`

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै

Nepal One HD २९ भदौ २०८२ ७:४३
समाचार

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) बाट कार्यभार सम्हाल्दै छिन् । जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

शुक्रबार साँझ शपथग्रहण गरेकी कार्कीले आइतबार साढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

आन्दोलनका क्रममा भदौं २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी छ । कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने शर्तसहित राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ । आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन् ।तत्कालको लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ ।

कार्कीले हिजो जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर भेटेकी छन् । यस्तै हिजै उनले आन्दोलनका क्रममा आगजनी गरिएको कोटेश्वरस्थित प्रहरी कार्यालय निरीक्षण गर्दै प्रहरीहरुलाई उच्च मनोबलका साथ काममा फर्किन आग्रह गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *