`

प्रधानमन्त्रीलाई भारतीय राजदूतले भने–शान्ति र सुशासनका पक्षमा छौं, पुनर्निर्माणमा सघाउँछौं

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन्।भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनको भनाइ थियो । त्यस्तै बिहीबार प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडिओ कुराकानीको कार्यक्रम तय भइसकेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।

संसद् पुनर्स्थापना हुने अवस्था छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब संसद पुनर्स्थापना हुने सम्भावना नरहेको बताएकी छन् । बीबीसी नेपाली सेवासँग एक अन्तर्वार्ताका क्रममा उनले संसद् ‘डिमोरलाइज्ड’ भइसकेको भन्दै अब पुनः स्थापनाको सम्भावना नरहेको बताएकी हुन् । सर्वोच्चले संसद् पुनः स्थापना गर्न पनि सक्छ भन्ने प्रश्नमा उनले भनेकी छ, ‘सर्वोच्च वा कुनै अदालतले बोलेपछि त्यो त माान्नु पर्‍यो । ठिक छ भन्ने नै हो । जबजसम्म काम गर्न पाउँछौँ त्योसम्म हामी गर्छौ । जहाँसम्म मलाई लाग्छ अब संसद् एक्टिभ हुने अवस्था छैन । डिमोरलाइज्ड अवस्थामा छ । दलहरू डिमोरलाइज्छ अवस्थामा छन् । अब निर्वाचन नै प्रमुख कुरा हो ।’

अन्तर्वाताका क्रममा उनले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीयसम्म हुने उनले बताएकी छन् । बरु एक व्यक्तिलाई दुई मन्त्रालयको जिम्मेवारी दिएर कम मन्त्रिमण्डल बनाउने तयारी रहेको उनको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यक्तिलाई पनि मन्त्रीपरिषद्मा राख्न सुझाव दिएकोमा आफूले त्यसलाई इन्कार गरेको र गैरराजनीतिक व्यक्तिलाई मात्र मन्त्री बनाउने कार्कीले बताइन् । उनले बरु महिला, आदिवासी, जनजाति, दलित, पिछडिएकोलगायत कलस्टरबाट समावेश गर्ने गरी तयारी भएको समेत बताइन् । उनले ६ महिनामा सकभर निर्वाचन गराइछाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘६ महिनामा निर्वाचन भएन भने अर्को एक-दुई महिना जाला । हामी सकेसम्म निर्वाचन मिति थप्ने पक्षमा छैनौँ’, उनले भनिन् । युवाहरूको मागअनुसार सुशासन कायम गर्न सरकारले काम गर्ने उनको भनाइ छ । अहिले मानवीय र भौतिक क्षति भएको र उच्चस्तरीय न्यायीक जाँचबुझ समितिको प्रतिवेदनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याइने पनि कार्कीले बताइन् । उनले मित्र राष्ट्र चीन र भारतसँग सम्बन्ध नबिग्रिएको भन्दै यस अन्तरिम सरकारले पनि मित्रवत सम्बन्ध होस् भन्ने सोचेको बताइन् ।

उनले काम गर्न सक्दिन जस्तो नलागेको बताएकी छन् । ‘वातावरण पाए भने काम गर्न सक्दिनँ भन्ने लाग्दैन । २७ गते राति मेरो सपथ भएको थियो । २८ गते शनिबार थियो । त्यस दिन पनि मैले दिनभर काम गरें । म दिनदिनै काम गर्न सक्छु । अहिले पनि सक्रिय छु । शरीरले गर्न नसक्ने बनाएको छैन’, उनले भनिन्, ‘अर्को कुरा के छ भने मैले राम्राराम्रा व्यक्तिलाई चुनेको छु । ती सबै सहयोगी छन् । उनीहरू पनि म जत्तिकै आफ्नो इज्जत राख्नेमा छन् । रामेश्वरजी, कुलमान, ओम सबै । म आफूलाई भन्दिनँ यिनीहरू त हिरा नै हुन् । यस्ता व्यक्तिको सहयोग छ । तर म सबै कुराको जिम्मा लिन्न नि । उहाँहरू सबैलाई बाँडिदिएको छ । अहिले पनि म खटिरहेको छु । यति खटेपछि भगवानले मलाई बदनाम गराउलान जस्तो लागेको छैन । काम गर्न सक्छु भन्नेमा छु ।’ कार्कीले अबको आउने निर्वाचनमा आफू उम्मेदवार नहुने पनि बनाइन् । निर्वाचन गराएपछि आफू खुला संसारमा पुगेको महसुस गर्ने उनको भनाइ छ ।

 

