म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताएकी छन् । उनले भनिन्, ‘२७ घण्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’
कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको बताइन् । ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भने । कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन् । उनले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताएकी हुन् ।
‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले पदभार ग्रहणपछि सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो । म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन । सेवा गर्न आएको हो ।’ उनले ६ महिना भन्दा बढी सत्तामा नबस्ने पनि बताइन् । ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट म गर्छु । मलाई उहाँहरूले साथ दिनुपर्छ । सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन ।’