नौं घटकको एकतापछि ‘नेपाली कम्युनिष्ट पार्टी’
 					काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न नौं कम्युनिष्ट घटकबीचको एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ । आज (मंगलबार) पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिए ।
यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लाग्न बाँकी थियो । ‘नेपाली कम्युनिष्ट पार्टी रहने छ, चुनाव चिह्न पाँचकुने तारा हुनेछ । आजको बैठकले यसलाई अनुमोदन गरेको छ’, सापकोटाले भने । उनले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए । त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा अझै पनि विचार गर्न आग्रह गरेको उल्लेख गरे । त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
उनले नेतृत्व परिवर्तन स्वाभाविक रुपमा हुने भन्दै कुनै पनि व्यक्ति नमर्दासम्म पदमा नरहने बताए । ‘नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होइन’ उनले भने, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ ।’ माओवादी, एकीकृत समाजवादीसहित नौं कम्युनिष्ट घटकबीच बुधबार एकता घोषणा हुँदैछ । प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रीय समितिको बैठकले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेण्डा छ । उक्त एकताप्रति असहमति प्रकट गर्दै जनार्दन शर्माले अलग अभियान घोषणा गरेका छन् ।
नेता शर्माले प्रतिस्पर्धा गर्न नदिन र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरिएको आरोप लगाएका छन् । मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन् । ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन । त्यो आयोजक समितिले पाउँदै पाउँदैन । आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो ।’
‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे । उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे ।
‘जेनजी आन्दोलनले समाजवादी क्रान्तिको झल्को दियो’
माओवादी केन्द्रका संयोजक प्रचण्डले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले कम्युनिष्टहरुले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको बताएका छन् । नेकपा एसलगायत ८ वटा घटकसँग एकताअघि बसेको माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका रुपमा जेनजी आन्दोलनलाई संश्लेषण गर्दै लैजानु पर्ने बताएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जेनजी आन्दोलनमा माओवादीले उठाएका विषय नै युवाले स्थापित गरेको बताए । सोही बैठकले भीम रावल, झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरुलाई पनि छलफल गरेर एउटै पार्टीमा समेट्न पहल गर्ने निर्णय गरेको छ ।
