जेनजी आन्दोलनमा मारिएकामध्ये ४५ जनालाई सरकारले गर्यो शहीद घोषणा
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए । यसअघि नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।
सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ । भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको थियो ।