प्रधानमन्त्री कार्की र समकक्षी मोदीबीच आज कुराकानी नहुने, राजदूतले भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई भेट्न आजै सिंहदरबारमा जाने भएका छन् । भेटघाट दिउँसो ४ बजेका लागि तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन् ।

यसअघि आज सवा ३ बजे प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तय भएको थियो । गृह मन्त्रालय भवनमा रहेको अहिलेको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भिडिओ कुराकानी गर्ने तयारी थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ । कार्कीको शपथ ग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो । पछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरको एक सम्मेलनमा बोल्ने क्रममा नेपालको उदाहरण दिएका थिए ।

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा उनले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा अहिलेसम्म चार सदस्य मात्र छन् । जसमा कार्की प्रधानमन्त्री तथा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री छन् । खनाल अर्थमन्त्री बन्दा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङले क्रमशः दुई र तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका हुन् । बाँकी १५ मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री कार्कीकै काँधमा छ ।

हेर्नुस् सूची

सुशीला कार्की (प्रधानमन्त्री)

–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय

–कृषि तथा पशुपन्छी मन्त्रालय

–खानेपानी मन्त्रालय

–परराष्ट्र मन्त्रालय

–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

–बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

–युवा तथा खेलकुद मन्त्रालय

–रक्षा मन्त्रालय

–वन तथा वातावरण मन्त्रालय

–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

–सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामेश्वर प्रसाद खनाल
–अर्थ मन्त्रालय

ओम प्रकाश अर्याल
–गृह मन्त्रालय

–कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

कुलमान घिसिङ
–ऊर्जा, जलस्रोत तथा सिंचाई

–भौतिक पूर्वाधार तथा यातायात

–सहरी विकास

तीन मन्त्रीले लिए शपथ : कसलाई कुन बरियता ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) सानो आकारको मन्त्रिमण्डल विस्तार गरेकी छन् । जेनजी समूहको सिफारिसबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेकी कार्कीले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेरका साथै बरियताक्रम पनि तोकिएको छ ।

मन्त्रिमण्डलको पहिलो बरियताक्रममा प्रधानमन्त्री कार्की छिन् । दोस्रो बरियतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । ऊर्जामन्त्री कुलमान घिसिङ तेस्रो बरियतामा छन् । उनलाई ऊर्जासँगै जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै गृहमन्त्री ओमप्रकाश अर्याल तेस्रो बरियताक्रमा छन् । उनलाई कानुन तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका छन् । शपथ लगत्तै उनीहरू सिंहदरबार गएर पदभार सम्हाल्ने छन् ।
मन्त्रीहरूको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन् ।

जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ । योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ । आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल, अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् । गृहमन्त्री अर्याल कानुनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।यस्तै ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो । पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो ।

 

कुलमानसहित तीन मन्त्रीहरुको शपथ साढे ११ बजे

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज (सोमबार) बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुङ्गो लागेको स्रोतले जनाएको छ ।

पूर्व सचिव समेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए । कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गए राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

के–के छन् नयाँ प्रधानमन्त्री कार्कीका चुनौतीहरु ?

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेकी छन् । प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै आजै सानो आकारको मन्त्रिमण्डल गठन गरिने बताइएको भए पनि आज प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल निवासमा मन्त्रीहरूलाई शपथ खुवाउने कुनै पनि सुरसार छैन।

प्रधानमन्त्री कार्की कार्यभार सम्हाले लगत्तै विभिन्न प्रशासनिक काममा व्यस्त रहेको तथा उनले मन्त्रीहरूको नियुक्तबारे कुनै सोधखोज नगरेको स्रोतले जानकारी दिएको छ । ‘आज मन्त्रिपरिषद विस्तारको सम्भावना कम छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्यालय स्रोतको भनाइलाई राष्ट्रपतिको सचिवालयले पनि पुष्टि गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले पनि आज प्रधानमन्त्रीले मन्त्रीहरुको नाम सिफारिस गरे पनि शपथको सम्भावना नरहेको बताए। त्यसमाथि अहिलेसम्म मन्त्रीको कुनै सिफारिस नआएको उनले जानकारी दिए ।

