`

प्रधानमन्त्री सुशीला कार्की बनाउने सहमति, संसदको विषय टुंग्याउन आज फेरि वार्ता

Nepal One HD २७ भदौ २०८२ ७:०७
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटेको छ । संसद विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको माग अब टुंगो लाग्न बाँकी छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि झण्डै साढे ४ घण्टा अर्थात् आज शुक्रबार बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो । तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन् । यसका लागि अहिले बिहान ९ बजे पुनः वार्ता बस्ने तयारी छ ।

कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो । शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् ।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो । तर संसद् विघटन गरिनु पर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनः वार्ता गर्न लागिएको हो ।

छलफलमा संसद रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो । तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविदहरूसँग परामर्श गरेका छन् ।

संविधानको उक्त उपधारामा लेखिएको छ–संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ । ‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन’, संविधानविदहरूले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ । संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय गर्न सक्ने छन् । त्यसका लागि हालकै कामचलाउ सरकारको मन्त्रिपरिषद्बाट बाधा अड्काउ फुकाउको सिफारिस हुन सक्नेछ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो । प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो। आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *