`

प्रधानमन्त्रीले बोलाएको वैठकमा को–को हुँदैछन् सहभागी ?

Nepal One HD ४ कार्तिक २०८२ १२:१४
प्रमुख खबर

काठमाडौँ । सरकारले आज बिभिन्न सात दलसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो । संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुने भएका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा पार्टीबाट उपसभापति वाग्ले र सचिवालय गौतम सहभागी हुने जानकारी दिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।

तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ । यस्तै जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् । राष्ट्रिय मान्यता प्राप्त सात दलका नेताहरूसँग प्रधानमन्त्रीले निर्वाचनबारे आज सामूहिक छलफल गर्न लागेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *