संविधानलाई सही बाटोमा ल्याउन निर्वाचनको विकल्प छैन : वर्षमान पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए । उनले नेपाली काँग्रेस र एमालेसहित सबै राजनीतिक दललाई पनि चुनावका तयारीमा जुट्न आग्रह गरे ।
‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौं,’ उनले भने । उनले केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए ।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ । हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने । पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति भनेका छन्, तर २४ गते भएको तोडफोड र विध्वंस बाह्य घुसपैठियाले गराएको बताए ।
दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न उनले सरकारसँग माग गरे । कांग्रेस–एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको उनको दाबी छ ।जनतामा आम असन्तुष्टि नयाँ पुस्ताको अगुवाइमा ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको उनको भनाइ छ । ‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न र कार्यशैली सुधार्न आग्रह गर्यौं, तर सरकारले सुनेन ।’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनताको असन्तुष्टि पहिल्यै बुझेर ‘लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन्’ भनेको स्मरण गरे । तर सो भनाइलाई तोडमोड गरी माओवादीलाई सिंहदरबार जलाउन चाहने शक्तिको रूपमा चित्रण गर्न खोजिएको उनले आरोप लगाए । ‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनतामा बढ्दो असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ उनले भने । उनले माओवादी र अन्य दल एउटै हुन् भन्ने धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे ।
‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले भने । पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै आफ्नो दल त्यसमा सहयोग गर्न तयार रहेको बताए । ‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौं,’ नेता पुनले भनेका छन् ।