प्रधानमन्त्रीले भनिन्–सरकार एनजीओको होइन, जेनजीको वास्तविक लिडर मलाई पनि थाहा छैन


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका वास्तविक नेतृत्वबारे खुलेर प्रश्न उठाउँदै, ‘को हो त लिडर ? मलाई पनि थाहा छैन’, भनेर आफ्नो अन्योल सार्वजनिक रुपमा व्यक्त गरेकी छन् ।
शनिबार शीतलनिवासमा जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूसँग प्रधानमन्त्री र मन्त्रीहरूको अनौपचारिक भेटमा उक्त कुरा खोलेकी हुन् । वार्ताको मूल केन्द्रबिन्दु जेनजी आन्दोलनपछिको सरकारको वैधता, नेतृत्व संरचना, र विशेष गरी आन्दोलनको ‘हाईज्याक’ भएको भन्ने आरोप रहे पनि प्रधानमन्त्रीले केही विषयहरूमा प्रतिवाद गरिन् भने केहीमा आफूलाई पनि अन्योल रहेको स्वीकारिन् ।
‘सरकार एनजीओको होइन, म आफैं चलाइरहेकी छु’
छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार, जेनजी समूहले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘के यो सरकार विदेशी एनजीओहरूले चलाएको हो ?’ जवाफमा प्रधानमन्त्री कार्कीले स्पष्टसँग भनिन्, ‘होइन, यो सरकार मैले नेतृत्व गरेको हो, कुनै एनजीओले होइन । तपाईंहरू ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले आफ्नो सरकार आन्दोलनकै जगमा बनेको, जनभावनाको कदर गर्ने र समयमै निर्वाचन गराउने पक्षमा रहेको बताउँदै सहयोगका लागि आह्वान गरिन् ।
प्रमुख दलहरू ‘चुनाव’ मा अनिश्चयमा, राष्ट्रपति अनुपस्थित
भेटवार्ता राष्ट्रपतिसँग तय भए पनि रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएपछि छलफल प्रधानमन्त्री र मन्त्रीहरूले नै नेतृत्व गरेका थिए। प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासमा सबै पक्षले भाग लिनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस र एमालेलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । तर ती दलहरूले अन्तिम निर्णय पार्टीको बैठकपछि मात्रै लिने बताएका छन् । स्रोतका अनुसार, दुवै दलले आगामी चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनभित्र ‘वास्तविक नेतृत्व’ को खोजी
छलफलमा उठेको अर्को प्रमुख विषय थियो—जेनजी आन्दोलनको आधिकारिक प्रतिनिधित्व कसले गर्छ ? विभिन्न समूह, उपसमूह र नेतृत्वदावीबीच देखिएको भ्रमतर्फ इशारा गर्दै प्रधानमन्त्रीले भनिन्, ‘जेनजी आन्दोलनको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आन्दोलनको नेतृत्व स्पष्ट नभएको र सरकार आफैं पनि यस विषयमा स्पष्ट दिशानिर्देश बिना रहेको सन्देश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको फरक अभिव्यक्ति
वार्तामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई हरहालतमा सफल बनाउनुपर्ने र त्यसका लागि परराष्ट्रमा रहेका नेपालीको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको थियो ।
पार्टीका सहमहामन्त्री विपिन कार्कीले मुख्यधारका दलहरूले जेनजी आन्दोलनप्रति अझ गहिरो समझ आवश्यक रहेको बताएका छन् । उता राप्रपाका ज्ञानेन्द्र शाहीले संघीयता खारेज र राजसंस्थाको पुनस्र्थापनासहितको ८ बुँदे प्रस्ताव पेश गरेका थिए ।
छलफल खुल्यो, तर अन्योल अझ बाँकी
शनिबारको छलफलले सत्ता र आन्दोलनबीच संवादको ढोका खोल्ने प्रयास गरे पनि नेतृत्वको अस्पष्टता, दलहरूको अनिश्चय र राष्ट्रपति अनुपस्थितिका कारण ठोस निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकारभित्र पनि आन्दोलनप्रति अझै स्पष्ट रणनीति र समन्वयको खाँचो देखिएको छ ।