`

सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, त्यसपछि निचियाँ राजदूतसँग भेट

Nepal One HD २ असोज २०८२ ११:४२
प्रमुख खबर

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो। मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् ।

मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तिकरणको उदाहरण भएको समेत बताएका थिए । त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन् । यसैको तयारीका लागि प्रधानमन्त्री कार्की आज बिहानै कार्यालय पुगिसकेकी छन् । यसअघि गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *