प्रधानमन्त्री बन्न सुशीलाको दुई शर्त : दमनविरुद्ध छानबिन र संसद विघटन


काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन हुनुपर्ने शर्त राखेकी छन् । उनले यी दुई शर्त पूरा नभए जिम्मेवारी लिन नसकिने स्पष्ट पारेकी छन् । गए राति अबेरसम्म यस विषयमा शीतलनिवासमा छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा यिनै दुई शर्तमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी थिइन् ।
यी शर्त पूरा गर्दै आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताका नाममा शीतलनिवास नबोलाउन भनेकी छन् । ‘संसद कायमै राख्ने हो पुराना दलहरूले चुनाव गराउन दिँदैनन् । आफूहरू हार्न सक्ने देखेमा यिनीहरू चुनाव गराउन दिँदैनन् । संसदको शक्ति देखाउँछन् । अन्तरिम सरकारलाई असफल बनाएर शक्ति आफ्नो हातमा लिनेतिर लाग्छन् । यस्तो अवस्थामा सरकारमा गएर काम छैन’, कार्कीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
अहिलेसम्म भएका कयौँ छानबिनहरू छन्, ती कुनैमा पनि कारबाही गरिएको छैन । यसपालि पनि त्यही प्रवृत्ति दोहोरिने हो भने यति ठूलो विद्रोहको के अर्थ भयो भन्ने कुरा कार्कीले राखेको स्रोतले जानकारी दिएको छ ।
कार्कीले आफू वार्ता गर्ने पक्षमा पनि नभएकाले वार्तामा नबस्ने र आज शीतलनिवास पनि नजाने अडान राखेकी छन् । ‘जे गर्छन् जेनजीले गर्छन् । वार्ता, सहमति जे गरे पनि जेनजीसँगै गरे हुन्छ । म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन’, कार्कीको भनाइबारे स्रोतले जानकारी दियो ।
जेनजीले उठाएका मूल मुद्दाभन्दा बाहिर गएर आफूले निर्णय गरे त्यो मान्य हुन नसक्ने र विद्रोहीहरूको भावना विपरीत हुने कार्की भनाइ छ । कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव जेनजी समूहले नै गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि उनलाई समर्थन गरेका छन् ।