मन्त्रीहरुको शपथ गराउने हल आगलागीले ध्वस्त छ । राष्ट्रपति कार्यालयका विभिन्न कोठामध्ये कतै शपथ हुन सक्ने भए पनि तयारीको लागि समय चाहिने कार्की बताउँछन् । ‘प्रधानमन्त्री ज्यूले नाम पठाइहाल्नु भएछ भने पनि आजको आजै शपथ गराउने स्थिति छैन’, उनले भने । राष्ट्रपति कार्यालय जत्तिकै बिजोग छ, सिंहदरबारमा । शपथ लिएपछि मन्त्रालयमा बहाली हुनुपर्ने सबै मन्त्रीका कार्यालय दुरुस्त छैनन् । आगलागी नभएका मन्त्रालयमा पनि केही न केही क्षति भएको छ। सबै जनशक्तिलाई नव निर्मित गृह मन्त्रालयको भवनमा प्रधानमन्त्री कार्यालय स्थापनाका लागि खटाइँदा अन्य मन्त्रालयको सरसफाई हुन सकेको छैन ।

सरसफाई शुरु भए पनि सकिन अझै केही दिन लाग्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । तर, प्रधानमन्त्री एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । स्रोत भन्छ, ‘शायद बेलुकीसम्म २–३ जना भए पनि मन्त्रीको नाम सिफारिस गर्नु हुन्छ कि ? यता अहिलेको राजनीतिक परिवर्तनको अगुवाइ गरेका जेनजी समूहले प्रधानमन्त्रीमा जस्तै मन्त्रीहरुको नियुक्तिमा पनि अनलाइन भोटिङ गर्ने चर्चा भइरहेको छ। यसबीचमा केहि व्यक्तिहरुमो नाम सुशीला कार्कीको मन्त्रिमण्डलमा मन्त्री बन्ने सम्भावनाका रुपमा चर्चामा आएका छन् । तर ती नामहरुमाथि ठोस निर्णय भइसकेको छैन । त्यसैले पनि नयाँ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल विस्तार गर्न लामै समय लाग्ने देखिएको छ ।

यी त भए पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीका अगाडि देखिएका तत्कालका चुनौति । यस बाहेक प्रधानमन्त्री कार्कीका सामु देशकै भविष्यसँग जोडिएका अन्य धेरै चुनौतीहरु पनि सम्मुखमा छन् । ती चुनौती र संकटलाई कुशलता र सफलतापूर्वक पार लगाउँदै मुलुकलाई उज्यालो भविष्यतिर डोर्‍याउनु पर्ने जिम्मेवारी पनि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा आएको छ । विशेष गरी प्रधानमन्त्री सामु अहिले ६ बटा चुनौती तत्काल अगाडि देखिएका छन् । जेन–जी आन्दोलनको जगमा प्रधानमन्त्रीको कुर्सीमा पुगेकी सुशीला कार्कीमाथि चुनौतीका चाङ छन् । लोकतन्त्रका लागि संर्घष गरेकी कार्कीले यी चुनौतीका चाङलाई कसरी छिचोल्दै र पार लगाउँदै जान्छिन् यसैमा उनको कामको मूल्याङ र देशको भविष्य निर्धारण हुने निश्चित छ ।

चुनाव गराउने पहिलो शर्त

अन्तरिम सरकारको पहिलो ध्यान भनेको चुनाव गराउने हुनेछ । २३ र २४ भदौको आन्दोलनपछि जेन–जीले अहिलेको राज्य संरचना र संसदीय प्रणालीका व्यक्तिहरूले काम गरेको भएन भनेर सन्देश दिएका छन् । ताजा जनादेश लिएर जनादेश अनुसार आएको सरकारले उनीहरूका मागलाई कार्यान्वयन गर्ने दिशामा जानेछ ।

छानबिन समिति गठन

अन्तरिम सरकारको अर्को काम भनेको २३ र २४ भदौमा भएको आन्दोलन नियन्त्रणबाहिर जाँदा भएको भौतिक क्षतिका बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता छ । यसमा राजनीतिक दलहरूको सहमति पनि लिनुपर्नेछ । राज्यको महत्वपूर्ण पक्ष राजनीतिक दल पनि हुन् । जेन–जीको आन्दोलनसँगै २०४७ यता सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबनि गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग जेन–जीको छ ।

यो माग राजनीतिक दलहरूले पहिलेदखि नै गर्दै आएका छन् । त्यसले यस्तो समिति बनाउने र बन्न नसके पनि पृष्ठभूमि तयार पार्ने काम अन्तरिम सरकारले गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार सरकारले गर्ने बताएकी छन् । यसको कार्यान्वयन र स्रोत व्यवस्थापन पनि चुनौतीकै रुपमा रहेको छ ।

संविधान संशोधन
जेन–जीको अर्को माग छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । यसको लागि संविधान संशोधन आवश्यक हुन्छ । अब हुने चुनावबाटै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने हो भने संविधान संशोधन अनिवार्य छ । संविधानले संसदबाट चुनिने प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको छ । प्रत्यक्ष निर्वाचित प्रमुखले ५ वर्षसम्म निरन्तर शासन चलाएमा अधिनायकवादतर्फ आकर्षित हुन सक्ने भन्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राखिएको छैन ।

संसद विघटनको अहिलेको अवस्थामा यो विषय पनि नयाँ प्रधानमन्त्रीका अगाडि चुनौतीको विषय देखिएको छ । अझ मुख्य राजनीतिक दलहरुले संसद विघटनप्रति आपति जनाइसकेका छन् । यस परिस्थितिमा नयाँ प्रधानमन्त्रीले संसद विघटनको विपक्षमा देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत मुख्य आठ राजनीतिक दलहरुलाई कसरी मनाउँछिन् भन्ने विषय पनि चासो र चुनौतीका रुपमा हेरिएको छ ।

नियमित काम

सरकारले नियमित काम गर्नुपर्ने छ । प्रशासनिक कामलाई अघि सार्न क्षति भएका भौतिक संरचनाको व्यवस्थापन गर्दै सेवा प्रवाहलाई ध्यान दिनुपर्नेछ । सरकारको नियमिति काम अघि बढाउनु पर्नेछ । तीन सदस्यमात्र मन्त्रिपरिषद् हुँदा नियमित काममा दबाब पर्नेछ । साविकको २५ सदस्यीय मन्त्रिपरिषद् हुँदा पनि नभएको डेलिभरीलाई चुस्त बनाउनु पर्नेछ । अन्तरिम सरकार भने पनि नियमित काम गर्नु उसको दायित्व हो । त्यसमाथि भौतिक संरचनाले साथ दिनेवाला छैन। व्यवस्थापिका नरहे पनि न्यायपालिका छ । उसको विश्वास आर्जन गर्दै व्यवस्थापिकाको पुनर्निर्माणको दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी सरकारको हुनेछ ।

खरानीलाई सम्हाल्नु
अहिले सरकारी कार्यालयमा खरानी मात्र छ । भवनले काम दिए पनि सुरक्षाको दृष्टिकोणले संवेदनशील छन् ती भवनहरू । चुनाव गराउन आकस्मिक रूपमा खर्चको जोहो गर्नुपर्ने छ । खरानीको थुप्रोमा सरकार बस्नेछ । किनकि नेपाल प्रहरीसँग सवारीसाधन छैनन् भन्दा पनि हुन्छ । सरकारी कार्यालयमा पनि सवारीसाधन कुनै सग्लो छैनन् । साधन बिना सेवा प्रवाह व्यवस्थित त हुने छैनन् नै नियमिति कामको चाप पनि पर्नेछ ।

आगो लागेको संसद भवन आफ्नै भवनमा त सर्ला तर सिंहदरबार, राष्ट्रपति भवनलाई निर्माण गर्नुपर्नेछ । सर्वोच्चको भवन डढे पनि नयाँ भवन बन्दै गरेकाले तुलनात्मक रूपमा कम क्षति भएको छ । तर चुनाव गराउन प्रत्येक बुथसम्म पुगेर मतपेटिका संकलन गर्ने सवारी, चुनावको सामग्री ढुवानी गर्ने सवारीको जोहो गर्नुपर्नेछ । उपत्यकाको सरकारी सवारी साधन सग्लो बसेको पाइएको छैन ।

व्यवस्थापिकाको आंशिक काम
चुनाव गराउनेदेखि आगोमा परेका संरचनाको पुनर्निर्माणमा पनि सरकारले ध्यान दिनुपर्नेछ । उसलाई आवश्यक पर्ने ऐन बनाउने व्यवस्थापिका अहिले छैन । त्यसको लागि संविधानमा टेकेर आवश्यक नियमावाली, निर्देशिका बनाउने काम पनि सरकारकै हो ।

सर्वोच्च अदालत आगजनी गर्ने अपराधी हुन्, अपराधीले हामीलाई चुनौती दिए : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन् । आज पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन् ।

उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो । अपराधीले हामीमाथि गरेको चुनौती हो । यो मुलुकको विरुद्ध गरेको चुनौती हो । जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ ।’

सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । भवन जल्नुभन्दा पनि महत्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पु¥याइएको बताइन् । उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन् । उनले सरकारी तथा व्यवसायी, उद्योगीको सम्पत्ति समेत क्षति भएको बताइन् । उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन् । ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन ।’

यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने समेत बताइन् । ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्,’ कार्कीले भनिन्, ‘त्यसमा पनि राज्य विचार गर्छ। हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने ?’

