नारायणकाजी लक्षित हरिबोलको टिप्पणी : नेतृत्व दिने अधिकार व्यक्तिको हातमा छैन


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेतृत्व कसले लिने वा दिने अधिकार महाधिवेशनले टुङ्गो लगाउने विषय भएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्व लिने-दिने अधिकार व्यक्तिको हातमा नभएको टिप्पणी गरेका हुन् ।
नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै गजुरेलले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव फिर्ता नलिएकोप्रति प्रश्न उठाएका छन् ।
‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यस पछाडि के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफै बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन– यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो’, उनले भनेका छन् ।
अहिले नेतृत्व लिनु नभई चिन्तन गर्नुपर्ने बेला भएको र जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनले स्पष्ट पारेका छन् । ‘अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ’, उनले लेख्छन्, ‘आज पनि जेनजीले खोजिरहेको कुरा त्यही हो । वैचारिक स्पष्टतासहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस्। प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्ने गजुरेलको भनाइ छ ।
माओवादीको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नै नेतृत्वमा मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठले आफूलाई कार्यबहाक अध्यक्ष दिनुपर्ने र जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठ र शर्माको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
अर्का नेता वर्षमान पुनले आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रचण्डको भूमिका राजनीतिक वा अभिभावकीय रहे पनि सङ्गठनात्मक नेतृत्वमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका थिए ।