संसद् पुनर्स्थापना हुने अवस्था छैन : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब संसद पुनर्स्थापना हुने सम्भावना नरहेको बताएकी छन् । बीबीसी नेपाली सेवासँग एक अन्तर्वार्ताका क्रममा उनले संसद् ‘डिमोरलाइज्ड’ भइसकेको भन्दै अब पुनः स्थापनाको सम्भावना नरहेको बताएकी हुन् । सर्वोच्चले संसद् पुनः स्थापना गर्न पनि सक्छ भन्ने प्रश्नमा उनले भनेकी छ, ‘सर्वोच्च वा कुनै अदालतले बोलेपछि त्यो त माान्नु पर्यो । ठिक छ भन्ने नै हो । जबजसम्म काम गर्न पाउँछौँ त्योसम्म हामी गर्छौ । जहाँसम्म मलाई लाग्छ अब संसद् एक्टिभ हुने अवस्था छैन । डिमोरलाइज्ड अवस्थामा छ । दलहरू डिमोरलाइज्छ अवस्थामा छन् । अब निर्वाचन नै प्रमुख कुरा हो ।’
अन्तर्वाताका क्रममा उनले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीयसम्म हुने उनले बताएकी छन् । बरु एक व्यक्तिलाई दुई मन्त्रालयको जिम्मेवारी दिएर कम मन्त्रिमण्डल बनाउने तयारी रहेको उनको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यक्तिलाई पनि मन्त्रीपरिषद्मा राख्न सुझाव दिएकोमा आफूले त्यसलाई इन्कार गरेको र गैरराजनीतिक व्यक्तिलाई मात्र मन्त्री बनाउने कार्कीले बताइन् । उनले बरु महिला, आदिवासी, जनजाति, दलित, पिछडिएकोलगायत कलस्टरबाट समावेश गर्ने गरी तयारी भएको समेत बताइन् । उनले ६ महिनामा सकभर निर्वाचन गराइछाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।
‘६ महिनामा निर्वाचन भएन भने अर्को एक-दुई महिना जाला । हामी सकेसम्म निर्वाचन मिति थप्ने पक्षमा छैनौँ’, उनले भनिन् । युवाहरूको मागअनुसार सुशासन कायम गर्न सरकारले काम गर्ने उनको भनाइ छ । अहिले मानवीय र भौतिक क्षति भएको र उच्चस्तरीय न्यायीक जाँचबुझ समितिको प्रतिवेदनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याइने पनि कार्कीले बताइन् । उनले मित्र राष्ट्र चीन र भारतसँग सम्बन्ध नबिग्रिएको भन्दै यस अन्तरिम सरकारले पनि मित्रवत सम्बन्ध होस् भन्ने सोचेको बताइन् ।
उनले काम गर्न सक्दिन जस्तो नलागेको बताएकी छन् । ‘वातावरण पाए भने काम गर्न सक्दिनँ भन्ने लाग्दैन । २७ गते राति मेरो सपथ भएको थियो । २८ गते शनिबार थियो । त्यस दिन पनि मैले दिनभर काम गरें । म दिनदिनै काम गर्न सक्छु । अहिले पनि सक्रिय छु । शरीरले गर्न नसक्ने बनाएको छैन’, उनले भनिन्, ‘अर्को कुरा के छ भने मैले राम्राराम्रा व्यक्तिलाई चुनेको छु । ती सबै सहयोगी छन् । उनीहरू पनि म जत्तिकै आफ्नो इज्जत राख्नेमा छन् । रामेश्वरजी, कुलमान, ओम सबै । म आफूलाई भन्दिनँ यिनीहरू त हिरा नै हुन् । यस्ता व्यक्तिको सहयोग छ । तर म सबै कुराको जिम्मा लिन्न नि । उहाँहरू सबैलाई बाँडिदिएको छ । अहिले पनि म खटिरहेको छु । यति खटेपछि भगवानले मलाई बदनाम गराउलान जस्तो लागेको छैन । काम गर्न सक्छु भन्नेमा छु ।’ कार्कीले अबको आउने निर्वाचनमा आफू उम्मेदवार नहुने पनि बनाइन् । निर्वाचन गराएपछि आफू खुला संसारमा पुगेको महसुस गर्ने उनको भनाइ छ ।
