प्रधानमन्त्री कार्कीको निर्देशन : नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउनू


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी छन् ।
देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताएकी छन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी छन् ।