सर्वदलीय वैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुँदै


काठमाडौं । राजनीतिक दलहरुसँगको संवादमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पर्यवेक्षक राख्ने भएकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केदारभक्क माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री कार्कीले ७ राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल आयोजना गरेकी छिन् । निर्वाचन गराउने उद्देश्यसहित गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।
‘आज बालुवाटारमा राजनीतिक दलहरूसँग चुनावबारे हुने संवादमा २ जना पर्यवेक्षक पनि सहभागी हुने छन्’, प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले ह्वाट्सएप ग्रुपमा पत्रकारहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा सहभागी हुनु हुनेछ ।’
प्रधानमन्त्रीले डाकेको बैठकमा राजनीतिक दलको नेतृत्वमा रहेका प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो । बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए । त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति गगन थापा, प्रकाशशरण महत बैठकमा सहभागी भएका छन् ।
राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए । त्यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुने भएका छन् । राष्ट्रपतिले आव्हान गरेको बैठकमा भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने भएका छन् । राष्ट्रपतिले डाकेको बैठकमा कार्यवाहक सभापति डिपी अर्याल गएका थिए । mागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो । तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन ।