सर्वोच्च अदालत आगजनी गर्ने अपराधी हुन्, अपराधीले हामीलाई चुनौती दिए : प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन् । आज पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन् ।
उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो । अपराधीले हामीमाथि गरेको चुनौती हो । यो मुलुकको विरुद्ध गरेको चुनौती हो । जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ ।’
सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । भवन जल्नुभन्दा पनि महत्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पु¥याइएको बताइन् । उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन् । उनले सरकारी तथा व्यवसायी, उद्योगीको सम्पत्ति समेत क्षति भएको बताइन् । उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन् । ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन ।’
यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने समेत बताइन् । ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्,’ कार्कीले भनिन्, ‘त्यसमा पनि राज्य विचार गर्छ। हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने ?’
उनले अगाडि भनिन्, ‘कुन सहयोग दिने ? बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केहीबाट हुन्छ ।’ आगजनीबाट साना व्यापारीलाई पनि क्षति भएको कार्कीको भनाइ छ । ‘सटर खोलेका साना साना व्यापारीहरू पनि लुटिएका छन्,’ उनले भनिन्, ‘मैले समाचारमा पनि सुनेँ–जो व्यापारीको क्षति भएको छ, उहाँहरुले हामी फेरि उठ्ने कोशिस गर्छौं । हामी हार्दैनौं ।’ त्यसका लागि उनले धन्यवाद दिँदै कार्कीले भनिन्, ‘उहाँहरुले आन्तरिक बल देखाउनु भएकोमा उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।’