`

माओवादी नेता आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एकको मृत्यु

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आङ्बोले चढ्दै आएको प्रदेश सभाको को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडाँलले बताइन् ।

आङ्बो चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपीओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो । बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ग्रामथान–५ ककडमाडीमा ठक्कर दिँदा चौधरी घाइते भएका थिए । उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटना हुँदा आङ्वो बने गाडीमा सवार नरहेको प्रहरीले जनाएको छ ।

 

 

माओवादीको ‘फ्रिज’ रोक्न आयोगमा जनार्दनको निवेदन, क–कसले दिंदैछन् साथ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह र झण्डा यथावत राख्न पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले आज निर्वाचन आयोगमा निवेदन दिएको छ । अभियानमा संलग्न नेता सन्दीप पुन, रजमान तामाङ लगायतका नेताहरू कान्तिपथ पुगेर पार्टीलाई ‘फ्रिज’ नगर्न मागसहितको निवेदन बुझाएका हुन् ।

पत्रमा उल्लेख छ कि दर्ता नम्बर ६५३ अन्तर्गतको पार्टीको नाम, झण्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको छ । आयोगले पार्टीको पहिचान फ्रिज गरेमा निर्वाचनको वैधानिकता नै प्रश्नविहीन हुने सम्भावना छ ।यसैबीच, नेकपा माओवादी केन्द्रले दश पार्टीसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी नामकरण गरे पनि, जनार्दन शर्माले पार्टी एकता प्रक्रियामा सहभागी नहुँदै नयाँ पार्टी गठनको तयारी गरेका छन्। शर्मा ४० वर्षसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेर पार्टीमा काम गर्दै आएका थिए।

शर्माको अभियान सुरुमा तत्कालीन सचिव राम कार्की र स्थायी समिति सदस्य अञ्जना विशंखेले समर्थन गरेका थिए । यद्यपि सुरुमा धेरैले साथ नदिए पनि, बिस्तारै पूर्व माओवादी नेताहरू उनको अभियानमा जोडिन थालेका छन् । उता, नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरू पनि निर्वाचन आयोग पुगेका छन् । गत कात्तिक ११ गते दल दर्ताको लागि निवेदन दिएका उनीहरू आज सनाखतका लागि उपस्थित भएका हुन् ।
शर्मासँग हालसमम जोडिएका नेताहरू
जनार्दन शर्मा
राम कार्की
सुदन किराँती
अञ्जना विशंखे
जगप्रसाद शर्मा
नारायणी शर्मा
पुष्प न्यौपाने
सन्तोष विष्ट
पदमराज जोशी
ओमप्रकाश पुन
राजकुमार शर्मा
शिवकुमार मण्डल
अशोक जयसवाल
उमेश यादव
भगत बडुवाल
टेकेन्द्र भट्ट
दीपक साउद
विमला सिंह
भीमप्रकाश शर्मा
भीमबहादुर मल्ल
रामप्रसाद न्यौपाने
प्रतिभा केसी
मनऋि धिताल

यस्तो स्थितिमा, पूर्वमाओवादी नेताहरूको समर्थनमा नयाँ प्रगतिशील अभियानले आगामी निर्वाचनमा आफ्नो पहिचान कायम राख्न निर्वाचन आयोगसामु कडा चुनौती प्रस्तुत गरेको छ ।

 

१० वाम दलको एकता फागुन २१ सम्म टिके ठुलो कुरो : लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नेकपा एकीकृत समावादीसहित १० वाम दलको एकता लामो समय नटिक्ने टिप्पणी गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनसम्म टिके पनि ठूलो हुने उनले टिप्पणी गरेका छन् । घोषणा सभामा नगएका नेता न्यौपानेले आफूले ओछ्यानमा बसेर भिडिओ हेरेको जानकारी गराएका छन् ।

‘पिँध नभाका लोटा अनुहार कुच्चिएका पानीका लौरा पिङ खेल्दा खेल्दा थाकेका गनाएका नाम मञ्चमा, यसो हेरेको सबै दाने गाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो’ उनले भनेका छन्, ‘नहुनु भन्दा जस्तो भए पनि मामा मामै हो, चित्त बुझाउने मेसो । एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज ?’ एकता प्रक्रियामा असहमति जनाउँदै जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतले बेग्लै अभियान घोषणा गरिसकेका छन् ।

अशोक राईलाई प्रचण्ड–माधवको एकता प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि राईले केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष राईले एकताको प्रस्ताव आएको पुष्टि गर्दै पार्टीको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्ने उनले जनाएका छन् ।

बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका प्रस्तावसहित आगामी निर्वाचन र भदौको जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे छलफल हुने अध्यक्ष राईले बताए । ‘पार्टी एकता गरौं, नभए मोर्चाबन्दी गरौं भनेर प्रचण्डबाट, माधव नेपालजी लगायत दुई–चार ठाउँबाट प्रस्ताव आएको छ । यस सम्बन्धमा कस्तो नीति बनाएर जाने भन्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको छ,’ अध्यक्ष राईले भने । उनले केन्द्रीय समिति बैठकको निष्कर्षअनुसार अगाडि बढ्ने बताएका छन् ।

माओवादी र नेकपा एससहितका नौं वाम घटकको आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौं वाम घटकबीच आज (बुधबार) काठमाडौं भृकुटीमण्डपमा पार्टी एकता घोषणा हुँदैछ ।

एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ ।

एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल रहने छन् । पार्टीको मार्गदर्शक सिद्धान्त भने माक्र्सवाद, लेलिनवाद हुने सहमति भएको छ । यो एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी हुन लागेका हुन् ।

यो एकतासम्बन्धी निर्णयलाई माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको छ । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ ।

गएको आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए । त्यस लगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो । माओवादी र एकीकृत समाजवादीसहितका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ ।

माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखेसहितका नेता र एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका नेताले यो एकताप्रति असहमति जनाउँदै यो एकता प्रक्रियामा सामेल नहुने घोषणा गरेका छन् । जनार्दन शर्मासहितका नेताले प्रगतिशील एकता अभियान घोषणा गरिसकेका छन् भने एकता प्रक्रियामा सहभागी नहुने जनाएका एकीकृत समाजवादीका नेताले एमालेमै फर्किने गरी छलफल अघि बढाएका छन् ।

नौं घटकको एकतापछि ‘नेपाली कम्युनिष्ट पार्टी’

काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न नौं कम्युनिष्ट घटकबीचको एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ । आज (मंगलबार) पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिए ।

यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लाग्न बाँकी थियो । ‘नेपाली कम्युनिष्ट पार्टी रहने छ, चुनाव चिह्न पाँचकुने तारा हुनेछ । आजको बैठकले यसलाई अनुमोदन गरेको छ’, सापकोटाले भने । उनले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए । त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा अझै पनि विचार गर्न आग्रह गरेको उल्लेख गरे । त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

उनले नेतृत्व परिवर्तन स्वाभाविक रुपमा हुने भन्दै कुनै पनि व्यक्ति नमर्दासम्म पदमा नरहने बताए । ‘नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होइन’ उनले भने, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ ।’ माओवादी, एकीकृत समाजवादीसहित नौं कम्युनिष्ट घटकबीच बुधबार एकता घोषणा हुँदैछ । प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रीय समितिको बैठकले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेण्डा छ । उक्त एकताप्रति असहमति प्रकट गर्दै जनार्दन शर्माले अलग अभियान घोषणा गरेका छन् ।

नेता शर्माले प्रतिस्पर्धा गर्न नदिन र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरिएको आरोप लगाएका छन् । मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन् । ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन । त्यो आयोजक समितिले पाउँदै पाउँदैन । आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो ।’

‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे । उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे ।

‘जेनजी आन्दोलनले समाजवादी क्रान्तिको झल्को दियो’
माओवादी केन्द्रका संयोजक प्रचण्डले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले कम्युनिष्टहरुले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको बताएका छन् । नेकपा एसलगायत ८ वटा घटकसँग एकताअघि बसेको माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका रुपमा जेनजी आन्दोलनलाई संश्लेषण गर्दै लैजानु पर्ने बताएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जेनजी आन्दोलनमा माओवादीले उठाएका विषय नै युवाले स्थापित गरेको बताए । सोही बैठकले भीम रावल, झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरुलाई पनि छलफल गरेर एउटै पार्टीमा समेट्न पहल गर्ने निर्णय गरेको छ ।

 

प्रज्ञा भवनमा माओवादी विशेष महाधिवेशन आयोजक समितिको वैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा सचिवालय बैठक सुरु भएको हो । सचिवालय बैठक सकिएलगत्तै आयोजक समितिको केन्द्रीय समितिको पूर्ण बैठक पनि सोही स्थलमा बस्ने छ । बैठकले नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गर्ने निर्णय अनुमोदन गर्नेछ ।

जनार्दनको नयाँ बाटो : ‘वाम–प्रगतिशील ध्रुवीकरण’ अभियान घोषणा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज (मंगलबार) विशेष पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा ‘वाम–प्रगतिशील ध्रुवीकरण’ अभियानको घोषणा गर्ने भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ घटकबीच भएको हालैको पार्टी एकता प्रक्रियामा असहमति जनाउँदै शर्माले नयाँ राजनीतिक मोर्चा निर्माणको तयारी गरेका हुन् ।

ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्दै शर्माले अभियान घोषणा गर्ने भएका हुन् । उनले माओवादीका एकता प्रक्रियालाई ‘आन्दोलनविरोधी र अस्वाभाविक’ भन्दै तत्काल रोक्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । उनले प्रचण्ड नेतृत्वको एकताप्रति असहमति जनाउँदै वाम आन्दोलनलाई ‘नयाँ दिशाबाट पुनर्गठन गर्ने समय आएको’ बताएका छन् ।

यसअघि शर्माले आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गर्दै एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट बताएका थिए । शर्माले प्रचण्डलाई भेटमा भनेका थिए, ‘अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन, तपाईं अर्को बाटोतिर लाग्नुभयो, म त्यता लाग्दिनँ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच कात्तिक १६ गते एकता घोषणा भएको थियो । उक्त सहमति पत्रमा प्रचण्ड, माधवकुमार नेपाल, सुवासराज काफ्ले, महेन्द्रराय यादव, चिरन पुन, राजु कार्की, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका थिए । भोलिपल्ट गोपाल किराँती पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमतिमा पुगेका थिए । यी दलहरूले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् । तर, यो एकता प्रक्रियाबाट असन्तुष्ट नेताहरू-माओवादीका जनार्दन शर्मा र राम कार्की, एकीकृत समाजवादीका झलनाथ खनाल र घनश्याम भुसाल, साथै नेकपाका नेत्रविक्रम चन्द ‘विप्लव’-बीच नयाँ वाम मोर्चा बनाउने तयारी भइरहेको छ ।

