एमाले, मसाललगायत कम्युनिस्ट घटकसँग एकता र सहकार्यको प्रयास जारी छ – प्रचण्ड
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताएका छन्।
उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले दुईमहिने अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताए।
उनका अनुसार अभियानको मुख्य उद्देश्य पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र महाधिवेशनको तयारीलाई अघि बढाउनु हो।
प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नेकपा एमालेसँग तीनबुँदे सहकार्य र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाइएको जानकारी दिए। विभिन्न कम्युनिस्ट घटकसँग एकता र सहकार्यका लागि संवाद भइरहेको पनि उनले बताए।
त्यस्तै, शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र समावेशिताका पक्षधर शक्तिहरूसँग मोर्चाबन्दी गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे।
विश्व राजनीति बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको बताउँदै प्रचण्डले अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा समाजवादी शक्तिहरूसँग सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
