प्रधानमन्त्री र मन्त्रीहरूको अनौपचारिक भेटमा उक्त कुरा खोलेकी हुन् । वार्ताको मूल केन्द्रबिन्दु जेनजी आन्दोलनपछिको सरकारको वैधता, नेतृत्व संरचना, र विशेष गरी आन्दोलनको ‘हाईज्याक’ भएको भन्ने आरोप रहे पनि प्रधानमन्त्रीले केही विषयहरूमा प्रतिवाद गरिन् भने केहीमा आफूलाई पनि अन्योल रहेको स्वीकारिन् ।

‘सरकार एनजीओको होइन, म आफैं चलाइरहेकी छु’
छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार, जेनजी समूहले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘के यो सरकार विदेशी एनजीओहरूले चलाएको हो ?’ जवाफमा प्रधानमन्त्री कार्कीले स्पष्टसँग भनिन्, ‘होइन, यो सरकार मैले नेतृत्व गरेको हो, कुनै एनजीओले होइन । तपाईंहरू ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले आफ्नो सरकार आन्दोलनकै जगमा बनेको, जनभावनाको कदर गर्ने र समयमै निर्वाचन गराउने पक्षमा रहेको बताउँदै सहयोगका लागि आह्वान गरिन् ।

प्रमुख दलहरू ‘चुनाव’ मा अनिश्चयमा, राष्ट्रपति अनुपस्थित
भेटवार्ता राष्ट्रपतिसँग तय भए पनि रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएपछि छलफल प्रधानमन्त्री र मन्त्रीहरूले नै नेतृत्व गरेका थिए। प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासमा सबै पक्षले भाग लिनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस र एमालेलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । तर ती दलहरूले अन्तिम निर्णय पार्टीको बैठकपछि मात्रै लिने बताएका छन् । स्रोतका अनुसार, दुवै दलले आगामी चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनभित्र ‘वास्तविक नेतृत्व’ को खोजी
छलफलमा उठेको अर्को प्रमुख विषय थियो—जेनजी आन्दोलनको आधिकारिक प्रतिनिधित्व कसले गर्छ ? विभिन्न समूह, उपसमूह र नेतृत्वदावीबीच देखिएको भ्रमतर्फ इशारा गर्दै प्रधानमन्त्रीले भनिन्, ‘जेनजी आन्दोलनको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आन्दोलनको नेतृत्व स्पष्ट नभएको र सरकार आफैं पनि यस विषयमा स्पष्ट दिशानिर्देश बिना रहेको सन्देश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको फरक अभिव्यक्ति
वार्तामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई हरहालतमा सफल बनाउनुपर्ने र त्यसका लागि परराष्ट्रमा रहेका नेपालीको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको थियो ।

पार्टीका सहमहामन्त्री विपिन कार्कीले मुख्यधारका दलहरूले जेनजी आन्दोलनप्रति अझ गहिरो समझ आवश्यक रहेको बताएका छन् । उता राप्रपाका ज्ञानेन्द्र शाहीले संघीयता खारेज र राजसंस्थाको पुनस्र्थापनासहितको ८ बुँदे प्रस्ताव पेश गरेका थिए ।

छलफल खुल्यो, तर अन्योल अझ बाँकी
शनिबारको छलफलले सत्ता र आन्दोलनबीच संवादको ढोका खोल्ने प्रयास गरे पनि नेतृत्वको अस्पष्टता, दलहरूको अनिश्चय र राष्ट्रपति अनुपस्थितिका कारण ठोस निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकारभित्र पनि आन्दोलनप्रति अझै स्पष्ट रणनीति र समन्वयको खाँचो देखिएको छ ।

प्रधानमन्त्रीको सन्देश : नागरिकको सुरक्षा नै हाम्रो चिन्ता, सहयोग लिन अप्ठेरो नमान्नू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न आग्रह गरेकी छिन् ।

‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आंकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ उनले भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनु हुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’ बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन् ।

सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छिन् ।

‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा छन् ।’

नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालिन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उनले बताएकी छिन् । महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन् । ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीदका परिवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर आज ‘जेनजी’ आन्दोलनका शहीदका परिवारलाई भेटेकी छन् ।प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली पुगेर शहीद सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् ।

यस्तै उनले नागार्जुन–३ पुगेर शहीद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर शहीद बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि शहीदका परिवार भेट्न पुगेका थिए ।

गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म सुरक्षाकर्मी समेत ७६ जनाको मृत्यु भएको सरकारले जनाएको छ । आन्दोलनका क्रममा मारिएका युवालाई सरकारले शहीद घोषणा गरिसकेको छ । आन्दोलनमा घाइते भएकामध्ये ३८ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले यस बर्ष दशैंको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस बर्ष वडादशैंको टीका–जमरा नलगाउने भएकी छन् । जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा उनले यस वर्ष दशैंको टीका नलगाउने भएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भएता पनि हालै भएको युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ । तसर्थ, यस बर्ष सम्माननीय प्रधानमन्त्री ज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

यस्तै, ताजै युवा पुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ ।

बडादशैँको सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा हार्दिक अपील समेत गरेकी छन् ।

प्रधानमन्त्रीको कार्कीको मुख्य सल्लाहकारमा खनाल, जनसम्पर्कमा तिम्सिना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । खनाल द हिमालयन टाइम्सका पूर्व सम्पादक हुन् । उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन् ।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सामेल गरी ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो । खनाल त्यसमा कार्यकारी निर्देशक थिए। केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा थिए ।

सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनिया प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ। तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन् । विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो ।

भ्रष्टाचारबारे सरकारले प्रष्ट जानकारी पाइसक्यो, छानविन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन् । आज (बिहीबार) पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ,’ उनले भनिन्, ’तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।’

‘नेतामा घरमा जलेका नोटबारे छानबिन सुरु भइसक्यो’
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतको घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी अनुसन्धान सुरु गरेको हो ।

आन्दोलनका दोषीउपर सख्त कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने उपर कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा–युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले शीतलनिवास पठाइन् पाँच नयाँ मन्त्रीको नाम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छन् । जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन् ।

यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन् । महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप तीन जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको छ । मन्त्री नियुक्तिका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ ।

मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । यसअघि प्रधानमन्त्री कार्कीले डा. सन्दुक रुइत, संविधानविद भीमार्जुन आचार्य र डा. भगवान कोइरालालाई मन्त्रीको प्रस्ताव गरे पनि उनीहरुले अस्वीकार गरिसकेका छन् । यस्तै पर्यटन मन्त्रीका लागि विजय लामाको नाम पनि चर्चामा छ ।

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले जेन जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको पनि बताइन् ।

उनले वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताइन् । उनले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ ।’

आफू कुनै शाशकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री नभएको भन्दै उनले संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको प्रष्टीकरण दिइन् । उनले नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन् ।

‘मैले कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेलामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ,’ उनले भनिन् ।

दलाई लामासहित प्रधानमन्त्री कार्कीलाई क–कसले दिए वधाइ ? के दिए सन्देश ?

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई अझै वधाइ र शुभकामना आउने क्रम रोकिएको छैन । सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेपछि आज (बिहीबार) फोनवार्ताका क्रममा पनि भारतीय समकक्षी मोदीले फेरि दोहोर्‍याएर वधाइ दिएका छन् । उनले आज भएको २० मिनेट फोनवार्ताको शुरुवातमै पुनः वधाइ तथा शुभकामना दिएका हुन् । सुशीला कार्की यहि भदौं २७ गते नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । फोन वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका पनि दिएका छन् । ‘हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रेहको पुनः पुष्टि गरेँ’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् । प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्णरुपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् । ‘मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु’, मोदीले भनेका छन् ।

यसअघि कार्की नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भए लगतै पनि बधाई दिएका थिए । उनले पहिलो पटक सामाजिक सञ्जालबाट (भदौं २८ गते) अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै कार्कीलाई शुभकामना दिएका थिए । कार्कीलाई सबै भन्दा पहिला जापानले वधाइ दिएको थियो । काठमाडौंस्थित जापानी राजदूतावासले एक सार्वजनिक पोस्टबाट (भदौं २८ गते) कार्कीलाई शुभकामना र वधाइ दिँदै आफ्नो सहयोग जारी राख्ने बताएको थियो । जेन– जी आन्दोलन हुँदा आन्दोलन पक्षधर मन्तव्य सार्वजनिक गर्ने अमेरिकी नेतृत्वका देशहरूको साझा मन्तव्यमा जापान पनि एक देश थियो ।

जापानले शुभकामनामा भनेको थियो, ‘जापान सरकारले नेपालले सकेसम्म चाँडो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण गर्न सकून् भन्ने प्रबल आशा व्यक्त गर्दछ । आज माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूले नेपालकी सम्माननीय सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुभएको निर्णयलाई हामी यस्तो संक्रमणतर्फको महत्वपूर्ण कदमको रूपमा स्वागत गर्दछौँ । जापान सरकारले नेपाल र जापानबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ सबल बनाउन नेपालको विकास र समृद्धिको लागि आफ्नो सहयोग निरन्तर जारी राख्नेछ ।’

यसअघिका प्रधानमन्त्रीहरुलाई सम्भवतः कहिल्यै वधाई नदिएका तिब्बती धार्मिक गुरु दलाई लामाले (भदौं २८ गते) नै नेपालकी अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बधाई दिएका थिए । लामाको कार्यालयमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’ उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भएता पनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् । ‘यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छ ।’ यस्तै जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाशसत तिब्बती धर्मगुरु दलाई लामाका सभामुखले पनि शुभकामना दिएका थिए । सभामुख खेन्पो सोनाम तेन्फेलले पनि (भदौं ३१ गते) कार्कीलाई शुभकामना दिएका थिए ।

दलाई लामाको निर्वासित प्रशासन केन्द्रीय तिब्बत प्रशासनको आधिकारिक वेबसाइटमा प्रकाशित शुभकामना सन्देशमा १७औं निर्वासित तिब्बती संसद तथा विश्वभरका तिब्बतीको तर्फबाट नेपाली जनताको विश्वास बोकेर आएकी प्रधानमन्त्री भनिएको छ । शुभकामना सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्धको समेत चर्चा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई केहि ढिला गरी वधाई दिएको थियो । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको सन्देश आफ्नो वेबसाइटमा भदौं २९ गते सार्वजनिक गरेको छ ।

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैं नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले पनि (भदौं २८ गते) बधाई दिइसकेको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थमसनले सामाजिक सञ्जाल एक्सको आधिकारिक खाताबाट बधाई दिएका थिए ।

उनले नेपाली र अंग्रेजी दुवै भाषामा कार्कीलाई बधाई दिएका थिए । उनले लेखेका थिए–नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनु भएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौं । हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौ । हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं । अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं । यस्तै संयुक्त राष्ट्रसंघले पनि (भदौं २८ गते) प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिइसकेको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाउदै प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । राष्ट्रसंघले संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी युवाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूत नविन श्रीवास्तवले हिजो भेटैरै पनि वधाई दिएका थिए । यस्तै आज चीनका राजदूत छन सोङले प्रधानमन्त्री कार्कीलाई भेटेरै वधाई दिएका छन् । उनले नजिकको छिमेकी भएको नाताले नेपाल सरकारलाई चीनले आवश्यक सहयोग जारी राख्ने वचन पनि दिएका छन् ।

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले भने-आवश्यक सहयोग गर्न तत्पर छौं

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत छनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। काठमाडौंस्थित चिनियाँ राजदूतवासका अनुसार राजदूत छनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । त्यस्तै दुई मुलुकबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा समेत कुराकानी भएको राजदूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहनालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए । ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं । सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ ।’ कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो ।

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । झण्डै २० मिनेट लामो वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औं जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नव नियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, त्यसपछि निचियाँ राजदूतसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो। मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् ।

मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तिकरणको उदाहरण भएको समेत बताएका थिए । त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन् । यसैको तयारीका लागि प्रधानमन्त्री कार्की आज बिहानै कार्यालय पुगिसकेकी छन् । यसअघि गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन् ।

आज प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच कुराकानी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ । आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए । यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।

बालुवाटारमा मन्त्री छान्न छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन छलफल तीब्र बनाएकी छन् । ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले तीन मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन् ।
‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले सुनायो, ‘मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ ।’

छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छन् । यसअघि प्रधानमन्त्री कार्कीले वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । तर उनले अहिले आफू सरकारमा जान नसक्ने स्पष्ट पारेका छन् ।

यस्तै कार्कीले संविधानविद्ध भीमार्जुन आचार्यलाई पनि मन्त्रीका लागि प्रस्ताव गरेको खुलेको छ । उनले पनि मन्त्री खानका लागि अस्वीकार गरेका छन् । प्रधानमन्त्री कार्की गैरराजनीतिक व्यक्तिलाई सरकारमा ल्याउने तयारीमा छिन् ।छलफलमा भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ध्वस्त सरकारी संरचना पुनर्निर्माण गर्नेबारे पनि हुने बुझिएको छ । योबाहेक सरकारको आगामी रणनीति, मन्त्रिपरिषद् विस्तारलगायतका बारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।