शर्माले माओवादी केन्द्रको ‘मूल क्रान्तिकारी विरासत’ जोगाउँदै वाम–प्रगतिशील ध्रुवीकरण अभियानमार्फत नयाँ संगठन निर्माणको प्रक्रिया अघि बढाउने बताएका छन् । उनका नजिकका नेताहरूले यो अभियानलाई ‘प्रचण्ड–माधव एकताको वैकल्पिक वाम ध्रुव’ का रूपमा अघि सारिने जनाएका छन् । ‘हामी एकताको नाममा आन्दोलन कमजोर बनाउने होइन, जनताको पक्षमा नयाँ राजनीतिक ध्रुव निर्माण गर्न लागेका हौं’, शर्माको भनाइ छ । यससँगै नेपाली वाम राजनीतिमा फेरि नयाँ पुनर्संरचना र शक्ति–सन्तुलनको चरण सुरु हुने संकेत देखिएको छ ।

 

माओवादी केन्द्र र नेकपा एसको एकता कात्तिक २० मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ। आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने । त्यसपछि एकता घोषणा गर्ने तयारी छ।

समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।
उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ । नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहने छन्। एकीकृत पार्टी बहुपदीय ढाँचामा रहनेछ । माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।

जनार्दनले गरे माओवादी सचिवालय बैठक बहिष्कार
यता नेकपा (माओवादी केन्द्र) को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन्। आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हिजो आफ्नो कुरा राखेर निस्कनु भएको थियो । आज बैठकमा आउनु भएन,’ प्रवक्ता सापकोटाले भने। शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए।

आफ्नो भनाइ राखेर उनी बैठकबाट बाहिरिएका थिए। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने उनले बताएका छन्। आइतबार पुनः बसेको बैठकमा एकताबारे संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताएका छन् । पार्टी एकताको निर्णयलाई अनुमोदन गर्नका लागि कात्तिक १८ केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको पनि प्रवक्ता सापकोटाले बताए। ‘आजको बैठकमा समायोजन गर्ने विषयमा र नीतिगत र वैचारिक विषयमा छलफल भयो। नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भयो,’ प्रवक्ता सापकोटाले सुनाए।

 

 

जेनजी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन् : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेनजीले उठाएका माग आफूहरुले यसअघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका हुन्।  नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराए । उनले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरे।

नेता सापकोटाले भने, ‘हामी जेनजीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । उनीहरुको हाम्रो धारणा समान छ, साझा छ। अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं। चाहे प्रधानमन्त्रीले बोलाउँदा होस्, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस्। जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरि पनि स्पष्ट पार्न चाहन्छु।’ नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गरे।

कहिले बस्दैछ नेकपा एस र माओवादीको संयुक्त बैठक ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त बैठक बोलाएको छ । आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो ।

त्यसै गरी बैठकले १८ गते (मंगलवार) भने पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले शनिवारको बैठक गरेका थिए । तर आज भने उनी बैठकमा नआएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए । उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए ।

नेता सापकोटाले भने, ‘हाम्रो केन्द्रिय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ । अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्ने कुरा भएको छ । आज छलफल भएको विषयहरु अब यो समायोजना गर्ने विषयमा, नीतिगत र बैचारिक विषयहरुमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक संगठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो ।’

उनले भने,‘आज जनार्दन शर्मा आउनु भएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिए–उहाँले आफ्नो कुरा राख्नु भयो । अनि अध्यक्ष बस्नुस् अरुको पनि कुरा सुन्नुहोस् भन्नु भयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नु भयो । र हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिँजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन ।’ बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।

 

 

जनार्दनको प्रस्ताव : एकीकृत समाजवादीसँगको हतारको एकता रोकौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता तत्कालका लागि रोक्न माग गरेका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले एकता प्रक्रियालाई स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशातर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।

शर्माले हतारमा गरिने एकताले देशको राजनीतिक संकट समाधान नगर्ने दाबी गर्दै यस्तो कदमले कम्युनिष्ट आन्दोलनको विघठन दोहो¥याउने चेतावनी दिएका छन् । उनका अनुसार, बिना पर्याप्त गृहकार्य र वैचारिक स्पष्टता गरिएको एकता केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिमा सीमित हुनेछ र दीर्घकालीन दृष्टिले हानिकारक परिणाम ल्याउनेछ ।

उनले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिएको एकता क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउने ठहर गरेका छन् । यसअघि बैठकमा पार्टी अध्यक्ष प्रचण्डले भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सैद्धान्तिक तथा नीतिगत विषय टुंगिएको जानकारी दिएका थिए ।

उनका अनुसार, नेतृत्व तहमा संगठनात्मक विषयहरू पनि करिब–करिब अन्तिम चरणमा पुगेका छन् । तर कसरी दुवै पार्टीलाई एकताबद्ध गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको बताइएको छ । बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादवलगायत नेताहरू उपस्थित थिए । तीमध्ये जनार्दन शर्माले हतारमा एकता गर्न नहुने र गम्भीर तयारीपछि मात्र अघि बढ्नुपर्ने मत प्रस्तुत गरेका हुन् ।

माओवादी र एकीकृत समाजवादी एकताबारे नारायणकाजी श्रेष्ठ : हतार नगरौं, धैर्यता गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको संवाद जारी रहेको बताएका छन् । दुई पार्टीबीचको एकता प्रक्रिया समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु हुन सक्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो पार्टीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ ।’

एकताको प्रक्रियामा रहेका दलहरू विभाजित नभएरै अगाडि बढ्ने वातावरणका लागि धैर्य आवश्यक रहेको पनि उनले बताएका छन् । उनी थप्छन्, ‘त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।’ तथापि, नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन वर्तमानको आवश्यकता भएको उनले बताएका छन् । यस दिशामा सार्थक पहल समयको निर्देश भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले मागगरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’

 

संविधानलाई सही बाटोमा ल्याउन निर्वाचनको विकल्प छैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए । उनले नेपाली काँग्रेस र एमालेसहित सबै राजनीतिक दललाई पनि चुनावका तयारीमा जुट्न आग्रह गरे ।

‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौं,’ उनले भने । उनले केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ । हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने । पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति भनेका छन्, तर २४ गते भएको तोडफोड र विध्वंस बाह्य घुसपैठियाले गराएको बताए ।

दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न उनले सरकारसँग माग गरे । कांग्रेस–एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको उनको दाबी छ ।जनतामा आम असन्तुष्टि नयाँ पुस्ताको अगुवाइमा ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको उनको भनाइ छ । ‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न र कार्यशैली सुधार्न आग्रह गर्यौं, तर सरकारले सुनेन ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनताको असन्तुष्टि पहिल्यै बुझेर ‘लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन्’ भनेको स्मरण गरे । तर सो भनाइलाई तोडमोड गरी माओवादीलाई सिंहदरबार जलाउन चाहने शक्तिको रूपमा चित्रण गर्न खोजिएको उनले आरोप लगाए । ‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनतामा बढ्दो असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ उनले भने । उनले माओवादी र अन्य दल एउटै हुन् भन्ने धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे ।

‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले भने । पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै आफ्नो दल त्यसमा सहयोग गर्न तयार रहेको बताए । ‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौं,’ नेता पुनले भनेका छन् ।

 

पार्टी त्यागेको माओवादी केन्द्रका सचिव गणेश साहको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको जानकारी गराएका हुन् । साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरेका छन् । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।

तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए । उनी लामो समय बिष्णुवहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट आन्दोलनमा सहभागी रहेको मधेशका स्थापित नेता हुन् । पछिल्लो समय उनी पानी र जलवायु विज्ञका रुपमा अभियानमा छन् ।

बागमतीका मुख्यमन्त्रीलाई माओवादीको ज्ञापनपत्र : मन्त्रालय आधा घटाऊ, संसद वैठक तत्काल बोलाऊ

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आठ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । माओवादी बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई ज्ञापनपत्र बुझाएका हुन् । माओवादीले प्रदेश सभाको बैठक तत्काल बस्ने व्यवस्था मिलाउन माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘देशको बदलिदो परिस्थितिको चुनौतिलाई मध्यनजर गर्दै चालू खर्च कटौती गर्न, सुशासन कायम गर्न र सरकारलाई प्रभावकारी बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको संकल्पसहित प्रदेश सरकारको मन्त्रालयको संख्या १४ बाट घटाई ७ कायम गर्ने र कार्य जिम्मेवारी कम भएका निर्देशनालय, परिषद्, प्रतिष्ठान, आयोगजस्ता संरचनाहरू खारेज गर्नुपर्ने ।’

जेनजी आन्दोलनका कारण प्रदेशमा पुगेको सबै प्रकारको क्षतिको अविलम्ब मूल्यांकन गरी सार्वजनिक गर्न पनि माग गरेको छ । यस्तै तत्लका प्रदेशसभा बैठक राख्न, गत हप्ताको बाढी र पहिरोबाट पीडित स्थानीय तहको पहिचान गरी क्षतिका आधारमा राहत÷ अनुदानलाई पुनः मूल्यांकन गरी छुटेकाहरूलाई समेट्न, देशको बदलिँदो परिस्थिति विचार गरी चालु खर्च कटौती गर्न, सुशासन कायम गर्न र सरकारलाई प्रभावकारी बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको संकल्पसहित मन्त्रालय घटाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पारित गर्नुपूर्व सरकारले प्रदेशसभामा गरेको प्रतिबद्धताअनुसार कार्यान्वयन गरी पूरक बजेट नल्याउन प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ । ‘प्रतिनिधि सभाको विघटन गरी नयाँ निर्वाचनको मितिसमेत घोषणा गरिसकेकोले जेनजी विद्रोहका कारण क्षति भएका भौतिक संरचनाको पुनः निर्माण चालु आर्थिक वर्षमा हुन नसक्ने कारण र मर्मत–सम्भार गर्नुपर्ने संरचनाहरू नियमित बजेटबाट नै रकमान्तर गरी गर्न सकिने भएकाले पूरक बजेट नल्याउन माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुस् ज्ञापनपत्र

घोषित मितिमै चुनाव हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ, हामी सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेमा छौं । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’ उनले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिँदै केही समयपछि त्यसको परिणाम देखिने बताए ।

एजेण्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज (सोमबार) बसेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ दिएका थिए ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक दाहालले वर्तमान विपद् र राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको जानकारी दिए ।

‘वर्तमान परिस्थितिबारे सामान्य समीक्षा भयो । दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने छ,’ सापकोटाले भने, ‘समाजवादी मोर्चालाई फेरि बिस्तार गर्ने सन्दर्भमा, पार्टी एकताका सम्बन्धमा कमरेड अध्यक्षले ब्रिफिङ गर्नुभयो ।’

सोही क्रममा पार्टी एकताका सन्दर्भमा पनि बृहत् र सकारात्मक छलफल भइरहेको कुरा संयोजक प्रचण्डले भनेको उनले जानकारी दिए । ‘एजेण्डा मिल्नेसँग मोर्चा बिस्तार, विचार मिल्नेसँग एकताका लागि सकारात्मक छलफल भइरहेको छ,’ सापकोटाले भने ।