उनले अगाडि भनिन्, ‘कुन सहयोग दिने ? बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केहीबाट हुन्छ ।’ आगजनीबाट साना व्यापारीलाई पनि क्षति भएको कार्कीको भनाइ छ । ‘सटर खोलेका साना साना व्यापारीहरू पनि लुटिएका छन्,’ उनले भनिन्, ‘मैले समाचारमा पनि सुनेँ–जो व्यापारीको क्षति भएको छ, उहाँहरुले हामी फेरि उठ्ने कोशिस गर्छौं । हामी हार्दैनौं ।’ त्यसका लागि उनले धन्यवाद दिँदै कार्कीले भनिन्, ‘उहाँहरुले आन्तरिक बल देखाउनु भएकोमा उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।’

म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताएकी छन् । उनले भनिन्, ‘२७ घण्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’

कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको बताइन् । ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भने । कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन् । उनले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताएकी हुन् ।

‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले पदभार ग्रहणपछि सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो । म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन । सेवा गर्न आएको हो ।’ उनले ६ महिना भन्दा बढी सत्तामा नबस्ने पनि बताइन् । ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट म गर्छु । मलाई उहाँहरूले साथ दिनुपर्छ । सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन ।’

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, आजै सानो आकारको मन्त्रिमण्डल

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका सचिव एउवं कर्मचारी स्वागत गरेका छन् ।

त्यसअघि कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन् । जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ ।
आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र तोडफोले क्षतिग्रस्त भएकाले कार्की अहिले निजी निवासमा बसिरहेकी छिन् । आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । सिंहदरबारमा पद सम्हाल्दै प्रधानम्त्रीले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले बताए ।

प्रधानमन्त्री कार्कीद्वारा शहीदका शालिकमा माल्यापर्ण (तस्वीरहरू)

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरेकी छन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर शहीदका शालिकमा माल्यापर्ण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री कार्कीले आज साढे ११ बजे कार्यभार सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन् । सरकार निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।

सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ । पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो । जेनजीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो ।

 

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) बाट कार्यभार सम्हाल्दै छिन् । जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

शुक्रबार साँझ शपथग्रहण गरेकी कार्कीले आइतबार साढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

आन्दोलनका क्रममा भदौं २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी छ । कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने शर्तसहित राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ । आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन् ।तत्कालको लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ ।

कार्कीले हिजो जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर भेटेकी छन् । यस्तै हिजै उनले आन्दोलनका क्रममा आगजनी गरिएको कोटेश्वरस्थित प्रहरी कार्यालय निरीक्षण गर्दै प्रहरीहरुलाई उच्च मनोबलका साथ काममा फर्किन आग्रह गरेकी थिइन् ।

 

भोलि मन्त्रिपरिषद विस्तारको तयारी, छलफलमा प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् । पूर्व प्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । आज दिनभर मन्त्रिमण्डल बिस्तारको तयारी गर्ने स्रोतले जानकारी दिएको छ ।

त्यसबारे हिजो शीतल निवासमा समेत हल्का सल्लाह भएको बताइन्छ । प्रधानमन्त्रीको टिमले मन्त्रीहरूको नामबारे पहिले छलफल गर्ने र त्यसमा सेनाले कुनै हस्तक्षेप नगर्ने वचन प्रधान सेनापति अशोकराज सिग्देलले दिएका छन् । प्रधानमन्त्रीको शपथ सकेर जङ्गी अड्डा फर्किएका उनले त्यहाँ प्रतीक्षारत जर्नेल (पृन्सिपल स्टाफ अफिसर्स) हरुलाई मन्त्री चयनमा आफूहरुको कुनै हस्तक्षेप नरहने जानकारी दिएको स्रोतको भनाइ छ ।

सिग्देलको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सेनाले मन्त्रिमण्डल गठनवारे मागिएमा सुझावसम्म दिने हो । नाम सिफारिस गर्ने होइन । सल्लाह गर्ने हो, हस्तक्षेप गर्ने होइन ।’ सोही सन्दर्भमा नवनियुक्त प्रधानमन्त्रीले आज जेन जी समूहसँग बालुवाटारमा भेटेर कुराकानी गरेकी छन् । आजको भेटघाटमा हामी नेपालका सुदन गुरुङबाहेक अरु एक दर्जन सहभागी थिए ।

प्रधानमन्त्रीलाई मोदीको शुभकामना : नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जालमा अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै उनले शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा श्रीमती सुशीला कार्कीलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’

शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई शपथ दिलाएका थिए । मंगलबार र बुधबार भएको युवाहरूको आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार ढलेपछि देशले अन्तरिम सरकार पाएको हो । नयाँ सरकारले आगामी ६ महिनाभित्र निर्वाचन गर्नेछ । आउँदो फागुन २१ गते निर्वाचन मिति समेत तोकिएको छ ।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने- देश सफल होस्, जनता बचुन्

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।

जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।

‘बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।

अहिले उनलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिइरहेका छन्।  उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।

सुशीला कार्की मन्त्रिपरिषदको मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्नेछ ।

संविधानको धारा ६१ अनुसार सुशीला कार्की बनिन् नेपालको प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

जेन–जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन्। नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

औद्योगिक राजधानीको रुपमा चिनिएको विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा ।

यसअघि पाँच प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो । जो नेपालको कार्यकारी ओहदामा पुग्ने पहिलो महिला बनेकी छन् । कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् ।

यी हुन् विराटनगरले पाएका प्रधानमन्त्रीहरु
बीपी कोइराला–नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला–कांग्रेसका प्रभावशाली नेता
गिरिजाप्रसाद कोइराला–बहुदलीय लोकतन्त्र पुनस्र्थापनापछि चार पटक प्रधानमन्त्री
मनमोहन अधिकारी–पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल–पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की–पहिलो महिला प्रधानमन्त्री

सुशीलाको मन्त्रिपरिषदमा अर्याल र कुलमान मन्त्री बन्ने सम्भावना, सुधन गुरुङको पनि चर्चा

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ। अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको स्रोतले जनाएको छ।

हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । अहिले राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए । अर्याल काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पनि सल्लाहकार हुन् ।

त्यसैस्तै घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनु पर्ने अडान लिएका थिए । आजै शीतल निवासअघि घिसिङको पक्षमा नारा जुलुस भएको थियो । जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ ।

 

सुशीलालाई पहिलो महिला प्रधानमन्त्रीको सौभाग्यसँगै देशको संकट टार्ने पनि जिम्मा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुनेछ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।

नेपालले यसअघि पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीलाई पाएको थियो । जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्व प्रधानन्यायाधीश पनि हुन् । आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने । संसद विघटन गरी आजै शपथ ग्रहणको कार्यक्रम हुनेछ भने आजै शीतल निवासमा पहिलो बैठक पनि बस्नेछ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजनीति दलहरुले यही संविधानबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएका दिए । दलले संसद्बाटै अघि बढ्न र संसद विघटन नगर्न सुझाएका थिए । जेन–जीका तर्फबाट सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडानकाबीच प्रतिनिधि सभा विघटन गरी अन्तरिक सरकार गठन गर्न राष्ट्रपति तयार भएका हुन् ।

यसअघि काठमाडौंका मेयर बालेन शाहले पनि सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए । पूर्व प्रधानन्यायाधीश कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् ।

न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण चर्चामा आएकी पूर्व प्रधानन्यायाधीश कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

केही वर्षयता मुलुकको राजनीतिक तहमा देखिएको विकृति र विसंगतिमाथि तिखो टिप्पणी गर्दै आएकी कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूले सहमति दिएका हुन् ।

किसान परिवारमा जन्मिएकी कार्की मातापिताका सात सन्तानमध्ये जेठी हुन् । २५ जेठ २००९ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्की विराटनगरमा रहँदा बीपी कोइरालाको परिवार र प्रजातान्त्रिक आन्दोलनमा पनि जोडिइन् ।

न्यायपरिषद्मा रहेको उनको पुरानो अभिलेख अनुसार, उनले २०२८ सालमा विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए पास गरिन् अनि २०३१ सालमा बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । भारतको बनारस हिन्दू विश्वविद्यालयमा पढ्दा प्रजातान्त्रिक आन्दोलनका नेताहरूको संगतका क्रममा उनीसँग कांग्रेस नेता दुर्गा सुवेदीसँग भेट भयो र पछि उनीसँगै नै विवाह गरिन् ।

कांग्रेसको सक्रिय राजनीतिक छाडेको दशकौं भए पनि सुवेदी मुलुकको प्रजातान्त्रिक आन्दोलनका सक्रिय पुराना नेता हुन् । प्रजातान्त्रिक आन्दोलनका लागि आर्थिक स्रोत जुटाउन नेपाली कांग्रेसले २०३० सालमा गरेको विमान अपहरणको घटनामा सुवेदी पनि संलग्न थिए ।

कार्कीले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि २०३६ सालदेखि विराटनगरमा आधारित भएर कानुन व्यवसाय थालिन् । त्यसै सिलसिलामा उनले २०४२ सालदेखि चार वर्ष महेन्द्र बहुमुखी क्याम्पस, धरानमा अध्यापन पनि गरिन् । विराटनगरमै रहेर बारका विभिन्न पदहरूमा रहेर काम गरेकी उनी पुस २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी थिइन् ।

