जनार्दनको नयाँ बाटो : ‘वाम–प्रगतिशील ध्रुवीकरण’ अभियान घोषणा गर्दै
 					काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज (मंगलबार) विशेष पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा ‘वाम–प्रगतिशील ध्रुवीकरण’ अभियानको घोषणा गर्ने भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ घटकबीच भएको हालैको पार्टी एकता प्रक्रियामा असहमति जनाउँदै शर्माले नयाँ राजनीतिक मोर्चा निर्माणको तयारी गरेका हुन् ।
ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्दै शर्माले अभियान घोषणा गर्ने भएका हुन् । उनले माओवादीका एकता प्रक्रियालाई ‘आन्दोलनविरोधी र अस्वाभाविक’ भन्दै तत्काल रोक्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । उनले प्रचण्ड नेतृत्वको एकताप्रति असहमति जनाउँदै वाम आन्दोलनलाई ‘नयाँ दिशाबाट पुनर्गठन गर्ने समय आएको’ बताएका छन् ।
यसअघि शर्माले आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गर्दै एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट बताएका थिए । शर्माले प्रचण्डलाई भेटमा भनेका थिए, ‘अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन, तपाईं अर्को बाटोतिर लाग्नुभयो, म त्यता लाग्दिनँ ।’
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच कात्तिक १६ गते एकता घोषणा भएको थियो । उक्त सहमति पत्रमा प्रचण्ड, माधवकुमार नेपाल, सुवासराज काफ्ले, महेन्द्रराय यादव, चिरन पुन, राजु कार्की, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका थिए । भोलिपल्ट गोपाल किराँती पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमतिमा पुगेका थिए । यी दलहरूले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् । तर, यो एकता प्रक्रियाबाट असन्तुष्ट नेताहरू-माओवादीका जनार्दन शर्मा र राम कार्की, एकीकृत समाजवादीका झलनाथ खनाल र घनश्याम भुसाल, साथै नेकपाका नेत्रविक्रम चन्द ‘विप्लव’-बीच नयाँ वाम मोर्चा बनाउने तयारी भइरहेको छ ।
शर्माले माओवादी केन्द्रको ‘मूल क्रान्तिकारी विरासत’ जोगाउँदै वाम–प्रगतिशील ध्रुवीकरण अभियानमार्फत नयाँ संगठन निर्माणको प्रक्रिया अघि बढाउने बताएका छन् । उनका नजिकका नेताहरूले यो अभियानलाई ‘प्रचण्ड–माधव एकताको वैकल्पिक वाम ध्रुव’ का रूपमा अघि सारिने जनाएका छन् । ‘हामी एकताको नाममा आन्दोलन कमजोर बनाउने होइन, जनताको पक्षमा नयाँ राजनीतिक ध्रुव निर्माण गर्न लागेका हौं’, शर्माको भनाइ छ । यससँगै नेपाली वाम राजनीतिमा फेरि नयाँ पुनर्संरचना र शक्ति–सन्तुलनको चरण सुरु हुने संकेत देखिएको छ ।