पेरिसडाँडामा माओवादी महाधिवेशन आयोजक समितिको बैठक {तस्वीरहरु}

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको हो ।

जेनजी आन्दोलनपछि दलहरुमा नेतृत्व परिवर्तनको बहस चर्किरहेको बेला प्रचण्डले पार्टी केन्द्रीय कमिटी भंग गरी आफ्नै अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीबाटै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको पहल गर्ने निर्णय गरेको थियो । साथै विचार मिल्ने अन्य दलहरूसँग पनि मोर्चाबन्दीको पहल गर्ने निर्णय गरेको थियो ।

‘ती विषयसँगै समसामयिक राजनीतिका अन्य विषयहरूमा बैठकमा छलफल हुन्छ,’ प्रवक्ता सापकोटाले भने । माओवादीको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक छन् ।

नारायणकाजी लक्षित हरिबोलको टिप्पणी : नेतृत्व दिने अधिकार व्यक्तिको हातमा छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेतृत्व कसले लिने वा दिने अधिकार महाधिवेशनले टुङ्गो लगाउने विषय भएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्व लिने-दिने अधिकार व्यक्तिको हातमा नभएको टिप्पणी गरेका हुन् ।

नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै गजुरेलले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव फिर्ता नलिएकोप्रति प्रश्न उठाएका छन् ।

‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यस पछाडि के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफै बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन– यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो’, उनले भनेका छन् ।

अहिले नेतृत्व लिनु नभई चिन्तन गर्नुपर्ने बेला भएको र जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनले स्पष्ट पारेका छन् । ‘अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ’, उनले लेख्छन्, ‘आज पनि जेनजीले खोजिरहेको कुरा त्यही हो । वैचारिक स्पष्टतासहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस्। प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्ने गजुरेलको भनाइ छ ।

माओवादीको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नै नेतृत्वमा मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठले आफूलाई कार्यबहाक अध्यक्ष दिनुपर्ने र जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठ र शर्माको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

अर्का नेता वर्षमान पुनले आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रचण्डको भूमिका राजनीतिक वा अभिभावकीय रहे पनि सङ्गठनात्मक नेतृत्वमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका थिए ।

नेतृत्व परिवर्तनको बहस सडकमा होइन, महाधिवेशनमा गरौंला : हरिबोल गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्ने बेला नभएको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै प्रचण्डको विकल्प खोज्नेभन्दा पनि जेनजी आन्दोलन समर्थन गरेर जानुपर्ने बताएका छन् ।

उनले भने, ‘युवाहरूले आन्दोलनलाई विकृति, भ्रष्टाचारविरुद्वको विद्रोह गरेका हुन् । हामीले यसलाई समर्थन गर्नुपर्छ । तर त्यसलाई टेकेर हुनसक्ने षड्यन्त्रमा हामी सचेत हुनुपर्छ ।’ उनले कांंग्रेस एमालेकै कारणले अहिलेको परिस्थिति आएको भन्दै ओली र देउवालाई नेतृत्व छाड्न दबाब पर्नु स्वभाविक भए पनि प्रचण्डले नपर्ने तर्क गरे ।

उनले सडकबाट उठेको आवाजले नेतृत्व परिवर्तन नहुने भन्दै छलफल र महाधिवेशन गरेर नेतृत्वबारे निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । बैठकमा बोल्न टोली नेतालाई १० र पदाधिकारीलाई ५ मिनेट समय दिइएको छ ।

माओवादी बैठकमा १० टोलीको निष्कर्ष : प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रस्तावहरूमा समूहगत धारणा राख्ने क्रम सकिएको छ । बैठकमा अब बोल्न बाँकी पदाधिकारीले आफ्नो कुरा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

बैठकमा कोशीबाट अजम्बर काङमाङ, मधेशबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्र शाही, सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत धारणा राखेका छन् ।

बैठकमा समूहगत धारणा राख्ने सबै नेताहरू अध्यक्ष प्रचण्ड निकटका हुन् । उनीहरूले प्रचण्डको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरूको साझा निष्कर्ष थियो, ‘पार्टी रूपान्तरण गर्नुपर्छ तर, प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ । सबै दोष अध्यक्षलाई देखाएर अरू उम्कन मिल्दैन ।’ समूहगत धारणा राख्ने बेलामा नेताहरूले ९५ प्रतिशता धेरै प्रचण्डको प्रस्तावमा उभिएको एक नेताले दाबी गरे । प्रचण्डलाई नेतृत्व छाड्न भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको पक्षको प्रस्तावको पक्षमा केही कुरा उठे पनि धेरैले आलोचना भएको ती नेताले बताए ।

नेतृत्वमा अहिले नै प्रचण्डको विकल्प छैन : पासाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पासाङले माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्न नहुने पक्षमा उभिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न दबाब बढाइरहेको बेलामा पुन भने प्रचण्डको पक्षमा उभिएका हुन् । उनले पार्टी मात्रै नभई देश नै अफ्ठेरो अवस्थामा गुज्रिरहेको बेलामा प्रचण्डको विकल्प सोच्न नहुने उनको भनाइ थियो । अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम जारी छ ।

माओवादीले कसरी छान्दैछ विशेष महाधिवेशन प्रतिनिधि ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक हाल काठमाडौंमा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावले केन्द्रीय समिति भङ्ग गरी नयाँ संरचना बनाउने योजना अघि सारेको छ ।

बैठकमा प्रचण्डको प्रस्तावमा समूहगत छलफल भइरहेको छ । निर्णय अनुसार माओवादी केन्द्र विशेष महाधिवेशनमा जाने तयारीमा छ । जारी केन्द्रीय समिति वैठकमा आज (शुक्रबार) समूहगत निष्कर्ष राख्ने सुनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ । यो समूहका नेता जगत सिंखडाले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वम्मतिमा पास गरेको रिर्पोटिङ गरेका छन् ।

एउटा प्रदेशबाट रिर्पोटिङ गरेपछि एक जना पदाधिकारीले बोल्ने र त्यसपछि अर्को प्रदेशमा जाने र फेरि एक जना पदाधिकारीले बोल्ने गरी समय व्यवस्थापन गरिएको छ । कोशी प्रदेशबाट उपमहासचिव हरिबोल गजुरेल बोलेका छन् ।उनले वर्तमान नेतृत्वको निरन्तरता आवश्यक रहेको बताए । अहिले लुम्बिनी प्रदेशको निष्कर्ष प्रस्तुत भइराखेको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रस्तावित विशेष महाधिवेशनमा प्रतिनिधि छनोटको लागि निम्न ११ व्यवस्था तय गरिएका छन्ः
१. पालिका र शाखाबाट प्रतिनिधि
प्रत्येक पालिका र पार्टी शाखाबाट १ जना प्रतिनिधि चयन गरिनेछ ।

२. जिल्ला र महाशाखाबाट
पार्टी सदस्य संख्या अनुसार प्रतिनिधित्व हुनेछ– १,००० सदस्य बराबर १ प्रतिनिधि ।
यसमाः
प्रत्येक ३ जनामा कम्तीमा १ महिला अनिवार्य ।
१ दलित र १ युवा प्रतिनिधि अनिवार्य ।
थप १ जना जेनजी समूहको प्रतिनिधि पनि हुनुपर्नेछ ।

३. प्रदेशस्तरबाट प्रतिनिधित्व
सात वटै भौगोलिक प्रदेशबाट २५–२५ जना प्रतिनिधि पठाइने ।

हरेक प्रदेशबाट :
७ महिला ।
२ दलित ।
१ युवा अनिवार्य ।
तीन प्रवासी प्रदेशबाट ७–७ जना, जसमा :
२ महिला ।
१ युवा अनिवार्य ।
गैर–भौगोलिक १० जना प्रतिनिधि ः
३ महिला ।
१ दलित ।
१ युवा अनिवार्य ।
४. पार्टीका विभागहरूबाट

हरेक विभागबाट २–२ जना प्रतिनिधि पठाइने ।
५. पार्टी आयोगहरूबाट
सबै आयोगहरूबाट १०–१० जना प्रतिनिधि पठाइनेछ ।
६. ज्येष्ठ र सल्लाहकार मञ्च
ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्बाट १०–१० जना प्रतिनिधि रहने ।
७. केन्द्रीय कार्यालय
पार्टीको केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व हुने ।
८. जनवर्गीय र अन्य संगठन
केन्द्रीय तहका जनवर्गीय संगठनबाटः
१ महिला अनिवार्यसहित २–२ जना ।
जातीय-क्षेत्रीय मोर्चाबाट १–१ जना ।
प्रतिष्ठान-फाउन्डेसन-समाज-सामाजिक संगठनबाट १–१ जना ।

पार्टी सहायक संगठन (थ्ऋी) बाट ५ जना ।
९. मनोनयन
केन्द्रीय सचिवालयले अधिकतम ५ प्रतिशतसम्म प्रतिनिधि मनोनयन गर्न सक्ने ।
१०. आयोजक समिति प्रतिनिधि
संयोजकसहित आयोजक समिति सदस्यहरूलाई निर्धारित प्रतिनिधि क्षेत्रबाटै निर्वाचित हुनुपर्ने ।
यदि कुनै सदस्य निर्वाचित हुन नसके, उनीहरू महाधिवेशन गतिविधिमा सहभागी हुन पाउने छन् ।
११. प्रदेशस्तरको संरचना
सबै प्रदेश समिति अब प्रदेश अधिवेशन आयोजक समितिमा रूपान्तरण हुने ।
प्रदेश अध्यक्ष संयोजकको भूमिकामा रहने छन्, पदाधिकारीहरू सचिवालयको भूमिकामा ।

जनार्दनको प्रस्ताव : महाधिवेशनपछि पनि नफर्किने गरी सबै पदाधिकारीले राजीनामा दिऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी विघटित अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै लाखौँ पार्टी सदस्य र नेतृत्व भएको पार्टी हेडक्वार्टर जलिरहँदा पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुगेको बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टी यतिबेला विघटित अवस्थामा छ । पार्टी केन्द्रीय कार्यालय आगजनीमा परेको छ । आन्दोलनले निम्त्याउने सम्भावित खतराबारे पूर्व आंकलन गर्न नसक्नु, लाखौँ पार्टी सदस्य र नेतृत्वको यति ठुलो फर्मेसन हुँदाहुँदै हाम्रो पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकतालाई उजागर गरेको छ ।’

आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्यौलता रहेका नेता–कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौँ राज्यविहीनताको अवस्थासँगै पार्टीविहीनताको अवस्था रहेकाले पार्टी विघटनको तथ्यलाई स्पष्ट गर्ने उनले बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘यो परिस्थितिबाट पार्टीलाई फेरि नयाँ ढङ्गले गठन गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरूको स्मरण गर्दै सम्पूर्ण कमजोरीहरूलाई धोइ पखाली गर्ने गरी हाम्रो सोच दृष्टिकोण र भूमिकालाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ ।’

नेतृत्व हस्तान्तरणबारे विगतमा नै माग गरेको भए पनि जेनजी आन्दोलनले ती कुरा सही साबित गरेको बताएका छन् । प्रस्तावमा भनिएको छ, ‘अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक अवस्थाका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नु पर्दछ । पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी पदाधिकारीबाट नभए स्थायी समितिबाट कार्यभार दिन डराउनु हुँदैन ।’

प्रचण्डले हिजो खेलेको भूमिकासहित टिमको भूमिका समेतको सम्मान र वर्तमानको आवश्यकता माग पूरा गर्दै समस्याको समाधानको बाटो खोल्ने उनको भनाइ छ। प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ र आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौं ।’

हेर्नुस् जनार्दनको प्रस्ताव

 

नारायणकाजीको प्रस्ताव : प्रचण्डलाई अध्यक्षबाट बिदा दिउँ, सम्मान कायमै राखौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी अध्यक्षबाट बिदा गर्नुपर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव राख्दै श्रेष्ठले प्रचण्डलाई कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ गर्दै सम्मान कायम राख्नु पर्ने प्रस्ताव गरेका हुन् ।

‘के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्ने छ । यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ,’ उनले भने, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनु पर्दछ । नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ ।’

नेता श्रेष्ठले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कामको सुरुवात अहिले नै गर्नुपर्ने पनि बताएका छन् । ‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ,’ उनले भने, ‘अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ ।’

‘प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नु पर्दछ । तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिल सहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ’ उनले भनेका छन् ।

 

 

माओवादी वैठकमा सुदन किरातीको प्रश्न : हाम्रो प्रतिनिधित्व कसले गर्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आ–आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेका छन् । आज (बिहीबार) देखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा किरातीले सबैले आफ्ना कुरा आफैले राख्नु पर्ने माग गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने प्रतिवेदनमा भौगोलिक र गैरभौगोलिक समूह बनाउने र त्यहाँ छलफल गरेर हलमा निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची थियो । यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितिबारे दुई-तीन मिनेट भए पनि बोल्न पाउनु पर्ने भनेका थिए । माओवादी निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रञ्जित तामाङले नेताहरुमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताएका छन् ।

‘अहिलेको परिस्थितिका विषयमा बाहिर अनेकौं कुराहरू आइराखेका छन् । बाहिर राखेका कुराहरू हामी आधिकारिक मानिरेहका छैनौं । अवको यो स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुई-तीन मिनेट राख्नुपर्छ । बाहिर अनेकौं तर्क राख्ने । पार्टीको बैठकमा केही नराख्ने । केही सीमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन,’ तामाङले भने । तामाङलाई बीचमा रोकेर महासचिव देव गुरूङले ती सबै विषयवस्तु समूहगत छलफलमा पनि आउने बताएका थिए । त्यसपछि सुदन किराती बोलेका हुन् ।

‘आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन । हामी आफै बोल्नु पर्छ,’ किरातीले भने । पूर्व पर्यटन मन्त्री समेत रहेका किराती माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले जेनजी आन्दोलनपछिको परिस्थितिमा अध्यक्षलगायत सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइतबारको बैठकमा राखेका थिए । उनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको विषयलाई उठाउँदै आएका छन् ।

प्रचण्ड भूमिका बदल्न तयार हुनुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिका बदल्न तयार रहेको बताएका छन् । केन्द्रीय कमिटी वैठकस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले अध्यक्ष प्रचण्ड पार्टीमा नयाँ भूमिकाका लागि तयार रहेको र स्पष्टसँग कुरा राखिसकेको बताए । अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने अध्यक्षकै प्रस्ताव रहेको उनले दाबी गरे ।

उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नु भएको थियो म मेरो भूमिका बदल्छु भनेर । सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर । अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ । अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् । विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नु भएको छ । त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ ।’

जेनजी आन्दोलनले ल्याएको तरङ्गलाई आत्मसात गरेर जानुपर्ने बताएका छन् । पुनले थपे, ‘आन्दोलनको भावनालाई आत्मसात गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्ने सोचेका हौँ । हामी पुस्तान्तरणको एजेण्डा स्वीर्काछौंँ तर अरू नेताहरूले पनि अध्यक्षमाथि मात्रै प्रश्न गरेर हुँदैन ।’ उनले आफ्नो पार्टीले जेनजी पुस्ताको एजेण्डालाई समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्न माग गरे ।

माओवादी फागुन २१ को निर्वाचनको पक्षमा, विशेष महाधिवेशनको एजेण्डा तय

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज (बुधबार) को स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । तोकिएकै मितिमा निर्वाचन गराउनका लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताएका छन् । जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विशेष महाधिवेशनसहित केन्द्रीय समितिका एजेण्डा तय
नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्नेसहितका एजेण्डा तय गरेको छ । स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेण्डा तय गरेको हो । असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

माओवादी स्थायी समितिको बैठक बस्दै, तोकियो प्रवेश शुल्क

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिने पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ ।

यी प्रस्तावलाई स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय समिति बैठकमा लैजाने तयारी छ । केन्द्रीय समितिले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयले औपचारिकता पाउने छ । संगठनहरू भंगको निर्णय पनि केन्द्रीय समितिको बैठकले नै गर्नेछ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्दैछ ।

केन्द्रीय समिति बैठकको तयारीका लागि आज स्थायी समिति बैठक बस्न लागेको हो । भोलि बस्ने माओवादीको बैठकमा केन्द्रीय सदस्यहरूलाई प्रवेश शुल्क एक हजार लिने तयारी गरेको छ । त्यसबारे मुख्यसचिव पुनले भने, ‘एक हजार प्रवेश शुल्क लिने भन्ने प्रस्तावित हो, आजको बैठकमा छलफल हुन्छ र निर्णय गर्छ ।’ बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई बोलाइएको छ । माओवादीमा केन्द्रीय सदस्य ४५० भन्दा धेरै छन् ।

जलेको पार्टी कार्यालयमै माओवादीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । जेनजी आन्दोलनका बेला आगजनी र तोडफोड भएको माओवादी कार्यालयमा सफाइ र रङरोगनपछि पहिलो पकट बैठक बसेको हो ।

आजको बैठकमा जेनजी आन्दोलनपछि बिकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव जनार्दन शर्माले लगातार जनाइरहेको असन्तुष्टि लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

यी हुन् वर्षमान पुनले देखेका जेनजी आन्दोलनका दुई कारण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको दावी गरेका छन् । दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनको भनाइ छ ।

मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुुशासनका मतियारहरुले लिनुपर्ने तर्क गरे । ‘भ्रष्टाचार, अनियमितता, कशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौं, दबाब दियौं’, पार्टी सम्वद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन्। दुई तिहाईको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो ।’

‘हामीले निकट विगतका बंगलादेश, श्रीलंका जस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौं । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रुपमा प्रकट भयो,’ पुनले थपे ।

जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोशिस गरिरहेको भन्दै आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे। अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भूराजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए । फरक प्रसंगमा पुनले जेनजी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औंल्याए ।

 

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।

सुदन किरातीको चेतावनी : पुरानो नेतृत्वले पद छाडेर अभिभावक बन, नत्र विद्रोह हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पुरानो राजनीतिक नेतृत्वले पद त्यागी अभिभावकको भूमिकामा जानुपर्ने सुझाव दिएका छन् । अन्यथा नयाँ पुस्ताले विद्रोह गर्न बाध्य हुने चेतावनी समेत उनले दिएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकभर नेतृत्व पुस्ता परिवर्तनको माग तीव्र भइरहेका बेला किरातीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अग्रज नेताहरूलाई सम्मानपूर्वक अवकाश लिन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाइराख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्व ग्रहण गर्नु उचित हुनेछ ।’

यस्तै, किरातीले वर्तमान पुस्ताले विद्रोह नगरे जनताले नै उनीहरूलाई बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ । नत्र जनताले हामीलाई बहिष्कार गर्नेछन् । अब के गरौँ ?’ उनले प्रश्न उठाएका छन् । किरातीको भनाइलाई जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणकालसँग जोडेर व्याख्या गरिएको छ, जहाँ पुरानो पुस्ताको ठाउँमा नयाँ नेतृत्वको आवश्यकता रहेको बहस चर्किएको छ ।

आगजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस् : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आज (आइतबार) माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै त्यस्ता मानिसलाई आफूहरुले पनि कडा कारबाही गर्ने उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।’
कतिपय व्यक्ति र समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनेर प्रचार गरेको भन्दै माओवादीले आपत्ति समेत जनाएको छ ।

‘यो तथ्य जनतासामु प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ माओवादीले भनेको छ, ‘आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

हेर्नुस् विज्ञप्ती

माओवादी पार्टी संसद विघटनको विपक्षमा, नेता भने समर्थनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्दै गरिएको प्रतिनिधिसभा विघटनमा असहमति जनाईरहेका बेला सोही पार्टीका नेताले भने समर्थन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका टिप्पणी गरेका छन् ।

यद्यपि विघटनमा प्रक्रियागत त्रुटि भएको उनको भनाइ छ । ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन्’ उनको भनाइ छ ।

गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर संकटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अडान र साहसका कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन पुगेको बताएका छन् । ‘राष्ट्रपति धन्यवादका पात्र हुनुहुन्छ’ उनले भनेका छन् ।

माओवादी केन्द्रले भने संवैधानिक व्यवस्था विपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । गजुरेल भने विघटनको पक्षमा उभिएका हुन् । विघटित प्रतिनिधिसभाका आठ राजनीतिक दलले संसद विघटनप्रति असहमति जनाएका छन् । यसरी असहमति जनाउनेमा नेकपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु छन् ।

नव नियुक्त प्रधानमन्त्री कार्कीलाई हाम्रो समर्थन रहनेछ : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन् । पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसारकै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौं । यो भन्दा उत्तम संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिने हाम्रो सुझाव रहेको भए पनि आजको विशिष्ट परिस्थितिमा सम्माननीय राष्ट्रपति ज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन नै रहेको छ,’ उनले भनेका छन्, ‘यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र जेन जी आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ ज्ञापन गर्दछु ।’

उनले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकोमा कार्कीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । उनले संसद् विघटनले भने संविधान भत्काउन सक्ने भन्दै त्यसपछि गम्भीर हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष अनुरोध समेत गरेका छन् ।

 

सुशीला कार्कीलाई यथाशीघ्र शपथ खुवाइयोस् : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किराँतीले देशलाई विदेशी हस्तक्षेपबाट बचाउन चाँडोभन्दा चाँडो पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख पदमा शपथ खुवाउन आग्रह गरेका छन् ।
जेन–जी प्रतिनिधिकै प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्ने लगभग पक्का गरिसकेका छन् । तर उनी गैरसांसद भएकाले संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति गर्न बाँकी छ ।

त्यसका लागि जेन–जी, नेपाली सेनासहित सरोकारवाला पक्षसँग आज पनि वार्ता जारी रहने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरूको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्’, प्रतिनिधि सभा सदस्य समेत रहेका किराँतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । जलेको अवस्थामा मृत भेटिएका व्यक्ति सुरज खत्री रहेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् । जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

 

 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पनि लगाइयो आगो

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आगो लगाएका छन् । मंगलबार प्रदर्शनकारीहरुले माओवादी कार्यालय पुगेर आगलागी गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रचण्ड पुत्री गंगाको घर र गाडीमा आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री गंगा दाहालको घरमा आगजनी गरिएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।

आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन् । सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीले मंगलबार शीर्ष नेताका घर, पार्टी कार्यालयलाई निशाना बनाएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।