विराटनगरमा बसेर हक्की र निडर स्वभावमा कानुन व्यवसाय गरिरहेकी कार्कीलाई तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा ल्याउने प्रस्ताव अघि बढाएका थिए । ९ माघ, २०६५ मा सर्वोच्चको अस्थायी न्यायाधीश भएकी कार्की दुई वर्षपछि स्थायी बनिन् । अनि न्यायाधीश भएको सात वर्ष सात महिनापछि १ वैशाख, २०७३ मा कामु प्रधानन्यायाधीश भइन् ।

त्यसको तीन महिनापछि बल्ल संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेर उनी प्रधानन्यायाधीश बनेकी थिइन् । जेठ २०७४ सम्म प्रधानन्यायाधीश बनेकी उनले करिब १५ महिना न्यायपालिकाको नेतृत्व गरिन् । व्यक्तिको राजनीतिक पृष्ठभूमिलाई न्यायाधीश छनौटको आधार मान्न नहुने उल्लेख गर्दै ‘न्यायालयको मन्दिरमा प्रवेश गर्ने भए राजनीतिको चप्पल बाहिरै फुकालेर आउनु पर्ने’ भनी उनले दिएको अभिव्यक्ति त्यतिबेला चर्चित भएको थियो ।

उनका पालामा उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति भएको थियो, जुनपछि विवादास्पद पनि भयो । उनले आत्मकथामा कांग्रेसका तत्कालीन नेता रमेश लेखक र माओवादी नेता वर्षमान पुनले नियुक्तिका क्रममा निकै हस्तक्षेप गर्न खोजेको र दबाब दिएको भनी खुलासा गरेकी थिइन् ।

प्रधानन्यायाधीशबाट अवकाश पाउन करिब ४० दिन बाँकी छँदा उनले महाभियोगको सामना गर्नुपर्‍यो । सत्तामा रहेका कांग्रेस र माओवादी सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे, पछि सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण महाभियोगको प्रस्ताव निस्तेज भयो ।

सडकमा चौतर्फी विरोधपछि सांसदहरूले महाभियोगको प्रस्ताव फिर्ता लिन बाध्य भए । महाभियोगपछि सर्वोच्च फर्किएकी उनले बाँकी करिब एक महिना सर्वोच्च अदालतमा मुद्दाको सुनुवाई गरिनन्, प्रशासनिक काम कारबाहीमा सीमित बनेर अवकाश भइन् । उनी महाभियोग खेप्ने पहिलो प्रधानन्यायाधीश समेत बनिन् ।

प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा अदालतको फैसलाबाट आफ्नो स्वार्थ नमिलेपछि कांग्रेस र माओवादीले उनलाई महाभियोग लगाएका थिए । २०८० सालमा सर्वोच्च अदालतकै संवैधानिक इजलासले उनीमाथिको महाभियोगलाई ‘राजनीतिक प्रतिशोध’ भनेको थियो ।

उनका पालामा सर्वोच्च अदालतमा वर्षौदेखि रोकिएका केही महत्वपूर्ण मुद्दाको फैसला भयो । कतिपयको न्यायनिरुपणमा उनी संलग्न भइन्, कतिपयमा भने उनी विनाको इजलासले पुराना र बहुचर्चित मुद्दा टुंग्यायो ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता विवाद, पूर्वराजा ज्ञानेन्द्रकी शाहकी छोरी प्रेरणाको दाइजोसम्बन्धी जग्गा र सुडान घोटालाको भ्रष्टाचार मुद्दा उनको पालामा भएका बहुचर्चित फैसलाहरू हुन् । बहालवाला सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता उनी सहितको इजलासबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।

उनको खरो र निर्भिक अडान एकातिर छ, इतर विचारलाई हतपत विश्वास नगर्ने उनको अर्को कमजोरी हो । राजनीतिक पृष्ठभूमि र दर्शन सहितका राजनीतिक पक्षको विश्वास जित्न निकै हम्मेहम्मे हुनेछ । आफ्ना कमजोरीलाई पैतालामा दबाएर राजनीतिक विश्वासमार्फत निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ निर्वाचित जनप्रतिनिधिको हातमा सुम्पिनु उनका लागि सजिलो काम होइन ।

‘उहाँ हिड्ने बेलामा कुनै सरकारी पदको आकांक्षा राख्नुभएको थिएन, त्यसपछि पनि कुनै लालचा प्रकट गर्नुभएन । मुलुकलाई संकटबाट निकास दिन युवा आन्दोलनकारीहरूको आग्रह टार्न नसकेर उहाँले यो जिम्मेवारी स्विकार गर्नु भएको देखिन्छ’, उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘विगतमा आफैंले प्रतिपादन गरेको मान्यतालाई भूलेर यो जिम्मेवारी सम्हाल्नु भएकी उहाँलाई मुलुककै अस्तित्व जोगाउन पनि असफल हुने छुट छैन ।’

पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति भएको छ । शुक्रबार भएको छलफलमा कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति भएको हो । छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति भएको हो ।

कार्कीको आजै शपथ गराउने तयारी पनि भएको शीतलनिवास सम्वद्ध स्रोतले जनाएको छ । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।

प्रधानमन्त्री बन्न सुशीलाको दुई शर्त : दमनविरुद्ध छानबिन र संसद विघटन

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन हुनुपर्ने शर्त राखेकी छन् । उनले यी दुई शर्त पूरा नभए जिम्मेवारी लिन नसकिने स्पष्ट पारेकी छन् । गए राति अबेरसम्म यस विषयमा शीतलनिवासमा छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा यिनै दुई शर्तमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी थिइन् ।

यी शर्त पूरा गर्दै आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताका नाममा शीतलनिवास नबोलाउन भनेकी छन् । ‘संसद कायमै राख्ने हो पुराना दलहरूले चुनाव गराउन दिँदैनन् । आफूहरू हार्न सक्ने देखेमा यिनीहरू चुनाव गराउन दिँदैनन् । संसदको शक्ति देखाउँछन् । अन्तरिम सरकारलाई असफल बनाएर शक्ति आफ्नो हातमा लिनेतिर लाग्छन् । यस्तो अवस्थामा सरकारमा गएर काम छैन’, कार्कीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

अहिलेसम्म भएका कयौँ छानबिनहरू छन्, ती कुनैमा पनि कारबाही गरिएको छैन । यसपालि पनि त्यही प्रवृत्ति दोहोरिने हो भने यति ठूलो विद्रोहको के अर्थ भयो भन्ने कुरा कार्कीले राखेको स्रोतले जानकारी दिएको छ ।
कार्कीले आफू वार्ता गर्ने पक्षमा पनि नभएकाले वार्तामा नबस्ने र आज शीतलनिवास पनि नजाने अडान राखेकी छन् । ‘जे गर्छन् जेनजीले गर्छन् । वार्ता, सहमति जे गरे पनि जेनजीसँगै गरे हुन्छ । म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन’, कार्कीको भनाइबारे स्रोतले जानकारी दियो ।

जेनजीले उठाएका मूल मुद्दाभन्दा बाहिर गएर आफूले निर्णय गरे त्यो मान्य हुन नसक्ने र विद्रोहीहरूको भावना विपरीत हुने कार्की भनाइ छ । कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव जेनजी समूहले नै गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि उनलाई समर्थन गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की बनाउने सहमति, संसदको विषय टुंग्याउन आज फेरि वार्ता

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटेको छ । संसद विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको माग अब टुंगो लाग्न बाँकी छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि झण्डै साढे ४ घण्टा अर्थात् आज शुक्रबार बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो । तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन् । यसका लागि अहिले बिहान ९ बजे पुनः वार्ता बस्ने तयारी छ ।

कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो । शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् ।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो । तर संसद् विघटन गरिनु पर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनः वार्ता गर्न लागिएको हो ।

छलफलमा संसद रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो । तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविदहरूसँग परामर्श गरेका छन् ।

संविधानको उक्त उपधारामा लेखिएको छ–संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ । ‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन’, संविधानविदहरूले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ । संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय गर्न सक्ने छन् । त्यसका लागि हालकै कामचलाउ सरकारको मन्त्रिपरिषद्बाट बाधा अड्काउ फुकाउको सिफारिस हुन सक्नेछ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो । प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो। आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन्।नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै विरोध जनाएका हुन् ।

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् । सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

राष्ट्र हितका लागि सरकारको नेतृत्व प्रस्ताव स्वीकार गरेकी छु : सुशीला कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्व प्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन् । मैले यसलाई स्वीकार गरेकी छु’, उनले भनेकी छन्। उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि गर्ने कामका विषयमा पनि चर्चा गरेकी छन् ।

‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्, ‘उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन । हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारें । पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो ।’

पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनका विषयमा पनि चर्चा गरेकी छन् । ‘नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनु पर्‍यो भनेर भएको हो नि । हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौं । कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउँलान् । यो त उनीहरूको रोजाइ हो । कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठिकै छ’, उनले भनेकी छन् ।

उनले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी छन् । ‘चुनाव गर्न त समय लाग्ला । ६ महिना लाग्ला, एक वर्ष लाग्ला । तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं । म कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन् ।