`

आफैले बनाएको प्रधानमन्त्रीसँग किन भेटिएनन् बालेन ?

Nepal One HD २ मंसिर २०८२ ८:०७
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौँ उपत्यकाका मेयरहरूलाई बालुवाटार बोलाएर समस्यामाथि खुला संवाद गरिरहँदा, सबैको ध्यान एकै कुरामा अडियो—उपत्यकाका सबै स्थानीय तहका प्रमुख उपस्थित थिए, तर काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) भने देखिएनन् ।

उपस्थित एक मेयरका अनुसार प्रधानमन्त्री कार्कीले छलफलको सुरुमै बालेनलाई लिएर गुनासो उठाइन्, ‘उनी किन आएनन् ?’ यति मात्र होइन, उनले बालेनको ‘भिन्न स्वभाव’ बारे टिप्पणी गर्दै भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्नै कुरा मात्र भन्छ ।’

जेनजी आन्दोलनमा निर्णायक भूमिका खेलेका मेयर बालेनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै आक्रामक रूपमा सरकारमाथि दबाव बढाइरहेका छन् । तर सरकारले भने चुनावको वातावरण बनाउन दलहरूसँग संवादमै ध्यान दिन थालेपछि बालेन असन्तुष्ट बनेको उनीहरूकै टीम भित्रबाट बताइन्छ ।

केही दिनअघि बालेन पक्षबाट गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिएको थियो । प्रधानमन्त्री कार्यालयले तत्कालै काउण्टर जवाफ दिंदै मन्त्री छनोट प्रधानमन्त्रीको अधिकार भएको स्पष्ट पार्‍यो । त्यसयता बालेन सरकारसँग ‘संवादविहीन’ अवस्थामा छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहका प्रमुखहरूले बैठकमा चुनाव, सुरक्षा, फोहोर व्यवस्थापन, सडक निर्माणदेखि लिएर विद्युत् महसुलसम्मका समस्या राखे । प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै ‘चुनाव मात्र गराऊ, अरु काम नगर भनिन्छ, तर तपाईहरूका समस्यामा जति सकिन्छ सहयोग गर्छु’ भनी प्रतिक्रिया दिइन् ।

काठमाडौँ महानगरका प्रमुख अनुपस्थित हुँदा फोहोर संकट, सडकबत्ती बक्यौता, काठमाडौंका विशिष्ट समस्याहरू उठ्नै नपाउने स्थिति बन्यो। उपस्थित मेयरहरूले भने संघीय सरकारले ३ करोडभन्दा कमका योजनाहरू कटौती गरेपछि विकास रोकिएको गुनासो पोख्दै, फोहोर–सडक–सुरक्षा तीनै क्षेत्रमा ‘बोल्ड डिसिजन’ गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

समाजको बिग्रँदो अवस्था र युवामा बढ्दै गएको वितृष्णाबारे बोल्दै प्रधानमन्त्रीले गत ३०–३५ वर्षको एकलौटी शासनले आजको असन्तोष ल्याएको स्वीकार गरिन् । उनले भनिन्, ‘समाज भाँचिएपछि बनाउने हामी नै हौं । कोही आएर सपारिदिन्छ भन्ने भ्रम नपालौं ।’

उपत्यकाका ३ जिल्लाका सबै मेयर उपस्थित रहँदा काठमाडौँका मेयर बालेनको कुर्सी भने खाली रह्यो । मुलुकमा चुनावी सरकारको तयारी तीव्र बन्दै गर्दा बालेनको सरकारी संयन्त्रप्रति असन्तुष्टि र संवादविहीनता अब खुला राजनीतिक सन्देश जस्तै बनिरहेको छ । तर सबैको मनमा अहिले एउटै प्रश्न उठिरहेको छ–देश बनाउने भन्दै उठेका बालेन, आफैले बनाएको प्रधानमन्त्री भेट्न किन गएनन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *